Hamro Patro Matribhasa Diwas | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय मातृभाषा दिवस




अन्तर्राष्ट्रिय मातृभाषा दिवस विशेष अडियो सामग्री

नेपाल एउटा फूलबारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरू छन् । चाहे 'ल्हासो' भनुन् 'नमस्ते' भनुन् या 'सलाम-वालेकुम' भनुन् या 'जदौ' या 'तारेमाम' यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सद्भाव । आउनुहोस् जुनसुकै भाषा बोल्ने सकल नेपाली जनमा आजको यो अन्तर्राष्ट्रिय मातृभाषा दिवसको हार्दिक शुभकामना दिऔँ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरूलाई बहुभाषिक र वहुसांस्कृतीक जनसङ्ख्या अनि त्यो जनसङ्ख्यासँग जुटेका विविध भाषाको कदर स्वरूप हरेक वर्षको फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको बिगुल बजाउन आग्रह गरेको थियो ।

मानव सभ्यता अनि अभिव्यक्तिका लागि भाषा एउटा महत्त्वपूर्ण आधार हो, भाषाका माध्यमबाट हामीले हाम्रा धेरै प्रत्यक्ष अनि परोक्ष सांस्कृतिक सम्पत्तिहरूको रक्षा र सङ्ग्रह गर्दै आएका छौँ, त्यसैले त आज पनि भाषा अनि लिपिमा लिपिबद्ध दस्ताबेजहरू श्रीमद्भागवत्गीता, कुरान, बाइबल, त्रिपिटक आदि थुप्रै ग्रन्थ अनि वेदहरू जोगाएका छौँ । नत्र भाषा नहुने हो भने यी हज्जारौं वर्ष अगाडिका ग्रन्थहरू आज पनि हाम्रा सिरानी, सन्दुक तथा मनभित्र कहाँ हुन्थे र ?

आफ्नै मातृ भाषामा विद्यालय अनि विश्वविद्यालयका पाठ्यक्रमहरू उपलब्ध भएमा अध्ययन कति सहज हुन्थ्यो होला ! यस्ता प्रकारको सहज सिकाई अनि पाठ्यक्रममा पनि जोड दिन जरुरी छ । राष्ट्रिय भाषा नेपाली त हाम्रो मुटुमै छँदै छ तर मातृभाषाको स्वादमा विषयवस्तुको सहज बुझाई पनि मानव अधिकार हो । कमसेकम सुरुवाती सिकाइहरू मातृभाषामा भएमा हुर्कँदै गरेका केटाकेटीहरूका बुझाई कालागि विषयवस्तुहरू उसका लागि सहज र सरल हुन जान्छ ।

भारतबाट पाकिस्तान छुट्टिएपछि अहिलेको बङ्गलादेशलाई पूर्वि पाकिस्तान भनिन्थ्यो । आजको दिन सन् १९५२ मा बङ्गाली भाषाको औपचारिक प्रयोग कालागि बङ्गला युवाहरूले गरेको प्रदर्शन अनि त्यसमा मारिएका भाषा प्रेमी सहिदहरूको बलिदानको सम्झना स्वरूपमा मनाइन्छ । स्मरण रहोस् भारत र बङ्गलादेश मात्र यस्ता देश हुन जसको राष्ट्र गान एकै व्यक्तिले रचना गरेका थिए, उनी हुन पण्डित रवीन्द्र नाथ टेगौर । संसारमा राष्ट्रिय पहिचानका मूल स्तम्भ राष्ट्रिय गान नै एकै कविले लखेको उदाहरण अहिलेसम्म अन्यत्र छैन ।

यो विशेष दिन विश्वव्यापी रूपमा मातृभाषाको महत्त्व र यसको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मा लोप हुन लागेका करिब ३००० भाषाप्रति मानिसहरूको ध्यानाकर्षण गराउने औपचारिकता आरम्भ गरिएको थियो । त्यस वर्ष UNESCO ले “यो भाषाहरूको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ लोप हुन लागेका भाषाहरूमा सम्बन्धि समाज लार्इ प्रकाश पार्न महत्त्वपूर्ण कदम चालेको थियो ।

सन् २०२२ को मातृभाषा दिवसको नारा भनेँ “Using technology for multilingual learning: Challenges and opportunities” रहेको छ । प्रविधिको प्रयोगले अन्र्तभाषा सिकाई लाई अघि लैजानका चुनौती र अवसरहरू लाई विश्लेषण गर्दै सन् २०२२ को मातृभाषा दिवसले प्रविधिको सहयोगले भाषागत विविधतालाई एक तहमा ल्याउने लक्ष्य राखेको छ ।

विक्रम सम्बत् २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको संख्याभन्दा पनि बढि हो । २०६८ को कै गणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ४४ दशमलव ६ प्रतिशतले नेपाली भाषालाई आफ्नो मातृभाषा बताएकाछन् । नेपाली भाषालाई दोश्रो भाषाका रुपमा ७७ दशमलव ३७ प्रतिशत जनसंख्याले स्विकार गरेकाछन् । त्यसैगरी ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ । यस तथ्यांक अनुसार नेपाली भाषापछि नेपालमा सवैभन्दा बढि बोलिने भाषा मैथिली हो भने सवैभन्दा कम बोलिने भाषा संस्कृत हो । संस्कृत भाषा बोल्ने जनसंख्या १ हजार ६ सय ६९ रहेको छ ।नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सवै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सवै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ ।
मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको सम्वाहक हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिंदैन । मातृभाषाले देशको राष्ट्रियतालाई मजबुत बनाउँदछ र देश प्रेमको भावनालाई एकाकार गराउँदछ ।

पहिचानको दौडमा बेजोडले कुदिरहेको नेपाल अनि नेपालीका परिवर्तित आकाङ्क्षाहरूले सम्पूर्ण नेपालीहरूका भाषा अनि पहिचानलाई आत्मसाथ गर्दै अगाडि बढ्न सकुन्, भाषा अनि बोली दुवैको सम्मान होस् ।
----
हाम्रो पात्रोका लागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.