वाला चतुर्दशी | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

वाला चतुर्दशी




यस चाडको सबैभन्दा रोचक प्रसङ्ग पशुपतिनाथ स्थित विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसंग सम्बन्धित छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका रूपमा लिईन्छ र भक्तालुहरुले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कानमै अाफ्ना कुरा सुनाउन खोज्ने अथक प्रयासहरु हुने गर्दछन् ।


वाला चतुर्दशी विशेष अडियो सामाग्री

अनि जाडो त शुरु भयो त ? दराज, सुटकेश अनि बाकसबाट न्यानो लुगाहरु झिक्नुभयो त ? अब न्याना पहिरनहरूको प्रयोगबाट ज्यान तताउने समय अायो । नियमित गलबन्दि, जुत्ता मोजा, पञ्जा अनि टोपी लाएर हिंड्ने समय हो यो । अब तपाई हाम्रो पात्रोको यो लेखलाई कुनै तातो मरुभुमी या अरब महासागरको किनारमा बसेर पढीरहनुभएको छ या अन्यत्रकतै जाडो ठाँउमै हुनुहुन्छ भने पनि नेपालको सिरेटो, स्याँठ, विहान झर्ने शित, हरीयो मौलाएर सुख्खा बनेको दूबोको शिखाहरु अनि बारीमा रोपिएका आलुका ड्याङ्ग, पिंडालुका गाभा, घ्यू सिमीका लहराहरु अनि भर्खरै धान काटेर गहुँका हरिया गहुँवारी, कोदाका वाला अनि मसुरोका दालका आलीहरुले तपाईंहरुलाई सम्झिंदैछन् । पारिलो घाम प्यारोलाग्ने यस महिनामा एउटा विशेष चाडले आज हाम्रो दैलो ढकढक्याएको छ । आज 'वाला चतुर्दशी' आउनुहोस् आजको यस दिन विशेषको ब्याख्या गरौं।

यस दिनको विशेष महत्व भनेको 'सतविज' छर्नु हो । मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ अनि त्रिवेणीधामहरुमा आज सतविज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । सतविज भन्नाले पितृ उद्दारसंग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य अास्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ ।

सतविज छर्ने चलन ठाँउअनुसार आ-आफ्नै खालका रहेको पाईन्छ र माथी उल्लेख गरिए बाहेकका अन्य अन्नहरू जस्तैः चना, तील, मकैहरुका साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा पनि राख्ने चलन रहेको छ । यसरी सतविज छर्नकालागि चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम बसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो गरी सतविज भर्ने गरिन्छ । यसरी पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

काठमाडौको पशुपतिनाथ अनि यस आसपासका किँरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक वन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घूइँचो अनि मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह अर्थात हजुरबुवा, हजुरआमा या सातपुस्ता भित्रका १३ दिने जोकोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा सम्पन्न गर्नुपर्ने नियम पुरागर्ननसकेमा या कुनै त्रुटीभएमा त्रयोदशीमा जाग्राम बसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले र वाला चतुर्दशीको दिन पवित्र खोलामा तिनपटक डुबुल्की मारेर चोखो भई सतविज छर्नाले पितृ दोषबाट मुक्तिपाउने जनविश्वास रहेको छ । 



यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपिठ पुग्न नसकेको खण्डमा मृतअात्माको नाममा घरमै श्रद्धाकासाथ बत्ति प्रज्जवलन गरेर दूना या टपरीमा राखी माथीबाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या बोहताले छोपेर खोलामा बगाउने चलन छ । यसरी अविरल पानीको धारसंगै बत्ति बगेको खण्डमा पितृले वैतर्नी तरेको र बत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी तर्न नसकेको मान्यता रहि अाएकोछ ।

यस चाडको सबैभन्दा रोचक प्रसङ्ग पशुपतिनाथ स्थित विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसंग सम्बन्धित छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका रूपमा लिईन्छ र भक्तालुहरुले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कानमै अाफ्ना कुरा सुनाउन खोज्ने अथक प्रयासहरु हुने गर्दछन् ।

वाला चर्तुदशी मित्रताको प्रतिकसंग पनि जुटेको छ । वाला नाम गरेको एकजना असुर थिए भने उनका साथी व्रिसलाई राजाले वालालाई मार्नकालागि पठाएका हुन्छन् । वालाले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाइदिने गरेकाले जनताहरुले धेरै दुःख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी वालालाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र रहेको वालाले जस्तोसुकै असुरी कार्य गरेको भएपनि उसलार्इ हत्या गर्न नसक्ने भएकाले श्लेषमान्तक वनमा गएर आदिदेव शिवजीको तपस्या गर्दछन् । भगवान् शिव व्रिसको तपस्याबाट प्रसन्न भएर वालालाई असुरजुनीबाट मुक्त गरिदिन्छन् र व्रिसलाई सतविज छरेर आफ्नो साथी वालालाई पापबाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी सतविज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तका रुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा वाला र व्रिसको यो कथाले प्रष्ट पारेको छ ।

मृतात्माहरुले चिर शान्ति पाउन अनि हाम्रो मित्रता जूगाैं जूग कायम रहोस् । फेरि अर्को विशेष चाड या दिन विशेषको जानकारी लिएर हामी पुनः आउने नै छौ, तबसम्मकालागि नेपालको सर्वाधीक डाउनलोड गरिएको अनि नेपालीहरुले अत्याधिक रुचाउनुभएको मोबाईल सहयात्री हाम्रो पात्रो नबिराई प्रयोग गर्नुहोला । जयहोस् !

हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.