विश्व हातधुने दिवस | अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व हातधुने दिवस | अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस




विश्व हातधुने दिवस विशेष अडियो सामाग्री

सन् २०२० को विश्व हातभुने दिवसको दैलोमा आइपुग्दा निकै अनौठा यूगान्तकारी परिवर्तनहरु भइसकेका छन्, अक्टोबर १५ को यस हात धुने दिवसको यस वर्षको संघार अलिक उदेक लाग्दो छ भन्दा अन्यथा नलाग्ला ।

आर्टिफिसियल इन्टेलिजेन्स, स्पेशशटल लगायतका कुरामा प्रगति गर्दै विश्वव्यापीकरणको अनेक कदम चालिरहेको विश्व यस वर्ष एक्कासी एउटा भाइरसको कहरले पूर्णबिराम लागे झैं भएको छ, अनि विश्व फेरि हात सफा गर्ने, संक्रमणवाट जोगिने अनि अनुहार छोप्न मास्कको सहारा लिने मोडमा आइपुगेको छ । यस वर्ष हातको सरसफाई को परिवेश निकै जरुरी र मननयोग्य छ हैन र ?

विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।


खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ ।

विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएके हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाइन्छ ।

विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छः
शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।

हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुबै हत्केलालाई एकआपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने |
यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने |

यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।

धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला ।

अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस

 


यसवर्ष अर्थात सन् २०२० निकै पृथक र विषम परिस्थितीमा अघि बढ्दै आएको छ, आज यस वर्षको अक्टोबर महिनाको १५ तारिख अर्थात यसदिनमा पछिल्ला वर्षहरु झैं विश्वभरि ग्रामीण मािला दिवस मनाइन्छ । यस वर्ष अन्य वर्षहरु झैं भौतिक उपस्थितीमा कार्यक्रमहरु नहुन पनि सक्दछन् तर सामाजिक सञ्जाल र भर्चुअल भेटघाटमार्फत विश्वभरिका ग्रामीण महिलाका अधिकार उत्थान पैरवी गरिनेछ ।घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्युनिकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उदेश्य हो ।

सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरु नै महत्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र संघको बिचार रहेको छ । नेपाल जस्ता विकासोत्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरुलाई शसक्तिकरणका माध्यमबाट सक्षम नागरिकका रुपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।

"I am Generation Equality: Realizing Women's Rights” सन् २०२० को ग्रामीण महिला दिवसको नारा रहेको छ, यस पुस्तामा नै विधमान लैगिंक असमानतालाई चिरफार गर्दै महिला अधिकारको विगुल फुक्दै यस वर्ष ग्रामीण महिला दिवसले कोभिड १९ को कहरले थप फितलो बनाएको लैगिंक समानताको धरातल उपर पनि प्रश्न उठाउने बताइएको छ । ह्याश्ट्या #Ruralwomen ग आजको दिनका लागि विश्वभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रयोग गर्नेछन् ।

ग्रामीण अर्थव्यवस्थाको विकासका लागि समेत महिलाहरुले ठुलो योगदान गरेका हुन्छन् । खासगरी अन्नबाली उत्पादन पशुचौपाया पालन घरेलु श्रमको व्यवस्थापन तथा जल र खाद्यान्न व्यवस्थापनमा महिलाको महत्वपूर्ण योगदान हुन्छ । यसका साथै घर परिवारमा रहेका बालबालिका जेष्ठ नागरिक र बिरामीहरुको स्याहारमा सवैभन्दा ठुलो जिम्मेवारी महिलाले सम्हालेका हुन्छन्‍ । यिनै भूमिकाहरुका कारण महिलालाई परम्परागत जिम्मेवारीका साथ खुल्ला अवसरहरुमा समान सहभागीताको औचित्य पुष्टि भएको छ । नेपालमा महिला सहभागीताको आवाज निकै बुलन्द बनेको छ । शहरी क्षेत्रमा मात्रै हैन, गाउँघरमा पुग्ने साना-साना विकास निर्माणका योजनाहरुमा समेत महिलालाई अनिवार्य सहभागी गराउनु पर्ने नीतिगत व्यवस्थाले ग्रामीण महिलाहरुमा जागरुकता ल्याएको छ ।

चुलोचौकामा सिमित रहेका महिलाहरुलाई बाहिरी परिवेशबारे जान्ने अवसर मिलेको छ । जबसम्म ग्रामीण महिलाहरुको विकासका लागि प्रयासहरु गरिंदैन, तबसम्म देशको विकास हुदैन । हाम्रो जस्तो देशको विकासका लागि आधाभन्दा बढी संख्या रहेका महिलाहरुको विकास नभई नहुने पक्ष हो । त्यहि भएर ग्रामिण महिलाको समग्र विकासका लागि मानिसहरुमा चेतना जगाउन पनि यो दिवस मनाउनु अत्यावश्यक रहेको छ । महिला पुरुषबीचको विद्यमान सामाजिक असमानता, आर्थिक तथा सांस्कृतिक विभेदहरु कायमै छन् । त्यहि भएर हरेक निकायमा महिला र पुरुषको समतामूलक सहभागिता विना राष्ट्रको सन्तुलित तथा दिगो विकासलाई स्विकार्नै सकिंदैन ।

लैंगिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेषगरी ग्रामीण महिलाहरुको पहुँच समान रुपमा सुनिश्चत हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तिकरणका लागि विश्वव्यापीरूपमा प्रयासहरु नभएका भने होईनन् । विभिन्न आन्दोलन र अभियानहरुका कारण संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्षरुपमा मनाएको थियो । त्यसैगरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरु जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैंगिक समानता, प्रवर्द्धन तथा महिला सशक्तिकरणका लागि प्रयासहरु गरिएकाछन् । सोहीअनुरुप नेपाल जस्ता अल्पविकसित देशहरुमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरु बनाई कार्यन्वयन गरिंदै आएकाछन् ।

- हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.