बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिएपनि बाघको संख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका बासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । सँगै बाघ संरक्षणका महत्वकांक्षी लक्ष्य र योजनासहित काम गर्ने भइरहेका छन् । बाघका बासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ । सबै मुलुकले चाहँदा यो असम्भव पनि त भएन ।
सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको संख्या दोब्बर बनाउन सकेमा विश्वका लागि यो अनुकरणीय उदाहरण हुन जान्छ । ग्लोबल वार्मिङको चपेटामा परिरहेको विश्वलाई यसको सफलताले राहत प्रदान गर्नेछ । सफलताको केही बाटो पछ्याउन सुरु गरिसकेकाले पनि दुर्लभ जन्तु बाघका संरक्षण र भविष्यबारे आशावादी हुने ठाउँहरू प्रशस्तै छन् ।
अब यस लक्ष्यका प्राप्तिका लागि केवल १ वर्ष बाँकी छ । सन् २०२१ को संघारमा उभिरहँदा विश्वमा बाघ संरक्षण गर्न र बाघ संख्या बढाउन धेरै जरुरी भएको छ । सन् २०२१ मा भन्ने “त्जभष्च क्गचखष्खब िष्क ष्ल यगच जबलमक” नाराका साथ बाघ दिवस मनाइँदैछ । अब बाघको संरक्षण हाम्रो हातमा छ, यो दायित्वलाई शिरोधार्य गरेर विश्व समुदायलाई बाघको संरक्षणार्थ ठोस कदम चाल्न प्रेरित गरोस् भन्ने हार्दिक शुभकामना छ ।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रुपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
आखिर बाघलाई यति धेरै महत्व किन दिइन्छ ? जिज्ञासा लाग्नु स्वाभाविक हो । कुनै समय जताततै पाइने बाघ पाइन्थ्यो । संरक्षण अभाव र बस्ती बिस्तारसँगै लोपोन्मुख प्राणीको सूचीमा बाघ पुगेको तथ्य हामी सबैलाई थाहै छ । २० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसंख्या १ लाखको हाराहारीमा रहेकामा यो संख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरूको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।
बाघको महत्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदैछ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
वातावरणीय सन्तुलन जंगली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।
बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अंग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनुपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ दिवस मनाइरहँदा यसले बाघको संरक्षणको मात्र होइन, वनजंगल र अन्य पशुपन्छीका साथै मानव जीवनको कल्याणको महसुस प्रदान गर्छ । भावी पिँढी मुस्कुराउने र धर्ती माताको दीर्घायूको बाटो खुल्ला गर्छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: