वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ। शास्र अनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबै भन्दा उत्तम दाम मानिन्छ। यी दानहरु भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानको महत्व हुनेगर्दछ। सुन दान भन्दा अन्न दान र अन्नदान र कन्यादान भन्दा पनि अझ विशेष महत्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी हो। वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन रहेको छ। वरुथिनी एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो।
कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ। यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नुपर्दछ। एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ ।
एउटा विदेशी स्वास्थ केन्द्रको अध्ययन अनुसार समय समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितीहरु यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पनि पुष्टि पनि गर्दछ । एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन, नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ ।
यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्यु पश्चात यमलोक नगई सिधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास रहेको छ।
विश्व सम्पदा दिवस
बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, कालखण्ड र सभ्यताका क्रमहरू सञ्चित थिए । सोंच आउँथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने । यि सम्पदा उस्तै रहन्छन् तर म उस्तै रहन्न भन्ने सोच हुन्थ्यो तर राम्रो सम्बर्द्धन अनि सुरक्षा नपाँउदा क्रमशः हामीले हाम्रो सम्पदा अनि पहिचान गुमाइरहेका त छैनौं ?
७२ सालको भुकम्पले ढलाएका हाम्रा पहिचानहरु उठ्न नसकेर चिच्याएर कराएको भान हुन्छ, अव्यबस्थित शहरीकरणले निस्सासिएका हाम्रा इतिहासहरु गुम्सिएर एैठन भएको भान हुन्छ । यि सम्पूर्ण सम्पदा अनि संरचनाको सम्बर्द्धन अनि रक्षा गरेर आँउदा पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्ने गहन जिम्मेवारी यस पुस्ताको हो । आज विश्व सम्पदा दिवस, हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यस दिवस मनाइन्छ र आज नेपालमा पनि विभिन्न कार्यक्रमका बिच यस दिवस मनाउने गरिन्छ ।
अफगानीस्तान बामीयान उपत्यकामा तालिवानले बारुदले उडाएका बुद्धका मूर्तिहरु अब के फेरि ठड्याउन सकिने छ र? समयमै बिचार गर्न नसक्दा आज शहरहरूको जीवन नाम जुन सम्पदाका नामहरूबाट प्राप्त भयो त्यो सम्पदा नै बुच्चो रहेको छ । काष्ठमण्डप बिनाको काठमाडौं, धरहरा बिनाको नेपाली शहर यो पुस्ताले देख्न परेको छ । अझ केही अन्य सम्पदाहरु त ९० सालको भुकम्पले मासेको अनि कहिल्यै उठ्न नसकेको पनि छन्, जुन हामीलाई थाहै छैन् ।
सडक बिस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्नु हाम्रो कर्तब्य हो । आजको दिनमा यि कुराहरुको चेतना सबैमा होस् ।
नेपाल एउटा इतिहास वोकेको प्राचीन शहरहरुको देश हो, बसन्तपुर दरवार त केवल एउटा प्रतिनीधी स्थल मात्र भयो यस्ता धेरै एतिहासिक नेपाली संस्कार तथा सभ्यता बोकेका सम्पदाहरु नेपालका कुनाकन्दरामा छन् । हजारौं वर्ष अनूभूत गरेका अनि देखेका यस्ता सम्पदाहरुलाई हामीले कत्तिको जोगाउन सकेका छौं त ? आज नेपालीहरु सकलले यो प्रश्नको उत्तरमा गहनतापूर्वक सोंच्ने बेला मात्र हैन अबेला नै भएको छ ।
होर्डिगं वोर्डले छेकेका मन्दिरका गजुरहरु हुन या पार्किङ स्थल बनाइएका एतिहासिक सत्तलहरु हुन्; भुकम्पले छरपष्ट पारेका मन्दिरका टुक्राहरु एकै ठाँउमा राखेर अर्को मन्दिर ठड्याउन नसक्नु अनि दरवारहरु उभ्याउन नसक्नु हाम्रो असक्षमता हो या हैन्, मनन गर्ने दिन पनि आजै हो ।
कति सम्पदा त अहिले भवन अनि चौरमा परिणत भइसकेका छन् । ति कुराहरुलाई व्यूँताउन सफल नेतृत्वको उदय होस्, सम्बन्धीत निकाय र सरकारको ध्यान जाओस् ।
विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन शुरु गरिएको हो र यस दिवसमा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना !
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: