‘गङ्गा नदी’ र गङ्गा सप्तमी
हिन्दुहरूको आस्थाको केन्द्र भनेर ‘गङ्गा नदी’ लाई मानिन्छ । धेरै धर्मग्रन्थहरूमा गङ्गाको महत्त्वको वर्णन गरेको पाइन्छ । शुद्धता र पवित्रता निम्ति गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरू माझ भावनात्मक आस्था रहने गरेको छ । गङ्गाको पानी हिन्दुका निम्ति पवित्र जल मानिन्छ । अनि गङ्गा नदीमा अस्तु बगाउँदा पितृ तर्ने विश्वास राख्छन्, हिन्दु धर्मावलम्बीहरू । हिन्दुहरूले स्वच्छता र पवित्र जलमा रूपमा लिँदै देव–पितृ कार्यमा प्रयोग गर्छन् ।
गङ्गाले जीवन र मृत्यु दुवैलाई बगाएकी छिन् । भूमि सिञ्चित गरेकी छिन् । गङ्गामा जीवन छ, अनि जीवनमा गङ्गा छ ।
किन मनाइन्छ गङ्गा सप्तमी ?
गङ्गा सप्तमीलाई धेरै स्थानहरूमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ । यस सप्तमीलाई जनहु सप्तमी भनेर पनि सम्बोधन गरिन्छ । गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरू भेटिन्छन् ।
आजको दिन अर्थात् वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथि मानिन्छ । आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरूको सबै पाप हट्ने र ती मनुष्यहरूलाई मोक्ष प्राप्त हुने मान्यता छ ।
आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गा जललाई आफूले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता छ । आज विशेषतः गङ्गा मन्दिरहरूमा श्रद्धापूर्वक पूजा आराधना गरिन्छ ।
हिमालयलाई मुहान बनाउँदै दक्षिण–पूर्वी कोण हुँदै गङ्गा नदी बहन्छ । गङ्गा नदी बङ्गोप सागरमा मिल्न पुग्छ । जुन नदीले उत्तरी भारतलाई हराभरा बनाएको छ र ठुलो जनसङ्ख्यालाई जीवन दिएको छ ।
आजको दिनको अर्थपूर्ण शुभकामना छ ।
रवि सप्तमी व्रत
के यहाँहरूलाई थाहा छ ?
हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रविबार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ । यस वर्ष आजको दिनमा बडो गज्जबको संयोग छ । गङ्गा सप्तमी आइतबार पर्न गएको छ ।
रवि सप्तमीमा के गरिन्छ ?
यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मन वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्र:
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।
सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवमा अनेक रूपमा पर्छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।
सूर्य भगवानलाई प्रातः कालमा सात्त्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादिदेव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।
उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।
बाह्रकलाले युक्त यस्तो विशेषता भएको भगवान् सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान्, भग, त्वष्टा, विष्णु आदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।
यस्तो व्रत आदि उपासना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रअनुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पीडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पीडा कम हुने र सूर्यनारायणको शुभ–आशीर्वाद प्राप्त हुनेछ ।
विश्व रेडक्रस दिवस
रेडक्रस दिवसको पृष्ठभूमि
आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ ।
रेडक्रसले के गर्दछ?
रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्ध ग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरू खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैयनका सख्यामा घाइतेहरू उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ।
नेपालमा रेडक्रस
नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो । सम्पूर्ण ७५ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ । स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरू विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरू, समुदायका व्यक्तिहरूले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठुलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धता कालागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनर्निर्माण हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनीय भूमिका नेपालमा रहेको छ।
रेडक्रसका मुख्य सिद्धान्तहरू सात वटा रहेका छन् जून यस प्रकार छन्:
१. मानवता
२. निष्पक्षता
३. तटस्थता
४. स्वतन्त्रता
५. स्वयंसेवा
६. एकता
७. सर्वव्यापकता ।
हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थुप्रै नामहरूका अतुलनीय योगदानहरू पनि आउँदछन्, मानव सेवा कालागि जीवन समर्पण गर्ने रेडक्रसका संसारभरका स्वयंसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवा भाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यकता छ । जय होस्, मगंल होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: