सोह्रश्राद्ध प्रारम्भ | विश्व शान्ति दिवस | विश्व अल्जाईमर दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

सोह्रश्राद्ध प्रारम्भ | विश्व शान्ति दिवस | विश्व अल्जाईमर दिवस




सोह्रश्राद्ध प्रारम्भ विशेष अडियो सामग्री

बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।

दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष  प्रारम्भ भयो ।  पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ ।

यतिबेला अधिकांश तराइको भूभाग बाढिको विनास र त्यसले दिएको कृषि चुनाैतिबाट बाहिर निस्किएर सामान्य जनजीवन जिउने प्रयास गर्दै हुनुहुन्छ, यस बाहेक धेरै ठाउँमा बारीको मकै पाकीसके होलान, धान रोपेर भ्याइयो होला, आँपका बोटहरु अब केवल पातमात्र झुन्डिएका छन्, थोरै हरीया अनि बाक्लो खैरो ।

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।

यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दू धर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । विहानै देखि माैलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन ।

अब कुरो पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने जन-विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भने पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । आजबाट सोह्रश्राद्ध शुरु भएसंगै पहिलो तिथी अर्थात प्रतिपदाको तिथीमा मृत्यूभएका पितृहरुको संझनामा आज प्रतिपदा श्राद्ध गरिनेछ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् !

विश्व शान्ति दिवस


सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्


अर्थात् सबैजनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि नहोस् । 'उपनिषध'बाट साभार गरिएको यो शान्ति स्तोत्र प्रस्तुत गर्न चाह्यौं, विश्व शान्तिको कामना सहित ।

जेनेभा शान्ति वार्ता भएको नवौं वर्षका उपलक्ष्यमा सन् २०२१ को आजको दिन अर्थात सेप्टेम्बर २१ तारिखमा विश्वभरिका देशहरुले विश्व शान्ति दिवस मनाँउदैछन् । यसवर्षको विश्व शान्ति दिवसको नारा चाँही “Recovering Better for an Equitable and Sustainable World” भन्ने रहेको छ । कोभिडको महामारीपछि उत्पन्न सामाजिक असमानता र मानसिक तनावलाई सम्वोधन गर्दै यस वर्षको नाराले समान र दिर्घकालिन विश्वको परिकल्पनाका लागि सुधारात्मक कदमको पैरवी गरेको छ ।

विश्व शान्ति दिवसको शुभकामना एउटा यस्तो देशवाट शान्तिको शुभकामना जहाँ बुद्धको जन्म भएको हो, जहाँ विश्वका अनेकन देशहरुले आफ्नो आफ्नो देशको शान्तिप्रतिको चाहलाई चैत्यको स्वरुपमा अभिव्यक्ति गरेका छन्, जहाँ विश्व शान्ति स्तुपाले बैदाममाथि उभिएर विश्वलाई रेसमी माया र शान्तिको आयाम दिइरहेको छ, जहाँका मान्छेहरु शान्ति र मित्रताका लागि विश्वभरि प्रसिद्ध छन् अनि जहाँ सगरमाथाले आकाशलाई छुँदै विश्वभरि शान्तिको वायू प्रसारित गरिरहेको छ ।

होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ ।

शान्ति एउटा अध्यात्मिक शब्दावली मात्र नभई मानव सभ्यताको अनिवार्य आवश्यक्ता पनि हो । शान्ति दिवसमा शान्तिको घाँटी निमोठिएका प्रशस्त उदाहरणका साथ, दम्भ बोकेर न्यायको कठघरामा आज विश्व समूदाय उभिएको छ । आतंकवाद, आन्दोलन, हत्या हिंसा, बैमनस्यता र अमानविय श्रृंखलाहरुमा विश्वभर कुनै न कुनै रूपमा जकडीएको छ ।

म्यानमारका रोहिंग्या देखि सिरियाली शरणार्थीका आँखाहरुसंगै दशकौंदेखि बम र बारुदमा बाँचीरहेका अफगानिस्तान, ईराक लगायत धेरै देशका नागरीकहरुको शान्तिको हिसाब किताब कस्ले गर्ने हो, शान्तिको स्थापना संस्थागत गर्न जरुरी छ ।

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।

१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।

बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलाई नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०६ वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।

विश्व शान्ति दिवसमा बुद्धको देशबाट विश्व समूदायलाई शुभकामना !

नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।
----
विश्व अल्जाईमर दिवस


आज सन् २०२१ को सेप्टेम्बर २१ तारिखका दिन विश्व समुदायले अल्जाइमर्स दिवस मनाँउदैछ , वर्ष २०२१ को नाराचाँही Know Dementia, Know Alzheimer's रहेको छ ।

एउटा अनौठौ रोगका बारेमा आज चर्चा गर्न चाह्यौं आज विश्व अल्जाईमर दिवसको प्रसंगमा । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातकालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन अनि पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निमत्याउँदछ ।

यसका कारक तत्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरुमा हाइपरटेन्सन, टाउकोमा गहिरो चोटहरु र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणहरुले पनि अल्जाईमरको जोखिम बढाँउदछ ।

एकफेर अल्जाईमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रुपमा दीर्घकालिन फर्काई असम्भव प्राय हुन्छ, अल्जाईमर रोग बिरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाईमरबाट हामी जोगिन सक्छौं । बुढेसकालमा मात्र अल्जाईमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौं भनें त्यो पूर्णतः सत्य नहुन सक्दछ ।

फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरु हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउँन सक्दछ । सन् २०१५ को अध्यन अनुसार विश्वभरि करिब ३ करोड अल्जाईमरका रोगीहरु रहेका छन्, अहिले यसको संख्या झन बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाईमर दिवस यस्तै कुराहरुमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाईमर बिरुद्धको महिनाका रुपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबैजना सचेत रहौं ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.