हरितालिका तीज व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
हरितालिका तीजको पौराणिक सम्बन्ध
हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।
विवाहित र अविवाहित महिलाहरूको वरदान
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
तीजको नाम कसरी रहन गयो त ?
‘तीज’ शब्द नामकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्यौँ । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दै छौँ । तीज वर्षा याममा निस्कने एक प्रकारको किरा भएको र वर्षा यामको उत्तरार्द्धमा भएको यो चाडको नामकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित भएको पनि पायौँ । अर्कोतर्फ तिहार, त्यो हार भन्नाले उत्कर्षको चाडका रूपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्यो हारबाट तीजको स्वरूपमा आएको कुराहरू पनि पायौँ ।
वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।
तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।
विश्व बेपत्ता विरुद्धको दिवस
२१ डिसेम्बर सन् २०१० मा, संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो प्रस्ताव ६५ र २०९ मार्फत विश्वका विभिन्न क्षेत्रहरूमा गिरफ्तारी, नजरबन्द र अपहरण सहित लागू वा अनैच्छिक बेपत्ताको वृद्धिको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ता, र बेपत्ता भएका साक्षी वा बेपत्ता व्यक्तिका आफन्तहरूलाई उत्पीडन, दुर्व्यवहार र धम्की दिने रिपोर्टहरू प्रति जवाफदेहिता बढाउने अभिप्रायले यस दिवसको श्रीगणेश गरेको हो ।
जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइन्छ। विश्वव्यापी सङ्गठनहरू संयुक्त राष्ट्र र एमनेस्टी इन्टरनेशनलले यो दिवसलाई जबरजस्ती बेपत्ता पार्ने अपराध हो र द्वन्द्वको अवस्थालाई उपकरणको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने बारे जागरूकता बढाउन यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्त्वावधान संयुक्त राष्ट्र सङ्घले महासभाको प्रस्ताव नं।४७÷१३३ मार्फत १८ डिसेम्बर १९९२ मा बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्ने सम्बन्धी एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा घोषणापत्र नै जारी गरेपछि जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यका विरुद्ध औपचारिक बहसको थालनी भएको हो । अझ संयुक्त राष्ट्रसङको महासभाको प्रस्ताव नं ६१र१७७ द्वारा बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई २० डिसेम्बर सन् २००६ मा जारी गरे पछि त अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कानुनद्वारा नै सुनिश्चितता प्रदान गरिएको छ ।
नेपालमा पनि दशकौँ लामो द्धन्दका क्रममा हजारौँ मान्छे बेपत्ता भएको तथ्याकं छ तर युद्ध बिरामको आधा दशक भइसक्दा पनि न्यायको उद्घाटन हुन नसक्नु असाध्यै दुक्खदायी छ । न्यायको प्रतीक्षा सबैलाई छ , अर्थपूर्ण शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: