पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आजबाट समापन हुँदैछ ।
आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तक वर्ष दिनभर थन्क्याइन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक फेरि नखोलुन्जेलसम्म हरेक नेपाली दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस् । यसवर्ष पनि श्रीस्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको बलिदानदेखि गोमा ब्राह्मणीको दुःख अनि दक्ष प्रजापतीको दम्भको अन्त्य लगायत पृथ्वीको श्रृष्टि जस्ता ज्ञान अनि प्रेरणा दिँदै बित्यो भन्ने आशा छ । तपाई–हाम्रो आफ्नो प्रिय मोबाइल सहयात्री हाम्रो पात्रो, जसलाई नेपालीपनको पर्यायवाचीका रुपमा हामीहरुले आफ्नो मोबाइल र हृदयमा सुरक्षित तवरले राखेका छौं ।
यसमार्फत् पनि श्रीस्वस्थानी परमेश्वरीको महिमाका कथाहरु हामीले अडियोका क्रममा दैनिक पस्कँदै आएकोमा यहाँहरुले देखाउनुभएको माया अनि सद्भावप्रति हामी कृतज्ञ छौं । संस्कृत शब्द श्रीस्वस्थानीको सरल नेपाली अर्थ भने आफू बसेको स्थानकी देवी भन्ने हो । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी श्रीस्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । जाने पुस्ताले आउने पुस्ताका लागि छाडेर जाने मुख्य कुराहरुमा संस्कार अनि परम्परा पनि अत्यन्त महत्वपूर्ण कुरो हो । नेपालीजनमा यस्ता संस्कार अनि परम्पराको ठूलो मूल्य अनि महत्व छ ।
यस्तै एउटा शदियौं पुरानो संस्कार हो, श्रीस्वस्थानी माताको व्रत कथा श्रवण । अनेकन किसिमका दस्तावेज अनि लेखहरुमा स्वस्थानी व्रतकथालाई महिलाहरुले मात्र गर्ने कठिन व्रतका रुपमा चित्रण गरिएतापनि श्रीस्वस्थानीको व्रत अनि महिमा पुरुषहरुले पनि गर्ने गरेको पाइन्छ ।
यसअर्थ, श्रीस्वस्थानी परमेश्वरीको व्रत अनि आराधना महिला–पुरुष दुबैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वास र जनउक्ति छ । यो व्रत बस्नाले शान्ति, सुख, समृद्धि अनि अध्यात्मिक चेतनामा वृद्धि भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ ।
हिन्दुजनको अपरिहार्य यो व्रतकथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाका साथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी श्रीस्वस्थानीका चार वटा हात छन् । हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन् ।
अर्कोतर्फ परिवारका सम्पूर्ण सदस्य भेला भइकन गरिने कथावाचनका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्ध सुदृढ हुने गर्छ । फेरि समापनका अवसरमा सामुदायिक उपस्थिति रहने भएकाले सामाजिक सद्भाव अनि एकता पनि कायम हुन जान्छ ।
आधुनिक आणविक खोज÷अन्वेषण भइरहेको संसारमा सनातन संस्कारको हजारौ वर्ष अगाडि लेखिएको यही श्रीस्वस्थानी महिमा अध्यायहरुमै संसारको उत्पत्ति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको कहीँ कतै ब्याख्या गरिएको पाइन्छ ।
श्रीस्वस्थानी व्रतकथामा महादेवको सतीदेवीप्रतिको आशक्तिले महिला र पुरुषको अन्र्तसम्बन्ध देखाउँछ भने गोमा ब्राह्मणीकै धैर्यताले हामीलाई दुःखमा नडगमगाउन पे्ररित गर्छ ।
आधुनिक समयमा तर्कमा आधारित रहेर पुराना संस्कार बिर्सेर कुल्चदै अगाडि बढ्ने पाइलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यी संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिन चाह्यौ, श्रीस्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।
हिँउदको जाडोमा न्यानो हुँदै परिवारका सदस्यहरु एकै ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ ।
पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने यो व्रतकथाका ३१ अध्यायहरु माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । उपनयतु मंगलम् मन्त्रबाट शुरु हुने यो कथाको स्तुतिमन्त्र समापनमा यं व्रह्मा मन्त्रका साथै समापन हुन्छ ।
यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोहको आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारिक रुपमा श्रीस्वस्थानीको समापन या साङ्गे गर्ने चलन छ ।
