के यहाँहरूलाई थाहा छ ?
हप्ताका हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसअर्थमा रविबार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रविबारको सप्तमीलाई दुर्लभ मानिन्छ ।
यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्रः
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।
सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवमा अनेक रूपमा पर्छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसअर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।
हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैँमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्शाउने गर्छन् ।
सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई अध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।
सूर्य भगवानलाई प्रातःकालमा सात्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादिदेव महादेवको स्वरूप मानिन्छ भने सन्ध्याकालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।
उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।
बाह्रकलाले युक्त यस्तो विशेषता भएको भागवन् सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णुआदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।
सामान्यतया सूर्यलाई प्रशन्न बनाएर शुभफल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो बस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नुपर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्रवटा आइतबार व्रत बस्नुपर्छ । व्रतको दिन प्रातः सूर्यनारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।
यस्तो व्रत आदि उपसना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रानुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पीडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पीडा कम हुने र सूर्यनारायणको शुभ–आशिर्वाद प्राप्त हुनेछ ।
विश्व आणविक परिक्षण विरुद्धको दिवस
शुरु गर्यौं महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको एउटा भनाईबाटः
"मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।"
बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व बिकासको यो पृष्ठभूमीलाई अनि सभ्यताको यो उचाईलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान वैज्ञानीक आइन्सटाइनले ?
आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा ?
आउनुहोस् आजको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । मानव सभ्यताको अाधूनिकिकरणको अभ्याससंगसङ्गै घोंडा, हात्तिको सवारगरी तरवार, धनुषवाण तथा ढालबाट यूद्धहरु लड्न शुरु गरेको विश्वले क्रमैसंग बन्दुक, गोला, हवाइजहाज हुँदै आणविक हातहतियका माध्यमले यूद्ध लड्न थालेको इतिहास छ । दोश्रो विश्वयूद्धमै पनि जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयूद्धले पूर्णबिराम पाएको हो । स्मरण रहोस् हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरु उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका बिकिरणका कारण बिभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालिन असरहरु अझैपनि छँदैछन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधरणको दुःखद मृत्यू भएको थियो ।
यस्ता हतियारहरुलाई सामूहिक बिध्वशं गर्ने हतियार भनिन्छ, जम्मा ११०० किलोग्राम थर्मोन्यूक्लीएर बलमे १२ लाख टीएनबी शक्ति उत्पादन गर्दै एउटा विशाल अत्याधूनिक शहर नै बिकिरण र बिष्फोटनका माध्यमले ध्वस्त पार्ने क्षमता राख्दछ ।
पृथ्वीलाई सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै आणविक हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई सखाप पार्न तल्लीन धेरै देश र तीनका सरकारहरु रहेका छन् ।
बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन आणविक शोध अनि हतियार बिकासमा खर्च भइरहेको छ । आफूलाई प्रजातन्त्रको ठेकेदार मान्नेदेखि विश्व समूदायसंग वास्ताकुस्ता नराखि अलग्गै प्रणालीमा बाँच्ने देशहरुसम्म आणविक दादागारिको दौडमा छन् । जसलार्इ नियन्त्रण र निस्तेज गर्नु अाज विश्व समूदायको सामू ठूलो चुनाैति बनि उभिएको छ ।
"हर्रो नपाउने जोगी जाइफलको भोगी" भनेंझैं सामाजिक र मानविय धरातल कमजोर भएको विश्व आणविक हतियारको भोगी भएको छ । विध्वशंकालागि यो भन्दा दूर्भाग्य अरु केही पनि हुन सक्दैन् ।
सन् २००९ को डिसेम्बर २ मा संयूक्त राष्ट्रसंघको ६४ औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन शुरु गरेको हो ।
फलाना देशले आणविक हतियार प्रयोग अभ्यास गर्यो, आज फलाना देशले प्रयोग गर्यो भन्ने हामीले पनि देख्दै अनि सुन्दै आएका छौं । आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरुलाई पनि ध्वस्त पार्ने आत्मघाती कुरा हो । देशको सिमानाले बनाएको रेखा हतियारले कहाँ बुझ्छ र ? समग्रमा यो मानव सभ्यता तथा पृथ्वीको विनाशको डरलाग्दो स्वरूप हो ।
आखिर हामी बस्ने पृथ्वी, वातावरण, माटो अनि जल त विश्वभरि उही त हो ? यिनै कुराहरुमा असर परेमा मानव अनि सभ्यताको अस्तित्व बाँकी नरहेर चौथो विश्वयूद्धमा ढुङ्गाको हतियार प्रयोग हुने आइन्सटाइनले भनेको हुनुपर्दछ ।
हिन्दू शास्त्रहरुमा पनि कुनै पनि हतियारले कार्य नगरेमा ब्रह्मास्त्र प्रयोग गर्ने र प्रहार गर्ने अनि प्रहार खप्ने दुवैलाई पीडा हुने कथाहरु त हामीले पढेकै छौं । ब्रह्मास्त्रसंग आणविक हतियारलाई तुलना गर्न सकिन्छ । आणविक शक्ति बिकास अनि वृद्धिकालागि हो, बिध्वंशकालागि हैन । आजको दिनले यस्तै कुराहरुलाई चरितार्थ गर्न खोजेको हुनपर्दछ ।
विश्वलाई शान्ति चाहीएको छ ।
भू-मध्य रेखाबाट दुवैतर्फको ध्रुवहरुसम्म, प्रशान्त महासागरदेखि मृत सागरसम्म, सगरमाथादेखि सहारा मरुभूमिसम्म शान्ति अनि भातृत्वका नाराहरु गुञ्जिने समयको प्रतिक्षामा हामीसबै छौं ।
एउटा शहरलाई नै क्षणभरमा ध्वस्त पार्न सक्ने विश्वले एउटा शहरलाई नै क्षणभरमा बिकसित अनि समृद्ध बनाउनसक्ने प्रविधि किन ल्याउन सक्दैन ? यदि बिकास भनेको विनाश नै हो भने प्रविधि र अनुसन्धानको सप्को समातेर डराई-डराई बाँच्नु भन्दा मानवलाई ढुङ्गे यूगमै शान्तिसंग बाँच्न प्यारो छ, जीवनको अर्थ बाँच्न पाउनु हो । सबैको रक्षा होस् !
-----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: