तमु ल्होसार | सफला एकादशी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

तमु ल्होसार | सफला एकादशी व्रत




तमु ल्होसार विशेष अडियो सामग्री

तो ल्होसार्बे आशिमलाँ

तमु ल्होसारको हार्दिक शुभकामना । वर्ष २०७८ को २६०६ औं तमु ल्होसारमा सबैलाई स्वागत छ है ।

नमस्कार, सम्पूर्ण महानुभावहरुलाई स्वागत छ, धन्यवाद ।
छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु । जाँसाजे ।
हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन, आज तमु ल्होसार हो ।

हामीमध्ये धेरैलाई पक्कै थाहा होला, तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर बनेकाले पनि आज गुरुङ समुदायको नयाँ वर्ष हो भन्ने अर्थ त हामीले सहजै लगाउन सक्छौँ । 

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ; मुसा, गोरु, गाई, खरायो, चिल, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकुर, मृग र सुँगुर ।

अनि फेरि तिब्बती बौद्धमार्गीहरुका अनुसार यो समुदायले वर्षभरमा तीन प्रकारका ल्होसार मनाउने गर्छ; तमु वा तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार । ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । विभिन्न भाग वा नाममा बाँडिएको किन नहोस्, ल्होसारको एउटै मूलभूत उद्देश्य छ, नयाँ वर्षको स्वागत गर्ने । आफ्नो समुदायको नयाँ वर्ष भएकाले आजको दिन कम्तिमा पनि यो सुमदायका लागि विशेष दिन हो, नयाँ वर्षलाई उल्लास र समृद्धिका लागि कामना गर्दै स्वागत गर्ने दिन हो ।

तमु समुदायको यो नयाँ वर्षको दिनमा फेरि पनि तपाईंहरु सबैलाई शुभकामना । स्मरण रहोस्, आजको यो ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् । अनि आजबाट अब नयाँ वर्ष वा तमु संवत सुरु हुन्छ ।

विभिन्न १२ वटा जनावर वा पशुपंक्षीको नाममा रहने यो वर्षको प्रतीकका रुपमा बाघ वर्षलाई लिइनेछ । अर्थात्, आजबाट सुरु हुने नयाँ वर्ष हो, तो ल्हो वा बाघको वर्ष । हिजो सकिएको वर्ष थियो, गाई वर्ष ।

बुद्धिस्ट समुदायले हर्षोल्लासका साथ मनाउने यो वर्षबारे विभिन्न धार्मिक पुस्तक तथा ऐतिहासिक दस्तावेजमा पनि उल्लेख गरिएको छ । यस्ता उल्लेख गरिएका दस्तावेजअनुसार भगवान बुद्धको जन्मअघि नै यी वर्षहरु मनाउने गरिन्थ्यो । तिब्बतसँग सम्बन्धित विभिन्न दस्तावेजहरुमा उल्लेख भएअनुसार यस्ता नयाँ वर्षहरुमा बुद्ध धर्मावलम्बीहरुले पहिले पनि अगरबत्ती बालेर भगवानको पूजा अर्चना गर्ने गरेका थिए । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बौद्धिस्ट र केही क्रिश्चियन र हिन्दूहरु रहेको तथ्यांक भेट्न सकिन्छ ।

ल्होसार १५ दिनसम्म मनाउने गरिन्छ । आजबाट सुरु भएका १५ दिनहरु हर्षोल्लास तथा उत्साहका साथ बिताएमा यो वर्षका सबै दिन त्यस्तै सुखमय हुने विश्वास गरिन्छ । आजको दिन तमु समुदायहरुले जंगल वा खुला चउरमा गएर धनुषवाँण हान्ने पनि गर्छन् । पश्चिमतर्फ हानिएको धनुवाँणले गएको वर्षको बिदाई गरेको मानिन्छ भने पूर्वतर्फकोले नयाँ वर्षको आगमनलाई मानिन्छ ।

नेपाल सरकारले तमु ल्होसारको पावन अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । काठमाडौंमा टुँडिखेलमा आज विशेष मेला लाग्ने गर्छ । जे होस्, सबैले आजको दिनमा अबको वर्ष निकै खुसीसाथ बितोस् भन्ने कामना गर्छन्, सुसँस्कृत वर्षको कामना गरिन्छ ।
हाम्रो पात्रोको तर्फबाट पनि तमु समुदायका नेपाली दाजुभाइ दिदीबहिनी तथा सम्पूर्णमा सुखद र सुन्दर रहोस्, यो नयाँ वर्ष भन्ने कामना, शुभकामना ।

सफला एकादशी व्रत


हिउँदका एकादशीहरुको शृङ्खला चलिरहेको छ । काठमाडौंमा मात्र होइन, देशभर अहिले वर्षा भइरहेको छ, चिसो निकै बढेको छ । काठमाडौं वरपरका अग्ला ‘थुम्का’हरुमा सेताम्मे हिउँ परेको छ ।

यो चिसोमा सबैभन्दा पहिले त तपाईंहरु सबैलाई हाम्रो पात्रोको तर्फबाट न्यानो अभिवादन । लहलह फलेको धान भित्र्याएपछि आजको यो पहिलो एकादशी हो, सफला एकादशी ।

पुस महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । नयाँ अन्नहरुलाई बिधिवत भित्राएपछि आज चाहिँ अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन छ ।

महाभारतमा श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई स्वयम यस एकादशीको बारेमा वर्णन गर्दै सफल हुन यस एकादशीको महत्त्वबारे भन्नुभएको पाइन्छ । बैकुण्ठधामको प्राप्ति र सफलताको सही अर्थका लागि यस एकादशीको व्रतको विशेष भूमिका हुने बताइन्छ । एकादशीका दिन भगवान विष्णुको श्रद्धा भक्ति एवं विधिपूर्वक पूजा गरिन्छ । पुण्य मन्त्रहरुले हरि विष्णुको पूजा आराधना गरिन्छ । राति जाग्रामसमेत बसेर आजको एकादशीलाई मानिन्छ । अजको एकादशीमा व्रत बसेपछि गुरु तथा ब्राह्मणहरुलाई दीप तथा दियो दान गर्नु फलदायी मानिन्छ ।

अरु एकादशीमा झैँ सफला एकादशीमा पनि सात्त्विक आहारव्यवहार गरेर व्रत बस्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरेपछि शुद्ध भएर शीरमा श्रीखण्ड चन्दन लगाई भगवान् विष्णुलाई कमल अथवा वैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूप दीप, नैवेद्य चढाएर पूजा गर्नुपर्दछ । भोलिपल्ट द्वादशीका दिन बिहानै ब्राह्मण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै व्रतालुले भोजन गर्दा राम्रो मानिन्छ ।यसप्रकार सफला एकादशी व्रत विधि पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास छ ।

वर्षका २४ एकादशीमध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला अर्थात् सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने भनेर बुझ्दा पनि हुन्छ । त्यसैले पनि सफलता तथा खुसी चाहने जोकोहीले पनि यो एकादशीको व्रत लिँदा राम्रो हुने मानिन्छ । यो एकादशीको व्रत लिने सबैलाई सफलता प्राप्त हुने विश्वास पनि गरिन्छ ।

धार्मिक विश्वासअनुसार ठूलाठूला महायज्ञभन्दा पनि यो एकादशीको व्रत लिँदा धेरै फल मिल्छ । पद्मपुराणमा उल्लेखभएअनुसार सफला एकादशी व्रतको अनुकम्पा सयौँ महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको रुपमा पनि लिइन्छ । हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई यो एकादशीको शुभकामना, सफल हुनुहोस् भन्ने न्यानो कामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पार्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.