यस्ता साङ्गेमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन छ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्छ । व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर-किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरु पनि हुन्छन् । यसरी सामूहिक रुपमै श्रीस्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई नै फाइदा हुने जनविश्वास छ ।
परमेश्परीको कथा भन्ने सुन्ने अनि आत्मसात् गर्ने सबैको जय होस् । श्लेषमान्तक बन, सुमेरु पर्वत, कैलाश अनि विभिन्न क्षेत्रहरुको वर्णन गरिएको यो व्रतकथाका अधिकांश ठाउँहरु नेपालमै पर्छ, यसअर्थमा श्रीस्वस्थानी परमेश्वरीको प्रिय भू–भाग नेपाल अनि समग्र नेपालीहरुको कल्याण होस् ।
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरु बैकुन्ठै जाला
फेरि अर्को वर्ष शुरु शुरु आईजाला
श्री स्वस्थानी परमेश्वरीको जय
माघ स्नान समाप्ति
स्वस्थानी व्रत शुरुवात भएसँगै शुरु भएको माघ स्नान पनि आजबाट समापन हुँदैछ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र माघ स्नान गरिन्छ । बिहान स्नान गरेर दिउँसो महादेवको अर्चना गर्ने र सन्ध्याकालमा स्वस्थानी व्रतकथा श्रद्धापूर्वक सुनाउने र सुन्ने गरिन्छ ।
यस वर्ष कोरोना संक्रमण त्रासले नदी–नाला र तालतलैयाहरुमा तीर्थालुहरुको अन्य वर्षहरु झैं घुँईचो त देखिएन । यद्यपि सबै तिर्थालुहरुले आ–आफ्नै स्थानमा रहेर स्वस्थानी माताको महिमा आत्मसात् अनि माघ स्नानको स्तोत्र र विधिहरु अपनाएको पाइयो । यस वर्षको माघ स्नानले सबैको पीडा र वियोगहरु बगाएर लगोस् । आँउदै गरेको बसन्तको शुभकामना ।
विश्व गैरसरकारी संस्था दिवस
सन् १९४५ मा निर्मित संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी संगठन’ शब्दले एउटा औपचारिक स्थान पायो । र, गैरसरकारी संगठनको परिभाषामा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था, जसले गैरनाफामूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनी उल्लेख गरियो ।
हालसम्म प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू खुलेका छन् । जसले हरेक शहर वा जिल्लामा हुने स्थानीय समस्याहरुको ध्यानाकर्षण ठूला राष्ट्र अथवा अन्तर्राष्ट्रिय मञ्चमा गराउने गर्छन् ।
थुप्रै यस्ता गैरसरकारी संस्थाहरुले समाज उत्थानमा दिएका योगदानहरुलाई थप हौसला प्रदान गर्न हरेक वर्षको २७ फेवु्रअरीको दिन संयुक्त राष्ट्र संघले विश्व गैरसरकारी संस्था दिवस मनाउने गरेको छ ।
आजको दिनको मूलभूत उद्देश्य भने ‘साथ र सहयोगको उत्सव मनाऊ’ भन्ने छ । आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैरसरकारी संस्थाले समाजमा पुर्याएको योगदान र अन्य गतिविधिहरुको महत्वलाई विश्वसामु प्रष्ट पार्ने प्रयास गर्छ ।
सन् २०२१ मा विश्वले आठौ गैरसरकारी संस्था दिवस मनाउँदैछ । कोरोना त्रासले विश्व र राष्ट्रहरुलाई आक्रान्त बनाएपछिको सन् २०२१ सालको गैरसरकारी संस्था दिवसको महत्व अबका दिनका लागि फरक हुनेछ ।
कहिले स्वयंसेवक त कहिले सदस्यका रुपमा अन्र्तदेशीय यात्रा गर्दै र आफ्नै देशभित्र पनि सरकार र समुदायलाई निस्वार्थ सहयोग गरेका गैरसरकारी संस्थाहरुलाई हार्दिक साधुवाद छ ।
त्यसबाहेक आजको दिन ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरुलाई उनीहरुले समाजमा पु¥याएको योगदान निम्ति सम्झना गर्ने दिन पनि हो । यस्ता थुप्रै व्यक्तिहरु छन्, जसले कुनै न कुनै रुपमा यस्ता गैरसरकारी संस्थाहरूका कार्य र परियोजनाहरुलाई सफल पार्न आफूलाई समर्पित गरेका छन् ।
आजको दिन हामी सबैले एकपटक ती निस्वार्थी सहयोगीहरुलाई सम्झना गर्दै सम्मान गर्नुपर्छ । ती व्यक्तिहरूलाई हामीले दिने सम्मानले नै अन्य मानिसहरुलाई यस्ता गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न हौसला प्रदान गर्नेछ ।
गैरसरकारी संस्थाहरू समाजको आवश्यकता हुन्, झन् नेपाल जस्तो विकासको पथमा लम्किरहेको देशमा यी संस्थाहरूको योगदान अतुलनीय हुन्छ नै । सबैलाई सम्मान र शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: