के तपाईँलाई थाहा छ ?
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।
युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।
हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ । सुर्तीजन्य पदार्थको खेतीका कारणले धेरै वन विनाश भएको र वातावरण बिग्रेको रेकर्ड पनि छ ।
चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठुलो चुनौती हो । कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसार बासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन के गरिरहेको छ, र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जनतालाई जानकारी गराउँदछ।
सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको पृष्ठभूमि
विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो।
सन् २०२२ को सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको नारा
सन् २०२२ को विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको नारा भएको छ, Protect the environment हो । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसमा यस वर्ष यी पदार्थहरूले मानव स्वास्थ्य र वातावरणमा पार्ने समग्र नकारात्मक प्रभावलाई यस वर्ष प्रकाश पारिनेछ ।
नेपालमा सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि
चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धूम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरू धूम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वाभाविक नै हो ।
नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।
चुरोट, गुट्खा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो,मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस–ट्रे भन्दा पनि गमला अनि फूलको बिक्री बढोस् आउँदा दिनहरूमा । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मर्यादा राखौँ है त ! स्वस्थ्य जीवनको कामना !!!
गोसाईंकुण्ड स्नान आरम्भ
जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड हो । आजको दिनबाट हजारौँ भक्तालुहरू अनेक जनविश्वासका साथ बर्सेनि कुण्डमा स्नान गर्न जाने परम्परा छ । काठमाडौँबाट उत्तरी दिशाको रसुवा जिल्लामा पर्ने पवित्र तीर्थ गोसाईंकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने गर्छ । यसरी दशमीसम्म चल्ने पवित्र स्नानको शृङ्खलालाई दशहरा स्नानका रूपमा पनि लिइन्छ । दशहरा स्नान अवधिभरि सनातन दर्शनका अनुयायीले सखारै उठेर कुण्डमा जाने अनि स्नान गर्ने चलन छ । ज्येष्ठ महिनाको गर्मीमा अनि धानको रोपाइँ सुरु हनुअघिको दशहरा स्नानले कृषि कार्य र आउँदो वर्खायामका लागि तयारी गराउँछ ।
हलाहल विष र गोसाईंकुण्ड को कथा
ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं
मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।
समुद्र मन्थन गरेर निस्किएको विषबाट सारा जगतलाई जोगाउन भगवान् शिवले पिएको त्यो विष घाँटी अड्किएको र त्यो विषसहित निलाद्री पर्वत पुग्नुभएको विश्वास छ । सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान् शिवसमक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए । तर त्यो विष घाँटीमा अड्किएपछि छटपटी शान्त पार्न भौँतारिँदा शिव भगवान् निलाद्री पर्वतमा पुगी त्रिशूल भित्तामा प्रहार गर्नुभयो । त्यसपछि त्यहाँ धारा बनेको र त्यही धाराबाट बगेर आएको पानीले कुण्ड बनेको विश्वास गरिन्छ । त्यही कुण्डमा भगवान् शिवले विषको औडाह शान्त पारी त्यही आफू रहनु भएको धार्मिक विश्वास छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ ।
दशहरा स्नान आरम्भ
पृथ्वी लोकमा गङ्गाको अवतरण र दशहरा स्नान को सुरुवात
ज्येष्ठ शुक्ल प्रतिपदाको महत्त्व अत्यधिक छ । आजको तिथिमा नै वैदिक कालमा भागीरथीले गङ्गाको पृथ्वी लोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गङ्गा देवलोकमा मात्र बहने गरेको तर यसपछि गङ्गाको अवतरण पृथ्वी लोकमा भएको विश्वास छ । यसरी ज्येष्ठ शुक्ल प्रतिपदाको माता गङ्गाको आगमनको तिथिमा तुलसीको वीज रोपेर अनि पवित्र स्नानको शृङ्खलाहरू सुरु गर्ने चलन छ । यिनै स्नानको शृङ्खलालाई दशहरा स्नान भनिन्छ ।
कहिलेसम्म चल्छ दशहरा स्नान ?
प्रतिपदादेखि एकादशीसम्म १० दिन चल्ने पवित्र स्नानका यी शृङ्खलाहरूमा हरेक दिन एक प्रकारको पाप नाश हुने विश्वास छ । यसरी दश दिनमा दश प्रकारका पापहरूबाट मुक्ति पाउने भएकाले नै दशहरा स्नान भनिएको हो । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।
कसैले नदिई कुनै वस्तु लिनु, विना यज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, पर निन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पुर्याउने इच्छा राख्नु र विना कारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
पापहरू बगुन्, पुण्य बढुन् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: