निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यीनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
बालपनको यादहरु हामीहरुसबैसग ताजा छ, हामीमध्य धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । छाला चाउरीपरेका बुढाबुढीहरु देखि भर्खरै जुगाको रेखी पलाउदैगरेका किशोरसम्म, ठूलाठूला दार्शनिक देखि गणितज्ञसम्म सबैजनाहरुलाई बालापन प्रिय छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा हो ।
बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ, पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौं होला, आमाको हातले खुवाएको गाँसहरु चपाउदै हामीले आफै खान सिक्यौं होला, हामीले पहिले 'क' सिक्यौ अनि 'क' बाट कछुवा . विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला र कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला ।
बालापनाका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ भनेका छन् । यस अर्थमा संसारमा एउटा बालक या बालिक भन्दा स्वतन्त्र अरु कोही छैन, निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरु छर्न जरुरी छ ।
मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा बसेर अफिस जाने मान्छे बिचमा सम्पत्तिबिचको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।
पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका बालबालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन । समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धतगर्न पाउँदाको असिम आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।
सानामा प्रशस्त माया पाएका बालबालिकाहरुलेमात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन र बालपनको यो संसार मायामा अडेको छ तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ , अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ ।
यसवर्षको वाल दिवसको दैलो अलिक फरक धारमा आएर अडेको छ, विश्वभरि नै कोरोना त्रास र कोरोना पछिको विश्वमा जीवन घरका भित्ताहरु भित्र र मास्कको सहारामा अघि बढिरहेको छ । बालबालिकाहरु र अभिभावकहरु सबै घरभित्रनै अनि भर्चुअल विश्वको तानाबानामा जीवनको सार बुनिरहेका हछन्, यस अवस्थामा बाल अधिकार संरक्षण र भावी पुस्ताको चाह अनि धारणाको बिकास झनै चुनौतिपूर्ण भएको छ, यस विषयमा हामी सबै सजग हुन जरुरी भएको कुरा यस वर्षको वाल दिवसले पैरवी गरेको छ ।
आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतकालागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो ।
आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा-आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन? के तपार्इ-हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।
द्वादशी श्राद्ध
सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
द्वादशी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।
---
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको
Liked by: