दर खाने दिन/विश्व आणविक परिक्षण विरुद्धको दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

दर खाने दिन/विश्व आणविक परिक्षण विरुद्धको दिवस




दर खाने दिन विशेष अडियो सामाग्री

दर भनेको के हो?
शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो । यही चलन अहिले आएर दर भएको हो ।

तिजको दर खाने दिन
भोलिको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ । किनभने भोलिको व्रत केवल व्रत मात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।

दरको कुरा गर्दा सामान्यतया पकवानहरूमा ढकने, आलुदम, आलु–कबाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । अझ विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ । माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा, हजुर या भाउजूहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ ।

हुन त आजभोलि महिनौँ अघि देखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ तर तिज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहिआएको मान्यता छ ।

तीज एउटा संस्कार मात्र नभई सभ्यता हो । हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्ने गर्छन् । तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासू, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।

वैदिक हिन्दु सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।

जे होस् आज दर खाने दिनको हामी सबैलाई मुरी–मुरी शुभकामना । हामी सबै जनाको परिवारको सु–स्वास्थ्य र दीर्घायू कायम होस् । अनि भनेजस्तो जीवन–साथी पाइयोस् अनि सम्पूर्ण दिदी–बहिनीहरूको सौभाग्य अटल रहोस् ।

विश्व आणविक परीक्षण विरुद्धको दिवस


सुरु गर्‍यौँ महान् वैज्ञानिक आईन्सटाईनको एउटा भनाईबाटः
"मलाई तेस्रो विश्वयुद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथो विश्वयुद्ध भयो भनें चाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।"

विकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरी आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व विकासको यो पृष्ठभूमिलाई अनि सभ्यताको यो उचाइलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान् वैज्ञानिक आइन्स्टाइनले ?

आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा ?
मानव सभ्यताको आधूनिकिकरणको अभ्यास सङ्गै घोडा, हात्तीको सवार गरी तरबार, धनुष वाण तथा ढालबाट युद्धहरू लड्न सुरु गरेको विश्वले क्रमैसँग बन्दुक, गोला, हवाईजहाज हुँदै आणविक हातहतियारका माध्यमले युद्ध लड्न थालेको इतिहास छ । दोस्रो विश्वयुद्धमै पनि जापानको हिरोसिमा र नागासाकीमा क्रूर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयुद्धले पूर्णविराम पाएको हो । स्मरण रहोस् हिरोसिमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरू उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका विकिरणका कारण विभिन्न स्वास्थ्यलगायतका समस्या र दीर्घकालीन असरहरू अझै पनि छँदै छन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधारणको दुःखद मृत्यु भएको थियो ।

यस्ता हतियारहरूलाई सामूहिक बिध्वशं गर्ने हतियार भनिन्छ, जम्मा ११०० किलोग्राम थर्मोन्यूक्लीएर बलमे १२ लाख टीएनबी शक्ति उत्पादन गर्दै एउटा विशाल अत्याधुनिक सहर नै विकिरण र विस्फोटनका माध्यमले ध्वस्त पार्ने क्षमता राख्दछ ।

आणविक परीक्षण विरुद्ध अन्तर्राष्ट्रिय दिवसको पृष्ठभूमि
२ डिसेम्बर २००९ मा, संयुक्त राष्ट्र महासभाको ६४ औँ अधिवेशनले सर्वसम्मतिले प्रस्ताव ६४ र ३५ पारित गरी २९ अगस्तलाई आणविक परीक्षण विरुद्ध अन्तर्राष्ट्रिय दिवस घोषणा गर्‍यो। यो प्रस्तावले आणविक हतियार परीक्षण विस्फोट वा अन्य कुनै आणविक विस्फोटका प्रभावहरू र आणविक हतियारमुक्त संसारको लक्ष्य प्राप्त गर्ने माध्यमको रूपमा तिनीहरूको अन्त्यको आवश्यकताको बारेमा जागरूकता र शिक्षा बढाउन आह्वान गर्दछू गणतन्त्र काजाकस्तानले २९ अगस्त १९९१ मा सेमिपालाटिन्स्क आणविक परीक्षण साइट बन्द भएको सम्झनामा यो दिवस मनाइन सुरु भएको हो ।

यस वर्षको नारा
The Path to Zero: The Role of the United Nations in Nuclear Disarmament and Non-Proliferation.”
"शून्यको बाटो: आणविक निःशस्त्रीकरण र अ प्रसारमा संयुक्त राष्ट्र सङ्घको भूमिका "

विश्वलाई शान्ति चाहिएको छ ।

भूमध्य रेखाबाट दुवैतर्फको ध्रुवहरूसम्म, प्रशान्त महासागरदेखि मृत सागरसम्म, सगरमाथादेखि सहारा मरुभूमिसम्म शान्ति अनि भातृत्वका नाराहरू गुञ्जने समयको प्रतीक्षामा हामी सबै छौँ ।

एउटा सहर लाई नै क्षणभरमा ध्वस्त पार्न सक्ने विश्वले एउटा सहर लाई नै क्षणभरमा विकसित अनि समृद्ध बनाउन सक्ने प्रविधि किन ल्याउन सक्दैन रु यदि विकास भनेको विनाश नै हो भने प्रविधि र अनुसन्धानको सप्को समातेर डराई(डराई बाँच्नु भन्दा मानवलाई ढुङ्गे युगमै शान्तिसङ बाँच्न प्यारो छ, जीवनको अर्थ बाँच्न पाउनु हो ।

हाम्रो पात्रोको लागि सुयोग ढकाल ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.