दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।
आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन्को हार्दिक मङ्गलमय शुभकामना ।
चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन अाजदेखि अाधिकारीक रूपमा छोर्इ नै सक्यो । ल है! अाज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि अाजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।
नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी अाफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ, संयुक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालार्इ माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ, प्रत्येक मुहारमा दशैंको अाकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।
दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनाैट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाअोस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ अाैं शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै अाएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिअाएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगार्इ एउटा कर्मचारीले एक किलोमिटर पार गरि अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलार्इ हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चाैबिस घण्टा नबित्दै काठमाण्डौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ ।
नवरात्रको पहिलो दिन "शैलपुत्री"को विशेषता
लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मर्स्याङ्गदीको दोभानमा गर्इ नुहाई-धुवाई गरि चोखो भर्इ कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ । स्मरणीय रहोस् उक्त मन्दिर कुनैपनि देशभक्त सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ्ग जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ ।
सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा अाउने विज्ञापनहरूमा धेरै पाैष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।
यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी सहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदैजान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ । त्यसैगरि शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर अाकाशै छोए पनि हाम्रो बहुमूल्य माैलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।
यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना ।
विश्व मानसिक स्वास्थ्य
एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ ।
सुस्तरि हुर्कदै जाँदा उसको जीवन वाट बालापन अनि त्यो बालकको छवी हराँउदछ, उ अब हास्नका लागि कारण खोज्दछ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण बिधार्थी हुँदै जान्छ, बिधालय अनि कलेजका कार्य, कामको तनाव, समबन्धको गहिराई अनि जीवनका साध्यहरु ले उसको हाँसो शोषेर लाने गर्दछन् । हाम्रो वयस्क जीवनको कार्यगत अनि बिधार्थी पलको अधिकाशं हिस्सा काम अनि भागादौड मै बित्दछ । चाहे बालक होस् या बृद्ध अनि वयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्दछ । तनाव, सीमा, तुलना, संयम अनि हिनतावोधी धेरै कुराहरु बीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ, हामीले सबै कुरालाई सन्तुलनमा राखेर अगाडी बढ्न जरुरी छ । जीवन केवल उपभोक्ताशीप र उपलव्धीको धरा्ेहर मात्र हैन्, शुन्यता बीच रहेको निरपेक्ष हरेक श्वाँसहरुको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्न जरुरी छ ।
सूर्य उदाँउदा हाँस्न भुलेको मानस लाई आजभोली हाँस्नका लागि बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरु चाहिन्छ, जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफु अगाडि बढ्नु लाई जीत को परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धा बीच अन्योल को परिधी बनाएका छन् अनि तनाव पूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।
यस्ता प्रतिनिधी पात्र बालक जस्ता अरबौं मानिसहरु एक खित्का पनि नहाँसी अनि तनाव वीच नै आफ्ना दिन अनि बर्षहरु गुजारी रहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरु त हाम्रा टोलछिमेक मै दैनिक सुनिन्छ ।
मानसिक स्वास्थको यिनै मुद्धा अनि परिवेशले ल्याएको चुनौतीलाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरु भनेको मानविय संवेदनात्मक सहयोग र भावनात्मक प्रार्थमीक उपचार हरु हुन् ।
जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरुलाई भौतिक प्राथमीक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दूर्घटनामा परेका ब्यक्तिहरुलाई तत्कालै सही मानसिक प्राथमीक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेका छन् । जीवन अनमोल छ र यहाँ महत्वपूर्ण कुराहरु जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो, कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त विर्सिरहेका छैनौ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।
स्मरण रहोस्, हरेक बर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेका छन् , खुशी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थको पहिलो खुडकिलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन्, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलव्धी हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाँया को पछाडी कुद्न बन्द गर्दै जीवनको वास्तवीक मुल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सिमीत जीवनका दिनलाई रमाईलो गरि बिताउने साहस सबैमा होस् ।
मानसीक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायीत्व हो, उनीहरूलार्इ दया होइन माया र स्नेहले भरीएको सामाजिक संरचनाको विकास गराैं ।
--------
हाम्रो पात्रोकालागि सुयोग ढकाल