गोबर्धन पूजा | म्ह:पूजा | नेपाल सम्वत् ११३९ | विश्व रेडियोग्राफी दिवस | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

गोबर्धन पूजा | म्ह:पूजा | नेपाल सम्वत् ११३९ | विश्व रेडियोग्राफी दिवस




प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु हुन् । यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ ।


गोबर्धन पूजा विशेष अडियो सामाग्री

आज गोबर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ ।

गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।

प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ । 

आजको दिनको अर्को महत्वपूर्ण सांस्कृतिक रौनक हो, देउँसी ! अनि तपाईको के छ त योजना ? जाने हैन त देउँसी खेल्न ?

बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिक दस्ता जसलाई देउँसे भनिन्छ । यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउँसी हो । आउनुहोस, हाम्रो पात्रो परिवारको यो तिहारको देउँसी अडियो कोसेली स्वीकार गर्नुहोस् ।

 

देउँसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन् जसलार्इ अन्य सदस्यहरूले  सामान्यतया सामूहिक रूपमा भाकामा साथ दिने गर्दछन् । स्वर अनि छन्दका विषयमा भने भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ । केही देउँसीका सर्वप्रिय भाकाहरु बाहेक धेरै अन्य पंक्तिहरु परिस्थितीपरक हुन सक्छन्, कहिलेकाँही देउँसेको अपेक्षाअनुरुप देउँसीको दक्षिणा नपाँउदा भने यस्तो सङ्गीत संवाद हुने गर्दछन्ः

"यो घर हेर्दा सिंहदरबारजस्तो
आँगनहेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो..."

अन्य प्रशिद्ध पंक्तिहरु....

"केराको थम्वा
हामी यतिजना भाई जम्मा
झिलीमिली झिल्ला
तातो रोटी मिल्ला"
जस्ता पंक्तिहरु हामीमध्ये धेरैको बाल्यकालसँग जोडिएको होला ।

देउँसेले दिएको आशिषले साँच्चिकै विशेष मान्यता राख्दछ....

"यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाए झै मौलाइ रहुन..."
 जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन् । वास्तवमै हामी सबैलाई देउँसेले दिएको आशिष लागोस्, सदभाव बढोस् । आजको दिन रिसराग सबै भूलेर छरछिमेकको घरमा देउँसी खेल्न जाने र सदभाव बढाउने चलन छ । देउँसीवाट संकलित रकमले कुनै सामाजिक कार्य गर्ने या समूहमा भाग लगाएर या वनभोज जाने पुरानो रिती नेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेका छन् ।

---
म्ह:पूजा

 
नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?

म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन

म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

----
नेपाल सम्वत् ११३९

 
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ । नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ । नेवारी समूदायमा भने यस संवतको ब्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।

सबैमा नेपाल संवत् ११३९ को कछला महिनामा स्वागत छ ।

विश्व रेडियोग्राफी दिवस
 

हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेकाहुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । धेरैजनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफर देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स-रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनि सक्रिय छन् ।

आजको दिन विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा लिइन्छ ।
एक्स-रे ले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ, फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्दछ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2D र 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुकासाथै तिनीहरुमा सहज रक्तसञ्चार भए-नभएको कुरा पत्ता लाग्दछ ।

अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुकाबारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ । साथै यसको गलत प्रयोगबाट गर्भमा रहेको बच्चा छोरा हो वा छोरी हो भन्ने पत्ता लगाएर छोरी रहेका गर्भहरुलाई गर्भपतन गराएर गर्भ तूहाउने चलन बढ्दैगएपछि दक्षिण एसियाका केही देशहरुमा लिङ्ग निर्धारणमा रोक पनि लगाइएको छ, नेपालमा पनि यो कार्य दण्डनीय छ ।

रेडिएशन थेरापीमार्फत् अबुर्द रोगी (क्यान्सर)का विरामीहरुलाई उपचारात्मक रूपमा प्रयोग पनि गरिन्छ । रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको छ ।

यसो भन्दै गर्दा रेडियोग्राफीका सबै राम्रा पक्षहरूमात्र छन् भन्ने होइन यसका विभिन्न नकारात्मक पक्षहरु हामीले विर्सन हुँदैन । यसको नियमित सम्पर्कमा अाउने जो कोहिलार्इ स्वास्थ्य समस्या समेत हुन सक्दछ । आजको दिन ति तमाम् रेडियोग्राफरहरुकालागि पनि सर्मपित छ जो दिनरात हाम्रो स्वास्थ्य उपचारकालागि आफू अत्यधिक रेडिएशन क्षेत्रमा उभिइरहेका हुन्छन् । रेडियोग्राफरहरुको स्वास्थ्यलार्इ ध्यानमा राखि स्वास्थ्य संस्थाहरूमा रेडिएशनको उचित ब्यवस्थापन गर्नु अावश्यक छ ।

पहिले पहिले डार्करुमको अध्याँरोमा धुलाइने एक्स -रे हरु अब डिजिटल रुपमा सम्प्रेशण हुन थालेका छन्, स्वास्थ्य उपचारमा रेडियोग्राफिको महत्व र भूमिका बढ्दै गएको छ तथापि यससम्बन्धि अावश्यक थप चेतना बढाउनुपर्छ ।
---
प्रस्तुत सामाग्री हाम्रो पात्रोकालागि सुयोग ढकालले विभिन्न श्रोतहरु, वेबसाईट अनि संस्कृतीविद् सत्यमोहन जोशीको पुस्तक म्हपूजाको अध्यनका अाधारमा तयार पारिएकाे हो । 


Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.