वन उपभोक्ता दिवस | विश्व धुम्रपान रहित दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

वन उपभोक्ता दिवस | विश्व धुम्रपान रहित दिवस




वन उपभोक्ता दिवस विशेष अडियो सामाग्री

वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले
तिरिरि मुरली बज्यो वनैमा
वनमा फूल्यो फूल
यि कालजयी नेपाली लोकभाकाहरु नेपाली जिवनशैली अनि नेपालीपनाका पर्यायहरु हुन् । नेपाली जिवन अनि रहनसहन वन बिना अपुरो छ, त्यसैले त होला यी वनहरु बिना नेपाली मनहरुलाई छुन नसकिने । वस्तुभाउ चराउन देखि घाँसदाउरा अनि स्याउला ल्याउन, पिरती लाउन देखि जडिवुटीसम्मकालागी नेपाली रहनसहनको आधार यिनै वन अनि डाँडाहरु हुन् । आउनुहोस यहि वन अनि वनको संरक्षण लगायतका कुराहरुलाई सुत्र वनाँउन चित्त परेको छ आज जेठ १८ अर्थात वन उपभोक्ता दिवसका दिन् ।

अधिकांश नेपाली गाँउहरुमा एउटा ठूलो रुख नि त्यसको छहारीमा नेपाली पुस्ताहरुले आफ्ना जिवनरेखा कोरेका छन् । वच्चामा हुँदा लुकामारी खेल्ने, रुख चढ्ने अनि लड्ने कथाहरु हामीमध्य धेरैको छ । ति ठूला रुखहरु भने उहिले त्यस ठाँउमा वन रहेको वेला देखिनै भएको कुराहरु सुनिन्छ । धेरैजसो नेपाली गाँउहरु पहिले वन रहेका अनि बस्ती वढाउन फडानी गरिएका प्रमाण यस्ता रुखहरु अनि ईतिहाँसले देखाँउदछ । मान्छे, चरा अनि जनावरहरुको साझा थलो यस्ता रुखहरुको कुञ्ज अर्थात वन लाई संरक्षण गर्नु हामीसबैको जिम्मेवारी हो है ।

तपाँईहामीमध्य कतिजनाले कतिपटक वृक्षारोपण गरेका छौ ? कतिवटा रुखलाई हुर्काएका छौ ? वोटविरुवामा पानी हालेर हुर्काउनसक्नु पनि मानविय दायित्व हो, आजको दिनले यस्ता कुराहरु पनि उठाँउदछ । हामीसबै वनका उपभोक्ताहरु हौ, यो या त्यो ढगंमा वनका हामीसबै आश्रित छौ । वनश्रोत बिना मानवीय आवश्यकताहरु पुरा हुन सक्दैनन् । नेपालमा वनमा रहेको निर्भरताका कारण चाप पनि निकै छ । दाउरा जस्ता काष्ठ पैदावारहरु इन्धनका लागि प्रयोग गर्ने उपभोक्ताहरु उत्तिकै छन् । त्यसैगरी जडिबुटी लगायतका अन्य वनजन्य वस्तुहरु गैरकाष्ठ वन पैदावारका रुपमा प्रयोग गरिन्छन् । सुस्तरि मानव विकासक्रम, वढ्दो आवश्यक्ता अनि शहरीकरणले गर्दा वनहरुको अतिक्रमण अनि अराजक प्रयोग वढदै गएको छ ।

कानुनतः वन ऐन २०४९ अनुसार पूर्ण वा आंशिक रूपमा रूखहरूले ढाकिएको क्षेत्र ‘वन’ हो । यस परिभाषा अनुसार वनले घेरिएको वा वन छेउछाउका पर्ती वा ऐलानी जग्गा, वनभित्रको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत वन हो । वन पैदावार भन्नाले रूख, वनस्पति, पशुपन्छिका अलावा चट्टान, माटो, ढुङ्गा, गिट्टी, बालुवा समेतलाई जनाउँदछ । विश्व मानचित्रमा केवल ४ दशमलव ३० प्रतिशतमात्र वन भुभाग रहेकोमा नेपालको भने कूल क्षेत्रफलको लगभग ४० प्रतिशत वन ले ढाकेको छ, वनको अधिकांश क्षेत्रफल भएकाले पनि नेपाललाई हरियो वन नेपालको धन उखानले पुस्तौ देखि सम्वोधन गर्दै आईएको छ ।

वन श्रोतको उपभोग तथा व्यवस्थापनका दृष्टिकोणले नेपालको वनलाई सात प्रकारले वर्गिकरण गरिएको पाइन्छ । जसमा राष्ट्रिय वन, धार्मिक वन, निजी वन, सामुदायिक वन, कवुलियति वन र आरक्ष तथा निकुञ्जरसरकारद्वारा व्यवस्थापन गरिएका वन पर्दछन् । यि सात प्रकारका वनमा एकसय ८९ प्रकारका पारिस्थिक प्रणाली कायम रहेकाछन् । नेपालमा भौगोलिकताका दृष्टिकोणले वनलाई ६ भागमा वर्गिकरण गरिएको छ । साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल लगायतका वनस्पति पाइने वनलाई उष्ण वन भनिन्छ । त्यसैगरी खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि वनस्पति पाइने वनलाई उपोष्ण वन भनिन्छ । सानो फलाँट, ठूलो फलाँट, बाँझ, गोब्रे सल्ला जस्ता वनस्पतिको वनलाई समशितोष वन भनिन्छ । बाँझ, गुराँस, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि पाइने वनलाई शितोष्ण वन भनिन्छ । त्यसैगरी सब अल्पाइन वनमा बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि वनस्पति र अल्पाइन वनमा झाडीदार धुपी र गुराँसका प्रजातिहरु पाइन्छन् ।

वन विना मानव अस्तित्वको आधार हुँदैन्, पर्यायवरणका पहरेदार वनको संरक्षण भनेकै वन उपभोक्ताको चेतनास्तरको जागरण हो । वनको संरक्षण गर्न सके वातावरणीय अनि प्रतिकुल मौसमको समस्या लगायत प्राकृतीक विपत्तिहरुवाट पनि रक्षा हुन्छ ।
वनप्रती माया रहोस्, डढेलो नलागोस् अनि वृक्षारोपण हामीसबैको जिम्मेवारी हो ।
जरा, रुख, हाँगा अनि वुट्यानहरुको संरक्षण होस्
सबैजनालाई शुभकामना


विश्व धुम्रपान रहित दिवस


 


चुरोटको मुस्लो बिवेकशील प्राणी मान्छेको मुखवाट सररर निस्कँदा कहिलेकाँही यस पंक्तिकारलाई स्वतन्त्रता अनि प्रजातन्त्रको जुझारु प्राणी स्वयम धुँवाको दास भएको भान हुन्छ । आफ्नो शरीरको अनि अमुल्य जीवनको हरेक सर्कोसंग संझौता गर्दै मान्छेहरु यस दासताका लागि किस्ता किस्तामा आफूलाई मारिरहेका हुन्छन्, आज यसै विषयमा कुरा अघि सार्यौं

एउटा कागजको सानो लठ्ठी जस्तो ठुटो, विभिन्न प्याकेटमा आँउछ अनि पहिले-पहिले सालको पातमा बेरीएर बिडीका रुपमा समेत जहाँ त्यहिँ पाउँथ्यो र अझै गाउँघरतिर यदाकदा भेटिनेगर्छ । आगोले सल्काएर धुँवा तान्ने लत बसेपछि संसारका अरबाैं मानिसहरू त्यो धुँवाको दास बनेका छन् अनि त्यो धुँवासंगै पिउँदैछन् आ-आफ्ना जिन्दगी । त्यही ठुँटोसंगै जलाउँदै छन् शुद्ध स्वाँस भर्ने फोक्सो ।

के तपाईलाई थाहा छ ? संसारभर हरेक मिनेट १ करोड चुरोट बिक्री हुन्छ भने हरेक दिन १५ अरब भन्दा बढि कुल बिक्दछ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनकै कारणले हुनेगर्दछ । यस्तै क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वब्यापी तथ्याङ्कगत पूर्वानुमान छ । यूद्ध, हिंसा, अपराध, आत्महत्या, दूर्घटना आदिजस्ता थुप्रै मृत्यूका कारणलाई लगभग दोब्बर पार्दा पनि धुम्रपानका कारणले हुने मृत्यूको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस् संसारभरिका धेरै जसो ठूला-ठूला सुर्तीजन्य व्यवसायहरु औंलामा गन्न सकिने केही मात्र उद्योगपतिहरुको नियन्त्रणमा छ ।

सर्लक्क चुरोट सल्काएर मुखमा ठुटो राखेर धूँवा उडाएपछि हामी सोंच्दछौ कि वाह म त हिरो या हिरोईन भएँ, यो नै मेरो स्वतन्त्रता हो, म गज्जबले सोंच्न सक्छु.... चलचीत्र, गीत, टिभी अनि अन्य सञ्चारका साधनले पनि नजान्ने तरिकाले हामीलाई धुम्रपान सिकाएको छ, सदैव यसले केहि न केहि मात्रामा असंख्य जमातलाई उत्सुक बनाएको छ । स्क्रिनमा ठूलो हातमा प्रष्ट देखिने चुरोटका ठुटाहरु अनि धूँवाका मुस्लोसंगै अभिनय गर्ने पात्रका आनन्ददायी भावहरुले हामीलाई यत्ति नजिक तानिदिन्छ कि स्क्रिनको मुनी सानो अक्षरमा 'धुम्रपान स्वास्थ्यकालागि हानिकारक छ' लेखेका सन्देश देखेर पनि धमिलो लाग्न थाल्छ । चुरोटमा एउटा सफल ब्यक्तित्वको छवी मिसाएर संसारलाई धूँवामा रुमल्याउन एउटा जमात अनि पुस्तानै लागिपरेको छ, यो षडयन्त्रमा हाम्रा प्रिय सदस्यहरू वली चढ्दै छन् । त्यसो त चुरोट नखाने भएतापनि चुरोटको धूँवाको अप्रत्यक्ष असरमा पर्नेहरुको रोग अनि संक्रमणको फेरिहिस्त पनि लामो छ । आमाले गर्भवती हुँदा चुरोट सेवन गरेकाले अथवा चुरोट सेवन गर्ने अन्य पारीवारीक सदस्यले फालेको धूँवाले नवजात शिशु जन्मिदै विभिन्न स्वास्थ्य समस्या लिएर जन्मने अवोध पुस्ताहरुको आफ्नै ब्यथा छ । अनि ब्यथा उत्तिकै पीडादायी छ धुम्रपानका कारणले कम उमेरमै कष्टकर जीवन बिताउँदै धन, मन अनि तनको खती भएकाहरुको कथाहरु ।

आज हामी हाम्रो पात्रोमा एउटा नयाँ धुम्रपान विरोधी अनेक आयामहरुको बारेमा कुरा गर्न चाहन्छौं । धुम्रपान एउटा लत/दूर्व्यसन हो जसमा हामी जो कोही पनि जुनसुकै बेला पर्न सक्दछौं । पुराना सामाजिक मान्यताले धुम्रपानलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको पाइन्छ । तर हरेक नराम्रो लत जस्तै धुम्रपान पनि एउटा नराम्रो लत हो जसबाट छुटकरा पाउन धुम्रपान गर्ने ब्यक्तिलाई स्व-आत्मवलको साथै हामीसबैको विश्वास अनि साथ चाहिन्छ न कि अवहेलना ।

धुम्रपानको पुरानो लतलार्इ आजको भोलीनै छाड्न पक्कै अफ्ठेरो हुनसक्छ, तर विस्तारै यो लतबाट आफूलाई छुटाउन गरिने कसरतहरु महत्वपूर्ण हुन्छ । विश्वभरिका अधिकांश धुम्रपान गर्ने व्यक्तिहरु साथीभाईको लहिलहिमा लागेर सानै उमेरमा अम्मलि बन्न पुग्दछन् । यसअर्थमा आउँदा पुस्ताहरुमा साथीहरुलाई नराम्रा कुराको प्रस्तावमा कसरी नाई भन्ने जस्ता कुराहरु पनि सिकाउनु आवश्यक छ । स्वास्थ्यनै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो हैन पक्कै जिरो बनाउँदछ भन्ने कुराहरु बुझाउन जरुरी छ ।

सुस्तरि धुम्रपानको लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धता का साथै खानपीनको उचित तजविजले यो बानी छुटाउन सकिने अध्यनहरुले देखाएको छ । कहिलेकाँही त चुरोट छाड्नकालागी सल्काँउन अघिनै केही चुरोटका सुर्तीभएका ठुटा भाँचेर आधा मात्र सल्काउने गर्नाले पनि केही मात्रामा भएपनि थोरै चुरोटको धुँवा खाईन्छ, संगीत, खेलकुद अनि साहित्यको रस पनि चुरोटभन्दा कम मिठो हुँदैन है ।

अहिले आएर त चुरोटको प्याकेटमै चुरोट सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा विश्वमैं धुम्रपान सहज देश पनि हो, अन्य देशका तुलनामा यहाँ धुम्रपान गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फित्तलो छ । अहिले आएर सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुनसकेको छैन । धुम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन्, त्यही चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ, जसले गर्दा नयाँ पुस्ताहरु धुम्रपानतर्फ आकर्षित हुन्छन् जुन मानव सिकाइको मनस्थिति अनुसार स्वभाविक नै हो ।

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वकालागि ठूलो चुनौती हो, कागजको पानाभित्र भरीएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यसअर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा आज संसारभरी जनजागरण फैलाईन्छ, सन् १९८७ देखि यस दिनलाई मनाउन शुरु गरिएको हो ।

भावना,स्वास्थ अनि जीवनको धारलाई जीवन देखि मृत्यूसम्म कायम राख्ने अविचलीत अगं संयन्त्र मुटुलाई सुर्तिजन्य पर्दाथको सेवनले थप भार नदियौं, स्वास्थ नै सम्पती हो, हैन र ?यदि तपालाई धुम्रपान गर्नुहुन्छ भने विस्तारै कम गर्दै जाने कोशिस गर्नुहोस्, नत्र तपाईले सेवन गर्ने त्यो धुवाँले विस्तारै विस्तारै तपाईंलाई निल्दै जानेछ ।

दुई हजार भन्दा बढि किसिमका रसायन भएको चुरोटको सेवनले जीवन नसकाऔं है! चुरोट छोड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस-ट्रे भन्दा पनि गमला अनि फूलको बिक्रि बढोस् अाउँदा दिनहरुमा । धुम्रपान विरुद्धको दिवसको मर्यादा राखौ है त ! धूँवा रहित फोक्सो अनि स्वस्थ्य जीवनको कामना !!!

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.