अधिकमास आरम्भः | मत्स्य नारायण मेला शुरु | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अधिकमास आरम्भः | मत्स्य नारायण मेला शुरु




अधिकमास आरम्भः | मत्स्य नारायण मेला शुरु विशेष अडियो सामाग्री

कसरी हुन्छ अधिक मास ? अधिक मासमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?


द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनै: षोडशभिस्तथा ।

घटिकानां चतुष्केन पतति ह्यधिकमासक: ॥ 

सौर्यमास अर्थात् संक्रान्ति देखि मसान्तभित्र दुईवटा औंशी पर्न गए या दुईवटा औंशीको विचमा सूर्य संक्रान्ति आएन भने त्यस महिनालाई अधिकमास भनिन्छ । पौराणिक मान्यता अनुसार यस अधिकमासको अधिपति भगवान् विष्णु भएकाले यस महिनालाई पुरुषोत्तममास पनि भनिन्छ । यो वर्ष आशिकमास असोज २ गतेदेखि ३० गते सम्म रहन गएको छ, त्यसैले यस वर्षको दशैं र तिहार जस्ता महान चाड १ महिना पछि पर्न गएको छ ।


असंक्रान्तिमासोSधिमासस्स्फुटस्स्यात् । 

द्विसंक्रान्तिमास: क्षयाख्य: कदाचित् ॥ 

त्यस्तै कुनै चन्द्रमास भित्र दुईवटा सूर्य संक्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन ४ घडी पछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ, यस्तो संयोग यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ अत: मंसिर, पुस र माघ महिनामा भने पुरुषोत्तम महिना पर्दैन । आश्विन महिनामा अधिक मास अब १९ वर्ष पछि वि. सं. २०९६ सालमा मात्र आउनेछ । वि. सं.२०३९  सालमा चैं अधिकमास असोज र फागुन महिनामा दुईपटक परेको थियो भने त्यस्तै गरी अब आउने वि. सं. २०८५ सालको कार्तिक र चैत महिनामा दुईपटक पर्ने कुरा स्पष्ट छ । 


पञ्चाङ्ग गणना अनुसार सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ, जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको पाइन्छ । 


सनातन धर्ममा अधिकमासको समयमा शुभ र मंगल कार्य वर्जित गरिएको छ । भनिन्छ, अतिरिक्त भएको कारण नै मलिन अर्थात् मलमास भनिएकाले यस्तो समयमा शिलान्यास, गृहप्रवेश, व्रतबन्ध, विवाह, यज्ञ, काम्यकर्म र नयाँ कार्यको थालनी गर्न शास्त्रले निषेध गरेको छ साथै नव विवाहित जोडीहरूको लागिपनि मलमास महत्त्वपूर्ण दृष्टीले हेर्ने गरिन्छ । मलमास भरी नवजोडी सँगै बस्नु राम्रो मानिदैन । विशेषगरी मलमासमा गर्भाधान गर्नुपनि नराम्रो मानिन्छ, यदि यस समयमा गर्भ रहन गए सन्ततिमा मानसिक वा शारीरिक विकृति हुनसक्ने भएकाले गर्भाधान गर्नुपनि राम्रो मानिदैन । 


पौराणिक सिद्धात अनुसार अधिकमासमा सनातनी श्रद्धालुहरूले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, पाठ, ध्यान, भजन, कीर्तन, भगवतभक्ति, श्रीमद्भागवत महापुराण, श्रीविष्णुपुराण लगायत पुरुषोत्तम माहात्म्य आदिको श्रवण, पठन, गर्नाले १० गुणा बढी फलदायी हुने र सम्पूर्ण पापको प्रायश्चित भई समस्त मनोकामना पूर्ण हुने शास्त्रीय वचन रहेको छ । 


यसरी अधिक मासको अन्तिम दिन विष्णु भगवानको ३३ नामले पूजा गरी काँसको थालीमा ३३ वटा मालपुवा राखेर पहेंलो कपडाले ढाकेर मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने शास्त्रोक्त वचन रहेको छ । विष्णु भगवानको ३३ नाम यस प्रकार रहेको छ । 


विष्णवे नमः, जिष्णवे नमः, महाविष्णवे नमः, हरये नमः, कृष्णाय नमः, अधोक्षजाय नमः, केशवाय नमः, माधवाय नमः, रामाय नमः, मधुसुदनाय नमः, अच्युताय नमः, पुरुषोत्तमाय नमः, गोविन्दाय नमः, वामनाय नमः, त्रिविक्रमाय नमः, संकर्षणाय नमः, श्रीकण्ठाय नमः, बैकुण्ठा यनमः, नारायणाय नमः, अनिरुद्धाय नमः, प्रद्युम्नाय नमः, जनार्दनाय नमः, दामोदराय नमः, श्रीपतये नमः, वासुदेवाय नमः, नृसिंहाय नमः, शेषशायिने नमः, पृश्निगर्भाय नमः, उरुक्रमाय नमः, श्रीधराय नमः, गोपीजनवल्लभाय नमः, गोपालाय नमः र गोलोकाधिपतये नमः । अस्तु ॥ 

-ज्यो. प. नारायणप्रसाद दुलाल  





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.