ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्ति: शान्ति: शान्ति: ॥
अर्थात्
"हे भगवान् ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।"
यो संसारमा शान्ति होस्, आदि दैविक शान्ति होस्, आदि भौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस् ।
उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञान रुपी उज्यालो र त्यसको महत्त्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भए पनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठुलो महत्त्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
गुरु पूर्णिमा को पृष्ठभूमि
अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ। यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ।
"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"
अर्थात्
"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान् शंकर हुन्,
गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।"
आफूलाई पढाउने सर, मिस, दाइ, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ, सम्झना गरौँ । असल गुरु र असल शिष्य दुवै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !
भानु जयन्ती
भानुभक्त आचार्यको संक्षिप्त जीवन र खस भाषाको आरोह अवरोह
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित थियो । १५ औँ शताब्दीमा "खस्" राजाहरूको पराजयसँगै "खस्" भाषा पनि ओझेलमा परेको थियो ।
भानुभक्त को योगदान
नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे, यस अर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता र महत्त्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफैँ साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो ।
भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिए तापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यिनको रचनामा समाज र व्यबहारीक्ताको सङ्गम पाइन्छ ।
घाँसीको प्रेरणा
भानुभक्तको जीवनमा एक जना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भए तापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजकालागि केही गरूँ भन्ने भाव नभएको महसुस भएर आफूप्रति ग्लानी पनि लाग्दछ । तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझै पनि नेपाली दलिनहरू भित्र सुरक्षित रूपमा राखिएका छन् । रामायणभित्र रहेका बाल काण्ड, अरन्यकाण्ड, सुन्दर काण्ड, युद्ध काण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले "रामायण"का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसास्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुचि भएका पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसङ्ग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरू पाएपछि बिहे, व्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि सुरु भएको हो । यस अर्थमा आजको दोहोरी र लोकगीतहरूको उद्गम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।
भानुभक्तको घाँसी कविता जस्ताको तस्तै
भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा इनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
भानुभक्तको लय बिलकुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजिब्रोमा छ । उनिपश्चातका अन्य धेरै कविहरूले आजसम्म पनि आफ्ना कविताहरू वाचन गर्न यही लयको प्रयोग गरेका छन् ।
भानु बाजे अर्थात् भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरू अनि नेपाली समाज भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ । भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरू लेखिए । उनलाई केवल अनुवादकको बिल्ला लगाउन चाहने नाङ्गातर्कहरु पनि आए तर ती कुराहरू उनीप्रतिको अन्याय हो ।
भानुभक्त र मोतीराम
एउटा कुरा स्पष्ट छ, हामीले सायद महान् भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझ थप अध्ययन र अन्वेषण गर्न जरुरी छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरू हुन् । युगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरू प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरू मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् ।
भारतमा अध्ययन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरूप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उद्घोष गर्दछ । भानु जयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले विसं १९४१ मा लामो समय भानुभक्तका बारेमा अन्वेषण र सोध गरी छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरू अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।
अमर रहुन् भानुभक्त र उनका रचनाहरू । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्त्व नेपाली जनमा रहिरहोस् |
व्यास जयन्ती
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यी अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौँ ।
गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त पात्र पनि हुन्, महाभारतका भीष्म र ब्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले सत्यवतीलाई विवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फबाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भीष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भीष्मले आफ्नो पिताको वाचा थाहा पाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार वाट हटेर सिंहासनमा कुनै दाबी नगर्ने घोषणा गरेका हुन् ।
गुरु व्यास सत्यवतीका विवाह अघिका पुत्र हुन्, यिनका पिता पराशर हुन् । पराशर र सत्यवतीको आध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तिनापुर दरबार सम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन्, कथेका हुन् । सबै वेद, श्री मद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात् यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरू र नाम छुटाएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।
हरेकको मनमा हरि रहुन्, हरेकको मनले ब्यास पढा्ेस् ।
शुभकामना
हाम्रो पात्रो कोलागि सुयोग ढकाल
Liked by: