उत्पत्तिका एकादशी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

उत्पत्तिका एकादशी व्रत





मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । उत्पत्तिका एकादशी भनेको खासमा वर्षभर आउने अरु सबै एकादशिको उद्गम एकादशी हो भन्दा पनि मिल्छ । हिन्दू धर्ममा पञ्चाङ्गको एघारौँ तिथिमा पर्ने सबै एकादशीको उत्पत्ति आजको तिथिमा भएको मानिन्छ ।

सबै एकादशीको उत्पत्तिको तिथि भएकाले पनि आजको दिनलाई उत्पत्तिका एकादशी भनिएको हो । अनि आजको तिथिबाट एकादशी उत्पन्न भएकाले एकादशीमा व्रत लिन चाहनेहरुले आजको दिनदेखि नै व्रत अनुष्ठानको प्रारम्भ गर्नु पर्ने विश्वास पनि गरिन्छ । एकादशी कृष्ण पक्ष र शुक्ल पक्षमा एक एक पटक अर्थात् महिनामा दुई पटक पर्ने गर्छन् । पूर्णिमापछि आउने एकादशी कृष्ण पक्षको एकादशी हो भने औंसीपछि आउने एकादशी शुक्ल पक्षको एकादशी हो ।

आउनुहोस्, हाम्रो पात्रोमा आज एकादशीहरुको सुरुवात मानिएको यो एकादशीको व्रतकथाबारे थोरै जानकारी लिऔँ ।

पद्मपुराणमा धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसँग पुण्यमयी एकादशी तिथिको उत्पत्तिबारे सोधेको प्रसंग उल्लेख गरिएको छ । पुराणमा भएको जानकारीअनुसार युधिष्ठिरले प्रश्न राख्नु भएको थियो– पुण्यमयी एकादशी तिथि कसरी उत्पन्न भयो < उहाँको अर्को प्रश्न थियो– एकादशी तिथिलाई किन पवित्र मानिन्छ, किन यो तिथि सबै देवताहरुका लागि पनि प्यारो भयो <

युधिष्ठिरका यी प्रश्नको जवाफ भगवान श्रीकृष्णले दिनुभएको उल्लेख पनि गरिएको छ । भगवान श्रीकृष्णले युधिष्ठिरलाई के जवाफ दिनुभयो त < अब, यसबारे चर्चा गरौँ । भगवान श्रीकृष्णले यसको जवाफका लागि सत्ययुगको एउटा प्रसंग निकाल्नु भएको थियो । उहाँले भन्नुभयो– सत्ययुगमा मुर नामको एउटा भयङ्कर दानव थियो । यो दानवले देवराज इन्द्रलाई समेत आफ्नो आसनबाट हटाएर यो दानवले स्वर्गमाथि आधिपत्य जमाएपछि त्यहाँ देवताहरुले निकै दुःख पाएका थिए । अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन देवहरुका पनि देव भगवान महादेवको शरणमा पुगे ।

महादेव भगवानले देवताहरुको समस्या सुनिसकेपछि यसको समाधानका लागि भगवान विष्णुको शरणमा जानु पर्ने सल्लाह दिनुभयो । त्यसपछि देवताहरु सबैलाई साथमा लिएर भगवान महादेव विष्णुको शरणमा पुग्नु भयो । उहाँ स्वयं विष्णुको शरणमा गएपछि भगवान विष्णु पनि प्रसन्न हुनुभयो । उहाँलाई प्रसन्न बनाउन देवताहरुले स्तुति गरेको प्रसंग पनि पुराणमा उल्लेख गरिएको छ ।

देवताहरुको स्तुतिबाट प्रसन्न भएर ब्यूझिँएका भगवान विष्णुले देवताहरुलाई आफ्नो कुरा राख्न अनुरोध गर्नुभयो । देवताहरुले दानव मुरको अत्याचार सविस्तार सुनाए । यो सुनेर भगवान विष्णु निकै क्रोधित अवस्थामा पुग्नुभयो । र, उहाँले देवताहरुलाई यो संकटबाट बाहिर निकाल्न आफूले काम गर्ने वचन दिनुभयो ।

पछि दर्जनौं दानवहरुको संहार भयो, भगवान विष्णुको शक्तिका कारण । तर, यही युद्धमा पनि दानव मुर मारिएको थिएन । त्यसपछि लामो समय भगवान विष्णु र दानव मुरबीच युद्ध भएको प्रसंग उक्त पुराणमा उल्लेख गरिएको छ । लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान विष्णुले दानव मुरको शक्ति क्षीण बनाउनु भयो । त्यहाँबाट भगवान विष्णु बाह्र योजन लामो सिंहावती गुफामा गएर सुत्नुभएको र निद्रालीन हुनुभएको विश्वास गरिन्छ ।

तर, त्यही गुफामा गएर भगवान विष्णुलाई मार्ने योजना बनाएर दानव मुर पनि गुफामा गयो । गुफामा दैत्य प्रवेश गरेको थाहा भएलगत्तै श्रीहरिको शरीरबाट दिव्य अस्त्रशस्त्रले भरिपूर्ण एक अति रुपवती कन्या अर्थात् देवी एकादशी उत्पन्न हुनुभयो । ती युवतीले नै दानव मुरसँग लड्न थालिन्, केहीबेरमा मुरलाई अस्त्रविहिन बनाउनु भयो ।

आफ्नो शक्तिको अहंकारले भरिएको दानव मुर ती देवीलाई आक्रमण गर्न अगाडि बढेको थियो । तर, ती देवीले मुरको छातीमा प्रहार गर्नुभयो, मुरको यो प्रहारपछि मृत्यु भयो ।

भगवान विष्णु उठेपछि उहाँले त्यो दानव मुरको मृत शरीर देखेर विस्मित हुनु भयो । ती देवीले भगवान विष्णुलाई आफूले उसको वध गरेको सुनाउनुभयो । ती देवीको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामकी ती देवीलाई वरदान माग्न अनुरोध गर्नुभयो । यसको जवाफमा देवी एकादशीले एकादशी तिथिमा व्रत बस्ने सबै भक्तालुको आफूले पाप नाश गरिदिन सकुँ भनेर वरदान माग्नुभयो । भगवानले विष्णुले तथास्तु भने यो माग पूरा गरिदिनुभयो । अनि उहाँले नै यो तिथि घोषणा गर्नु भएको हो ।

देवी एकादशी वा पुण्यप्रदा एकादशी असाध्यै खुसी हुनु भयो । जो मनुष्यले एकादशीको व्रत बस्छ, त्यो मरणोपरान्त बैकुण्ठ पुग्छ भन्ने त्यति बेला देखि नै विश्वास गर्दै आइएको छ । अनि एकादशी व्रत नै सबैभन्दा ठूलो पापनाशक व्रत भएको पनि विश्वास गरिन्छ ।

एकादशी व्रत कथा सुन्नाले मात्र पनि सहस्र गोदानको पूण्यफल मिल्छ । एकादशीमा व्रत बसेर रात्रि जागरण गर्नाले व्रत लिने व्यक्तिलाई भगवान विष्णुको अनुकम्पा मिल्छ भन्ने विश्वास छ ।

एकादशीहरुको पनि उत्पत्ति भएको आजको यो तिथिले हामी सबैलाई आफ्ना मनोकामना पूरा गर्न सहज बनओस्, हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.