सिथि नखः परम्परागत तर वैज्ञानिक र व्यवहारिक नेवा चाड | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

सिथि नखः परम्परागत तर वैज्ञानिक र व्यवहारिक नेवा चाड




सिथि नखः विशेष अडियो सामग्री

जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ । नेपाल सम्वत् ११४१ को यस चाडमा सबैलाई स्वागत छ ।

महिना प्रारम्भ भएको छ, असारको । आकाश बादलले ढाकिएका छन् । अनि वातावरण घनिभूत हुँदैछ वर्षायामको । वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाइका कुरा आउँछ । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवाः सभ्यता र संस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाइने चलन छ ।

काठमाडौं जसरी मन्दिरको शहरका रूपमा प्रचलित छ । त्यसरी नै काठमाडौँ पाटी–पौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुँवाहरूको शहर पनि हो ।

पानीको श्रोतका लागि अत्यन्त महत्वपूर्ण यी कुराहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो । आजको दिनमा काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्व अझै बढेर गएको छ ।

यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नुपूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दूरगामी संस्कार प्रशंसनीय छ ।

यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुँवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।

उपत्यकामा पहिले जस्तो खुला र खालि जमिन कम हुँदै गएको छ । शहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षायाममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुई भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि उपत्यकाबासीहरू पाइप, ट्यांकर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको तथ्य पनि जायज छ ।

सिथि नखः का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवाः खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडांैको जैसीदेवलको शिव–पार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याउँदै गहना र आभूषण लगाईदिएर खटमा राखी नगर परिक्रमा गराइने चलन छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

कुमार कार्तिकेयबारे केही कुरा गर्न चाह्यौ, शिवजीका यी पुत्र अलौकिक सैनिक दस्ताका महासेनानीका रूपमा पुराणहरूमा ब्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरूको वध गर्न सक्ने यी बलवान्लाई गंगाका पुत्रका रूपमा पनि ब्याख्या गरिन्छ । यिनको ६ वटा शीर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।

गंगा नदी स्वयं शिवजीको जटामार्फत् बगेकी छिन् । यसअर्थमा गंगाका स्वरूप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग अन्र्तसम्बन्ध पाइन्छ । वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ ।

हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनामार्फत् नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरू चलाइरहिएको छ । नियालेर हेर्ने हो भने हाम्रो पुराना संस्कारहरू नै आफैंमा वैज्ञानिक र परिवर्तनकारी छ ।

सिथि नखः को शुभकामना । अनि हाम्रा पानीका मुहान र चित्त दुवै सँधैभरि शुद्ध र सफा हुन् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.