अाजको यस विशेष साताैं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधानअनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
कोसेलीपात अनि दशैंको उपहारका किनमेलहरु भए त ? बैङ्कले नयाँ छापेको नोटहरु दशैंमा टिकाटालोकालागि काठमाडौबाट अाफ्नो थातथलो जानेले लगिदिने चलन पनि छ हैन त ? जे होस दशैंले कहिले नयाँ लुगोको बहानामा त कहिले घोर्लै खसी-बोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठ-मन्दिरहरूमा नौरथा (नवरात्री) अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छरेको छ, कि कसो ?
कतिजना भने परदेशमा गएको वर्षको दशैं सम्झना गर्दे बसिरहनुभएको पनि होला, औंला भाँच्दै कति वर्षदेखि दशैंमा घर जान नपाएको र अब कत्ति वर्ष या महिनापछि घरजाने भनेर पनि बस्नुभएको कति प्रवासी नेपाली हुनुहुन्छ ? यो दशैंमा घर आउन नपाए पनि के भयो र, अर्को दशैं या अर्को वर्ष तपाइले स्वदेशी माटोमा पाइला राख्न अवश्य आउनुहुनेछ, कि कसो ?
आज सबैजनालाई हाम्रो पात्रोमार्फत् नवरात्रीको साताैं दिन फूलपाती सम्बन्धमा विशेष यी शब्दसाम्रगीहरु लगायत गाउँवेसीका यादहरु बोकेर आईयो है साथीहरू ।
सप्तमीको यो विशेष दिनलार्इ फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित 'फूलपाती' भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
अाजको यस विशेष साताैं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
अर्थातः
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलार्इ कोटी-कोटी प्रणाम गर्दछु, मलार्इ शक्ति दिनुहोस् ।।
नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।
लोकतन्त्र अागमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपातीभएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष माैलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ । यस्तो शोभायात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एकटुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन पनि रहेको छ ।
अर्कोतर्फ गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, खरको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियाैंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा माैलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भर्इ यो शरीरले स्वाँस भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।
दशैं बिशेष कुराकानीमा आज हामीसंग हुनुहुन्छ, नेपाली मौलीक बाजा अनि ठेंट भाका तथा लोकगीतको अध्ययन अनुसन्धान तथा संरक्षणमा क्रियाशिल नेपाल तथा विश्व सङ्गीत सागरमा अत्यन्त चर्चित सांगीतीक समुह, 'नाईट ब्याण्ड' ।
यस समुहले आफ्ना गीतहरु बाहेक चलचित्रमा पनि सङ्गीत दिएको छ । 'छड्के' अनि 'सुन्तली' जस्ता चलचित्रमा सफल सङ्गीत दिएको यस समूहको अन्तराष्ट्रिय जगतमा पनि आफ्ना फरक माैलिक साङ्गीतिक प्रस्तुती अनि धूनकालागि अत्यन्त सफल छ ।
गाँउघरमा माहौल पक्कै पनि रोमाञ्चक छ, मुग्लान पसेका साथीभार्इ अाफन्तजन, प्रियजन अाफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन ? शहर बस्नेहरु पनि गाँउठाउँ फर्केका छन् कि छैनन ? कत्तिका आमाबुवा, दिदि वहिनी, दाजू भार्इका मन हर्षले गदगद होलान त कति प्रतिक्षाका अाँखा अोछ्यार्इ पर्खि बसेका होलान् । छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्तानै घरमा भेला भएको हुनपर्दछ । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमैं अतूलनीय छ, आजैबाट खसीबोका काट्ने तथा वलि कार्य प्रारम्भ भइसक्यो ।
चाडवाडहरु नभईदिएका भए हाम्रो जीवन कति निरस हुन्थ्यो होला ? चाडपर्वले जीवनलाई एउटा फरक उर्जारसले भर्नेगर्दछ । यो दशैंपछि म यो गर्छु, त्यो गर्दिन भन्ने हाम्रा स्वप्रतिज्ञाहरु र योजनाहरु पनि छन्, दशैंले सबको इच्छा पूरा गरोस् । यो चाड सनातन हिन्दू मात्रको नभर्इ तमाम नेपालीजनको हो, यसको माैलिक विशेषता भनेकै यहि हो । तडक भडक भन्दा पनि सामान्य जीवनशैली अनि असामान्य आत्मियताका साथ चाड मनाउनुहोला । यो रमाइलो माहौलको शुभकामना ! जय होस् !!
