‘समय बितिरहेको छ’
विश्व अत्याधुनिक युगमा प्रवेश गरेपनि पुरानोमध्येको क्षयरोग अझै हाम्रो समाजमा विद्यमान छ । विश्वबाट क्षयरोग अन्त्य निम्ति प्रयत्न जारी छ । त्यहीकारण सन् २०२१ को विश्व क्षयरोग दिवसको नारा तय छ, ‘द क्लक इज टिकिंग’ "The Clock is Ticking" अर्थात् ‘समय बितिरहेको छ’ ।
कोरोना भाइरस सन्त्रासले तनावग्रस्त विश्वमा अझै पनि केही यस्ता रोग र संक्रमण बाँकी छन् जसले शताव्दीऔंदेखि विश्वमा मृत्युको ताण्डव लीला मच्चाउने गर्छ । तिनै रोगहरुमध्ये एक हो, क्षयरोग ।
हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सन् १८८२ मा मार्च २४ तारिखकै दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेका थिए । त्यही दिनको उपलब्धिको सम्झनामा विश्वभर मार्च २४ मा क्षयरोग दिवस मनाइन्छ ।
सामान्यतया टिबी भनिने यो रोगको पूर्ण रुप चाहिँ ‘ट्यूबरक्लोसिस’ अर्थात् अंग्रेजीमा Tuberculosis हो । क्षयरोग प्राचीनकालदेखि नै मानव समुदायमा अनेक रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन् जसको उपस्थिति प्राचीन समयबाटै आजसम्म भएको पाइन्छ ।
आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि विश्व जनसंख्याको एक तिहाई जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा देखिन्छ । विकासोन्मुख देशहरुमा यो जोखिमदर त झन् बढेर ९० प्रतिशतसम्म देखिन्छ ।
नेपालको क्षयरोगको तथ्यांक झन् भयावह छ । नेपालको ठूलै जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मृत्युवरण गर्छन् । क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्छ ।
नेपालमा क्षयरोग उपचारका लागि सबै जिल्लाहरुमा हुने गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) पद्धतिमा आधारित सेवा केन्द्रहरु खुलेका छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लग्ने नेपाल सरकारले लक्ष्य लिएको छ । यो प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।
स्मरणरहोस्, नेपालमा भेटिने क्षयरोगीमध्ये ७५ प्रतिशत भन्दा बढी त फोक्सोकै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्छन् ।
नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क उपलब्ध गराउँछ भने सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँ–घरमा क्षयरोगविरुद्ध जनचेतनाको अभाव अनि समयमै उपचार गर्न नआउने समस्या छ । आजको दिन क्षयरोगविरुद्ध देशैव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि हो ।
तीन हप्ता या बढीदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसूस भएमा नजिकैको स्वास्थ चौकीमा जचाउनु पर्छ । क्षयरोग सर्न पनि सक्छ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्छ ।
क्षयरोगसँग अब डराउनु पर्ने चाहिँ छैन किनभने नेपालमा क्षयरोगको उपचार निःशुल्क छ । केवल नजिकैको स्वास्थ केन्द्रमा सम्पर्क राखेमात्र पनि उपचार र ओखती पाउन सकिन्छ । यो रोग लागेमा छ देखि आठ महिनासम्म चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गरेमा रोगबाट मुक्ति पाउन सकिन्छ । त्यसअतिरिक्त जटिल र बहुऔषधी प्रतिरोधी क्षयरोगको उपचार निम्ति प्रदेशस्तरमा उपचार सेवा उपलब्ध हुँदैछ ।
५ वर्ष मुनिका बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरुमा, चुरोट–रक्सी या लागूऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधिको डोज पूर्ण सेवन नगरेकाहरुमा यो संक्रमण फेरि देखिन सक्छ । त्यसकारण रोग लागेपछि कसैले पनि बीचैमा औषधी सेवन गर्न छाड्नु हुन्न ।
औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ, तथापि क्षयरोगबाट जोगिनु जरुरी छ । हाम्रो समाजमा भनाइ नै छ, ‘रोग लाग्नु भन्दा लाग्न नदिनु ।’ त्यसकारण क्षयरोगविरुद्ध सबैजना सचेत बनौं, अनि स्वस्थ रहौं । अन्तर्राष्ट्रिय क्षयरोग दिवसको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: