उपभोक्ता अधिकार संरक्षणमा पैरवी गर्ने दिन
सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए । उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए । त्यसै दिनको सम्झनामा हरेक वर्ष मार्च १५ तारिखमा उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ ।
हरेक मान्छे उपभोक्ता हो । क्रय अनि बिक्रय मानव सभ्यताका अपरिहार्य कारोवार हुन् । परापूर्वकालदेखि नै हामीले क्रय–बिक्रय अर्थात् खरिद र बिक्री अनि वस्तु तथा सामानहरूको उपभोग गर्दै आएका छौं । त्यसो त, प्रकृति हाम्रो सबैभन्दा ठूलो उपभोग श्रोत हो । श्वास फेर्ने हावा, पिउने पानी, आकाश, न्यानो घाम, चिसो बतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका विषय हुन् । जुन विना हाम्रो मानव अस्तित्वको अर्थ हुँदैन । यस्ता प्राकृतिक तत्व मानव धेरै हदसम्म स्वतन्त्र र निःशुल्क उपभोक्ता हो । तर बजारमा पाइने विभिन्न वस्तु तथा सेवाहरूको क्रय अनि बिक्रयसँगै उपभोक्ता अधिकारका मुद्दा अनि तथ्यहरू आउँछन् ।
शुरुवातकालमा हाट–बजारको प्रचलन थियो । मानिसहरू त्यही हाट–बजारमा सामान अनि सेवा साटासाट गर्दथे । जतिखेर पैसाको प्रचलन थिएन, मानिसहरू एक–अर्काबीच सामान साटासाटबाटै उपभोग गर्थे । धानसँग आलु साट्थे । मकै र कोदो साटासाट हुन्थ्यो । यसरी वस्तु तथा सेवाको विनिमय गरिन्थ्यो । भनाईको तात्पर्य जहाँ आफूसँग भएका सामानको साटो अन्य आफूसँग नभएका सामान विनिमय गरिन्थ्यो । बिस्तारै पैसा अर्थात् मुद्राको चलन आयो । पछिल्ला कालखण्ड त संसार हाम्रो सामु छर्लङ्गै छ ।
अब त सामान किन्न बजार पनि नगइकन घरबाटै इन्टरनेटबाट हेरेकै भरमा सजिलै मगाउन सकिन्छ । यस्ता युगान्तकारी उपभोग शैलीका परिवर्तनसँगै अवसर र चुनौती दुवै हाम्रा सामु छन् । स्मरणरहोस्, संसारका ४० प्रतिशत बासिन्दाहरू अनलाइन माध्यमहरूमा संलग्न रहेको विश्वब्यापी अध्यनहरूले देखाएको छ । नेपालमा भने अझै पनि भरपर्दो ‘अनलाइन पेमेन्ट गेटवे’हरू सबैसमक्ष परिचित छैनन् । तर बिस्तारै अनलाइन बजार नेपालमा पनि बढ्दो क्रममा छ ।
कोभिड–१९ पछिको समयमा त नेपालमा पनि अनलाइन क्रय–बिक्रयको बाढी नै आएको छ । यसरी अनलाइनमा उपभोक्ताहरूको अधिकारको संरक्षण एउटा कुरा होला भने अर्कातिर भौतिक रूपमा किनिने सामान अनि पर्यावरणीय सुरक्षाका सवाल पनि यो दिवसले उठाउँछ । सन् २०२१ को विश्व उपभोक्ता दिवसको नारा नै प्लास्टिक प्रदुषणसँग जुध्दै भन्ने छ । 'Tackling plastic pollution' अर्थात्, आमतहमा प्लास्टिकको प्रयोग बढेपछि यसले पर्यावरणीय पक्षलाई निकै ठूलो आघात पारेको छ । विश्वमा बढ्दो उपभोक्तावादसँगै वातावरण परिवर्तन पनि विश्वकै निम्ति चुनौति हो । त्यहीकारण यो वर्षको उपभोक्ता दिवसमा ‘प्लास्टिकसँगै जुध्दै’ भन्ने नारा तय भएको हो ।
आजको विश्व बजारमा उपभोक्ताहरू ठगिन सक्ने, अखाद्य वस्तु मारमा पर्न सक्ने जस्ता प्रशस्तै खाडल देखिएको छ । आजको दिन यसै विषयमा छलफल गर्दै एउटा ‘फेयर ट्रेड’ अर्थात् स्वच्छ–स्वस्थ र पारदर्शी व्यवसायको पैरवी गरिन्छ । दुधमा पानी, घिऊमा वनस्पति घिऊ, मिनरल वाटरमा कोलिफर्म, मरिचमा मेवाका सुकेका दाना मिसिन्छन् र उपभोक्ता पीडित बन्न पुग्छन् । अनि शिक्षा जस्तो महत्वपूर्ण विषयमा अनेकन अनुचित शुल्क जोडिन्छ । खाद्य पदार्थमा चर्काे मूल्य असुलिन्छ, अनि गुणस्तरहीन सामानको मारमा उपभोक्ता पर्छन् ।
सेवा ठानिने स्वास्थ्य उपचारमा विरामीहरू अझ रोगी बनाउने गरी मूल्य असुलिन्छ । नेपालमा उपभोक्ता अधिकारका विषयमा बेलाबखत बहस हुन्छ, तर हामी चरम उपभोक्ता अधिकार हननका मार खेपिरहनेमा पर्छाै । नेपालजस्तो विकासोन्मुख देशमा उपभोक्ता अधिकारका सवालमा खिल्ली उडाइन्छ भने उपभोक्ता अधिकारका त के कुरा ? पैसा तिर्छु भनेर सैयौ घन्टा लाइनमा उभिँदा समेत इन्धन लगायत अत्यावश्यक सामान नपाउनु हामी नेपालीको दिनचर्या नै भइसक्यो । औषधी नपाएर मृत्यु शैयाका विरामीहरू छटपटिएकादेखि स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा कार्यक्रम नै देशब्यापी रूपमा प्रभावित भएका दृश्यले नेपाली अवस्था छर्लङ्गै पारेकै छ । संसारभरि तेलको भाउ स्वात्तै घटेका बेला पनि हामी नेपालीहरू संसारकै गरिब मुलुकमध्ये परेर पनि संसारभरिकै महँगो मूल्यमा तेल खरिद गर्न वाध्य छौं, त्यो पनि घन्टौ लाइनमा बसेर । आजको दिन सरकार अनि समुदाय, नेपाली उपभोक्ताको यो हविगतप्रति संवेदनशील हुन जरुरी छ ।
दूधमा कोलिफर्म, पुष्टकारीका कथा, सार्वजनिक यातायातका मनपरी भाँडा, स्कूलै पिच्छेको फरक चर्को शुल्क, अस्पतालका हृदय विदारक घटना अनि शुल्कका फेहरिस्तले उपभोक्ता अधिकारप्रति उदासीन नेपाली सरकार र नेपाली औसत जनमानसको कारुणिक अवस्थाको बयान गर्छ । विदेश जाने नेपाली दाजुभाईहरूलाई यहाँका कम्पनीले अनि विदेश पुगेपछि पनि ठगिने हविगतका साथै दिनहुँजसो काठका बाकसमा फर्केका निमुखा नेपालीहरूको दर्दनाक कथाले पनि वैदेशिक कामदारहरूको अधिकार र उनीहरूले एउटा वैदेशिक कामदार भएर जान चाहँदा सहजीकरणका लागि बसेका कम्पनीहरूको उनीहरूप्रतिको जवाफदेहिता र दिएको सेवाको जिम्मेवारीपनाको ब्याख्या गर्दछ ।
कहिले काहीँ मिठाइमा अखाद्य रंगदेखि फोहोरसम्म विषय आएपछि एकाध पटक छापा मारिएका घटना छन् । गुलियो मिठाइमा अखाद्य बस्तु मिसावटले स्वास्थ्यमाथि कुन हदसम्म हेल्चेक्र्याई हुन्छ भन्ने देखाउँछ ।
त्यसमाथि हामी उपभोग्य वस्तुको गुणस्तरका विषयमा जति संवेदनशील हुनुपर्छ, त्यति गम्भीर छैनौ । उपभोग्य बस्तुबाट मर्कामा परेमा कानूनी उपचार खोज्ने प्रचलन पनि बसेको छैन । उपभोक्ता ठग्नेहरूलाई दण्ड–जरिवाना हुन्छ भन्ने तथ्य समाजमा स्थापित हुन सकेको छैन । उपभोक्ताको संरक्षणसम्बन्धी मुलुकमा प्रशस्त कानूनहरू पनि छन् ।
अर्कोतर्फ हरेक बिक्रेता क्रेता हो, अनि हरेक क्रेता बिक्रेता हो । हामीहरू कतै आफ्नो समय या सीप बेच्दछौ भने कतै आएको रकमले बस्तु अनि सेवा क्रय गरेर क्रेता बन्न पुग्छौ । यो उपभोक्ताको वृत्त हो । क्रय र बिक्रय दुवैमा पारदर्शिता जरुरी छ ।
किनेको सामानको या सेवाको चित्तपर्दो मूल्य र गुणस्तर नलागे विरोध गर्न नहिच्किचाऔ । कुनै वस्तु एवं सेवा खरिदपछि बिल माग्न नभुलौ । केही समस्या परेमा गुनासाहरू सरकारी संयन्त्र या सम्बन्धित जिल्ला विकास कार्यलय या खाद्य गुणस्तर कार्यलयमा गरौं ।
विहान उठेर दाँत माँझ्ने ब्रस र पेस्टदेखि लगाएका लुगा, चढेका गाडी अनि हाल्ने इन्धनसम्म अधिकांश विदेशी उत्पादन प्रयोग गर्ने नेपाली भूमिमा स्वदेशी उत्पादन अनि ब्यवसाय र उत्पादनमुखी अर्थतन्त्रको वकालत गर्दै दिगो विकासमा टेवा पु¥याउने संयन्त्रको परिकल्पना साकार होस् ।
हरेक उपभोक्ताहरूलाई शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: