मत्स्य जयन्ती व्रत l मत्स्य नारायण मेला | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

मत्स्य जयन्ती व्रत l मत्स्य नारायण मेला




चैत्र शुक्लपक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरु\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।



धर्मलाई बिज्ञानसंग जोड्ने एउटा सुत्र मत्स्य नारायण अवतारको वर्णनले दिन्छन् । मत्स्य अवतार भगवान विष्णुको प्रथम अवतार मानिन्छ । म यहाँनेर चाल्र्स डार्विनको ‘इभ्याल्यूशन थ्यौरी’लाई मत्स्य अवतारसँग जोडेर ब्याख्या गर्ने जमर्का गर्छु ।

महाप्रलयका समयमा एउटा सिंग भएको माछा उत्पन्न भएको कुरा ग्रन्थहरुमा पाइन्छ । बिभिन्न आधुनिक लेख, चलचित्र र कथाहरुमा एपोक्लेप्टीक कथाहरु हुन्छन्, अर्थात महाप्रलय र त्यसपश्चातका कुराहरु । प्रलय पनि श्रृजनाको एउटा अंश हो, मत्स्यनारायण अवतार पनि एउटा पोष्टएपोक्लेप्टीक यर्थाथका रुपमा लिइन सकिन्छ । एक कोशको जीवबाट शुरु भएको मानव बिकासक्रमको पहिलो रुप अर्थात विष्णुको पहिलो अवतार माछा अवतारका रुपमा आज पुजिन्छ ।

‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्तमा एकल कोष भएका जीवहरु पानीबाट क्रमशः अनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ । यता सनातन दर्शनमा पनि श्रृष्टिको ब्याख्या गर्दा कमलको फूल, माछा अवतार अनि कछुवाका सन्दर्भहरु आउँछन् । यसअर्थमा मानव विकासको प्रथम आधार चाहिँ जलचर भएको कुरामा सनातन दर्शन र विज्ञान दुवैमा कुनै दुईमत छैन । भगवान विष्णुको पनि प्रथम अवतारका रुपमा मत्स्य अवतारलाई लिइन्छ ।

चैत्र शुक्लपक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । एक दिन अगावैबाट शुद्ध भोजन गर्ने, भगवान विष्णुको भजन कीर्तन गर्ने र जाग्राम बस्ने चलन पनि छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरु\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।

यस दिन गरिने दानपुण्यको पनि ठूलो महत्व छ ।

म थोरै मत्स्य अवतारको ब्याख्यामा थप हौसिन चाहन्छु । सत्ययुगको शुरुवात भन्दा अगावै कलियुगको अन्तका क्रममा सबै कुराहरुलाई विनाश गर्ने क्रम चलिरहेको थियो । हामी सबैलाई थाहै छ कि चार युगका आधारमा सनातन दर्शनमा समग्र मानव अवस्थितिलाई बाँडिएको छ ।

यसरी एउटा पूर्ण चक्र, सत्य, त्रेता, द्वापर र कलिको वृत्तपछि विनाशको संघारमा भगवान ब्रह्मा नयाँ सत्ययुगको श्रृजना गरेर निदाएको अवस्था थियो । यसै क्रममा धर्म–दर्शनका बहुउपयोगी ग्रन्थहरु वेद, उपनिषद् लगायतका अन्य थुप्रै श्रोतहरु बोकेर हायागृभ नामका दैत्य समुन्द्र मुनी लुक्न गए । यिनै हायागृभलाई खोजी गर्न र सबै ग्रन्थहरु फिर्ता ल्याउन भगवान विष्णुले मत्स्य अवतार लिएको उल्लेख छ । आज तिनै मत्स्य अवतारको जयन्ती, सबैलाई शुभकामना । यस वर्ष शुभसँग बितोस् ।

मत्स्य नारायण मेला

मलमासको वर्षमा पुरा एक महिनाका लागि र सामान्य वर्षमा मत्स्य जयन्ती व्रत को दिन राजधानीदेखि झन्डै ८ किलोमिटर दक्षिणपश्चिममा अवस्थित मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर दिनभर श्रद्धालु भक्तजनको लागि खुल्ला रहने गर्दछ ।

हरेक वर्ष चैत्र शुक्ल तृतिया तिथीमा मत्स्य जयन्ती व्रतका दिन मत्स्य नारायण मेला लाग्दछ । पृथ्वीमा माछाका रुपमा अवतार लिनुभएका श्री हरिको संकल्प र साधनामा सर्मपित यस मेलाको सबैलाई शुभकामना ।

यस दिनलाई "हयपंचमी" पनि भनिन्छ । यस दिन भगवान नारायण ले मध्याह्नोत्तर बेला मा पुष्पभद्रा तट मा मत्स्यावतार धारण गरेर जगत् कल्याण गर्नुभएको हो । सुनको जलप लगाएको गरूडको कलात्मक प्रवेशद्वार भएको मत्स्यनारायण मन्दिर पौराणिक रुपमा नै असाध्यै महत्वपूर्ण र पवित्र मन्दिर हो । यस मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्य लिएको नारायणको मूर्ति छ ।

मत्स्य अर्थात माछाको मुखबाट प्रकट भएको मान्यताका कारणले यस मन्दिरमा भएका विष्णुको अवतारलाई मत्स्य अवतार भनिएको हो । १४ वटा कलात्मक धाराहरु भित्र रहेको मनमोहक मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेऊमा शिवको लिंग छ ।

आजका दिन यस मन्दिरमा मेला लाग्दछ, मत्स्य जयन्ती व्रत का साथ अध्यात्मिक उर्जाको उजागरका लागि यस मन्दिर दर्शन र मेला भर्नुको विशेष महत्व छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.