विश्व खाद्य दिवस
बिश्व खाधान्न दिवस, आज एउटा महत्वपूर्ण दिन । भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्नहरु अनि खाधान्नहरु नेपाली घरमा अनि गाँउमा देखिन्छन्, पाइन्छन् । पशुपती नाथको कृपा नै मान्न पर्दछ, अहिलेसम्म नेपाली समाजमा अनि नेपाली माटोमा उव्जनी अनि मछिन्द्रनाथको कृपाले पानीका थोपाहरु ले हरियाली कायम गरिनै रहेका छन् ।
कूल जनसख्याँको ८० प्रतिशत भन्दा बढि कृषीकार्य मा रहेको तथ्याकं भएको दुई दशक अगाडीको नेपालमा अहिले पनि अधिकांश घरधुरि हरु कृषीकर्म संगै माटो खनीखोस्रिएर आफ्ना जिवीका चलाँउदछन् । अझै पनि ६० प्रतिशत भन्दा बढी जनसंख्याका नेपाली कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क रहेको छ । हामीमध्ये पनि धेरैजनाको पारिवारिक पेशा नियाल्ने हो भने एक या दुई पुस्ता अगाडी कृषकको छाप रहेको भेटिन्छ ।
हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभर्इ लड्नकालागि विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास अाउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ अाैं शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनाैति हो ।
बिश्वकै ईतिहास हेर्ने हो भनें पनि दोश्रो बिश्वयूद्ध पछिको समयमा खाधान्नो खोजीमा लाखौं मान्छेहरु एक ठाँउवाट अर्को ठाँउमा अनि एउटा देश वाट अर्कोमा बसाँई सरेको देखिन्छ, बसाँईसराई र खाधान्नको सुरक्षा एउटा गहन समबन्ध भएको तथ्य हो ।
एक ठाँउवाट अर्को ठाँउमा बसाईसर्दा आगमन बिन्दुमा भएको सिमीत खाधान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाधान्न संकट बिकसीत ठाँउमा झन धेरै हुने संभावना छ ।
५० बर्ष अगाडीको शहर र आजको शहर तुलना गर्ने हो भनें उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाधान्न संकट व्यबस्थापनका लागि यो एउटा समस्या हो । प्रविधी, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको बिश्वलाई सुस्तरि खाधान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि बिश्व खाधान्न दिवस महत्वपूर्ण छ । एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावा गरिएको छ ।
संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वर्गहरुमा कृषक, माछा मार्ने मान्छेहरु र घरपालुवा जनावर पाल्ने जस्ता पेशागर्ने मान्छेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृती अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपहरुले धेरै दुःख दिनेगर्दछ । अर्कोतर्फ पृथ्वीको जनसंख्या पनि दिनानूदिन बढ्दो क्रममा छ र बढ्दो जनसंख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परीक विधीहरुलाई पनि जलवायू परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र ब्यवसायीकरण गर्न जरुरी छ । थोरै जमिनमा पनि माैसम तथा वेमाैसमी कृषी गरेर धेरै भन्दा धेरै उत्पादन सक्नु, खाद्यान्नको एकदमै मितब्ययी प्रयोग गर्नु अाजको अावश्यक्ता हो । खाद्यान्न वितरण गर्ने प्रणालीहरु पृथ्वीका तमाम जीवनसम्म समान, सहज रूपले नीतिसम्वत पुर्याउन अावश्यक छ ।
मानव सभ्यतापूर्वनै कृषि एउटा पेशाकारुपमा आएको हो, कृषि कार्यलाई आजभोली माटोसंगको धुलाम्मे, हिलाम्मे फोहोरी पेशा र दुःख पाइने पेशाका रुपमा नयाँ पुस्तालाई व्याख्या गरिन्छ तर वास्तविकता त के हो भने आज कोही किसानले शहरभन्दा पर खेतमा पसिना चुहाएर अन्न रोपिदिएन भने भोली हामी सुकुमार भएकै भरमा थालमा अन्न झर्दैन ।
विशेषतः नेपालमा अझैपनि हामीहरु ब्यवसायीक कृषिमा सक्षम छैनौ र त्यस्का मूल कारण कृषि शिक्षामा विद्यार्थीहरूलार्इ प्रोत्साहन, अाकर्षण गर्न नसक्नु, सरकारी नीतिनिर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरु छन् ।
वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सिमीत गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेशा नबनाएर यसलाई उद्योगका रुपमा परिभाषित गर्न जरुरी छ । हाम्रो कृषि पेशा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेशालार्इ अाफू पनि बाँच्ने र समूदायसम्म गुणस्तरीय उत्पादन पुर्याउने एउटा उदाहरण नबनेसम्म हाम्रो कृषिमा परिवर्तन अाउन सक्दैन ।
सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको छैठौ धेरै निर्यात गर्ने देशहरुमा पर्थ्यो तर विस्तारै नेपालमा कृषिकार्य ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्ने कार्यले शिखर चुम्दै छ ।
नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरुमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । ति खेतहरुको अनि माटोको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन पर्दैनथियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।
संसारमा कूल प्रयोग हुने अन्नमा एकतिहाई खेर जाने अनि फालिने तथ्याङ्क छ, यो दूर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरु भोकभोकै छाला र हड्डीमात्र भएर बाँचिरहेका छन्, जीवनरक्षा गर्नसक्ने खानेकुराहरु हामी खेर फालिरहेका पनि हुन्छौ, अन्नको महत्व बुझ्न जरुरी पनि छ । किनभने जब भोकको कुरा आँउछ, संसारमा कसैले पनि भोकै बस्न नपरोस भन्ने कुरा सबैजनाको प्राथमिकतामा हुनपर्दछ ।
स्कूलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रुपमा कृषि कार्य र औजारहरुका बारेमा शिक्षा दिने बिषय हटाइएको धेरै भयो । आउँदा पुस्ताहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान बढाउन जरुरी छ । अबका दिनमा नेपाली माटोहरु ब्यवसायीक प्रकृतीमा खोस्रिने प्रणाली आउन्, देशमैं कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्नजीवित बनाइयोस् र कृषिलाई सहज कर्जा र पूँजी उपलब्ध हुन सकोस । कृषक, उपभोक्तहरुबिचको मझौलियाहरुको चलखेल कम होस र उत्पादक र उपभोक्ताबिच पारदर्शी सम्बन्ध कायम होस् । भूमीको वितरण पनि उत्पादन सहयोगी रुपमा होस, सिंचाइको सुविधा सरल होस अनि बजार ब्यवस्थापन पनि न्यायोचीत होस् ।
विश्व खाधान्न दिवसको सबैलाई शुभकामना !
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको ।
Liked by: