असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।
विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन ।
हुन त कोभिड पछिको विश्वमा अझ नेपाली परिपेक्ष्यमा सार्वजनिक यातायातहरु निर्वाध रुपले सञ्चालन हुन नपाएको ६ महिनाभन्दा बढि भइसकेको छ, यसअर्थ यस वर्ष सार्वजनिक यातायातको उपलव्धता अन्य दिनहरुमा पनि अत्यन्त कम छ । विश्वकर्मा बाबाको पूजाको दिन अर्थात असोज १ गतेवाट सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुको मनोवलमा सरकारले कुन ढगंबाट निर्णय गर्नेछ भन्ने कुराचाँही हेरिन बाँकी छ ।
अरु कुरा जे सुकै होस्, मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन , अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।
वास्तु दिवस
विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।
दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।
वास्तुविधा र वास्तुशास्त्रको महत्व विश्वभरि फैलियोस्, कल्याण होस् ।
कन्या संक्रान्ति
आकाश अनि मौसममा दशैंको छापहरु देखिन थालिसकेको छ । बिशाल निलो आकाश मुनी घट्दो गर्मीसंगै शितलता महसुस हुन थालेको छ । बर्षाले चिस्याएका माटाहरु अब सुस्तरि सुक्न थालेका छन् अनि धान खेतका गराहरु प्याट प्याटी चिरा पर्न थालेका छन् । भदौरे धान अनि घैया त पाकिसकेर दशैंकालागि चिउरा समेत कुट्ने तरखर भइसकेको होला । वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी संक्रान्तिहरु। सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो । आजका दिन सुर्य सिंह राशीवाट कन्या राशीमा प्रवेश गर्दछन, यसकारण पनि आज कन्या संक्रान्ति भनिएको हो ।
अरु वर्षहरु झैं सामान्य वर्ष भए अब दशैंमा घर फर्कन गाडीको टिकट, प्लेनको टिकट लगायतका कुराहरुको लाईन बढ्दो हुनेथियो । औंला भाँचीभाँची घर जाने अनि आउने दिन, कार्यलय अनि बिद्यालय बिदाको गणना गरिँदै खुशीको माहोल हुनेथियो तर यसवर्ष त्यस्तो छैन। दशैंकोलागि खसी(बोका, कपडा अनि पारीवारीक जमघटमा लोकप्रिय खेल तासको जोहो भइसक्नुपर्ने समयमा कतिको जागिरको स्थाहित्वमा प्रश्न छ, कतिका व्यापारहरु चौपट भएका छन्, बन्द शटरहरु भित्र सपनाका अंशहरु बोकेर यसवर्ष विश्वभरि नै एउटा त्रास र मन्दीको वातावरण छ । दशैंको रौनक यसवर्ष मास्क अनि घरका छाना भित्र मात्रै सिमीत हुने भय र स्वास्थ सुरक्षा र संक्रमणवाट जोगिने उपायको खोजी अर्कोतर्फछ । भाइरस र जीवीकोपार्जनको यस विश्वव्यापी प्रतिस्पर्धामा सबैलाई सुरक्षित रहन आग्रह छ ।
कुन कोठामा जमरा राख्ने छलफल पनि सधैंजसो दशैंको मुख्य पारीवारीक वहसको बिषय हुनेगर्छ, यस वर्ष जहाँ हुनुहुन्छ त्यहीँ जमरा र उल्लास रोप्नुहोस्, दशैंको रौनक कम होला तर जीवनको रौनक बैग्लै छ, आशा राखौं शिघ्र राम्रो हुनेछ ।
राष्ट्रिय चलचित्र दिवस
यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ, सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरु कोरोना संक्रमणका कारणले बन्द छन्, कहिले खुल्नेहुन थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरु, कामको कमी भएका सिने जनशक्तिहरु अनि आगामी वर्षहरुको अन्यौल पनि उस्तै छ । यसवर्ष विश्वभरिका सिनेजगतलाई धैर्य अनि प्रतिक्षाको खाँचो छ अनि खाँचो छ थोरै आशा र उर्जाको । शिघ्र सबैकुरा सामान्य होस्, क्यामराको लेन्स खुलोस्, लाइटका बत्तिहरु बलुन, एक्शन र कट सुनिन देसखन थालियोस् । हामीहरु सिनेमाघरमा फेरि जान हतारमा छौं, हामीलाई हसाँउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।
त्यसै गरि हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास पनि रहेको छ ।
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।
बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।
त्यसै गरि बिसं २०२४ मा हिजो आज र भोली अनि बिसं २०२८ मा परिवर्तन अनि मनको बाँध आदिजस्ता चलचित्रहरु आए । कहिले राते काँईला को त्रास अनि कहिले शंकर को साथ, कहिले ट्रक ड्राइभरको पिरती त कहिले बसन्तीको ईतिहास संगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अहिले आएर कालो पोथी, निभ्न लागेको दियो, देश खोज्दै जाँदा आदिजस्ता बिश्वव्यापी जानसक्ने नेपाली चलचित्रहरु लाई कहिलेकाँही एरिक भ्यालीको क्याराभान अनि हनीहन्टर जस्ता छोटा तर मार्मिक भिडियोहरुले पनि धेरै सिकाएका हुन् ।
भारतीय दक्ष कलाकार अनि प्रविधी आयात गरेर बनाइने शुरुवाती नेपाली चलचित्रहरु अब ५० बर्ष पछिको अवस्थामा आफैंमा निर्भर र बिश्व गुणस्तरका हुन थालेका छन् । यसै क्षेत्रका अध्यन गरेर आएका अनि बुझेका नेपाली बिज्ञ अनि कर्मठ मष्तिष्क र हातहरुले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
यस बर्ष पनि थाहा आन्दोलनका शुरुवाती रुप चन्द्र बिष्टको जीवनमा आधारित चलचित्र रुदाने लगायत अन्य केही चलचित्रहरु संग दर्शकको ठूलै आशा रहेको छ ।
दर्पण छाँयाका प्रतिबिम्ब नभुलेको नेपाली दर्शकको हृदय कहिले हाकु काले त कहिले थिन्ले लुण्डुपको मर्मस्पर्शी यर्थाथ अभिनय सँग लुटपुटिएको छ । अब त नेपाली चलचित्र ले पनि करौडौंको व्यापार गर्न थालेको छ भने बिदेशमा पनि नेपाली समुदायको मायाका कारणले बजार बिस्तार भएको छ ।
ग्लयामर र मारकाटबाट पर रहेर पनि चलचित्र उत्कृष्ट बन्न सक्छ भन्ने उदहारण प्रसस्त स्थापीत भएको छ । आरामदायी सिनेमा हल देखि सहज बजार व्यबस्थापन सम्म अब नेपाली चलचित्र पनि एउटा मापदण्ड र अनुभवको उपज भएको छ । असोज १ गतेको यो राष्ट्रिय चलचित्र दिवसलाई अझ भव्य रुपमा मनाउन सकियोस्, चलचित्र बनाउने र माया गरेर हेरिदिने सबैलाई शुभकामना ।
यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ, सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरु कोरोना संक्रमणका कारणले बन्द छन्, कहिले खुल्नेहुन थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरु, कामको कमी भएका सिने जनशक्तिहरु अनि आगामी वर्षहरुको अन्यौल पनि उस्तै छ । यसवर्ष विश्वभरिका सिनेजगतलाई धैर्य अनि प्रतिक्षाको खाँचो छ अनि खाँचो छ थोरै आशा र उर्जाको । शिघ्र सबैकुरा सामान्य होस्, क्यामराको लेन्स खुलोस्, लाइटका बत्तिहरु बलुन, एक्शन र कट सुनिन देसखन थालियोस् । हामीहरु सिनेमाघरमा फेरि जान हतारमा छौं, हामीलाई हसाँउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।
हामी छिटै सिनेमा हलमा गएर नेपाली चलचित्र हेर्न चाहन्छौं, संवाद र चरित्रसंगै हाँस्न, रुन अनि भूल्न चाहन्छौं, हामीलाई समाजको बास्तविक चित्रण देखाउने अनि भावनामा बगाउने चलचित्रहरुको खोजी छ , सबैकुरा शिघ्र सामान्य हुनेछ ।
क्यामरा र पर्दा दुबै तर्फ लक्षिन बसोस्
समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस्
नेपाली चलचित्रलाई माया गरौं
पितृ विसर्जन , औंशी श्राद्ध
यसवर्षको पितृपक्षको अन्त भएको छ, औंशीको दिन यस पक्षको अन्तसंगै अब भोलीवाट नयाँ पक्षको शुरुवात र एकमहिना लामो मलमासको शुरुवात हुँदैछ ।
असोज १ गते बिसं २०७७ अर्थात सन् २०२० को सेप्टेम्बर १७ तारिखकका दिन पितृ विसर्जन औंशी पर्न गएको हो । मोक्षका देवता श्री हरिको नाममा यस वर्षको सकल पितृहरुको नाममा गरिएको दान, दक्षिणा र तर्पणहरुलाई संकल्प गरिएको छ । पितृलोकका हाम्रा सकल पितृहरुको हामीउपरको अनुकम्पा कायम रहोस् ।
१६ दिनसम्म धर्तिमा रहेका पितृहरु औंशीका दिन पितृलोकतर्फ विदा हुन्छन्, यसअर्थमा यो पितृ विदा या पितृ विसर्जन औंशी कहलिएको हो ।
श्रद्धा र भक्तिले पितृकर्म गरेका हरेक निष्ठायूक्त परिवारमा पितृहरुले माया र सकारात्मक उर्जाको वर्षा गरिदिन्छन्, यस दिन साबिकका दिनहरुमा झैं औंशीमा देहत्याग गर्नुभएका पितृहरुको श्राद्धकर्म गरिनुका साथै साँझमा पितृ विदाका लागि दिप प्रज्जवलन गर्ने चलन रहन्छ । साँझमा तोरीको तेल र बाटेको कपासको वत्ति बालेर हातमा जल लिएर पितृहरुलाई संझना गर्ने चलन रहन्छ, स्वच्छ मन र कृतज्ञ धारणाले पितृहरुप्रतिको असिम माया र आत्मसाथ नै आजको बिशेषता रहनेछ ।
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको
-----
राष्ट्रिय विज्ञान दिवस
विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाईराख्न आवश्यक छ ।
संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृतिप्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो । आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाँहि सक्दैन । अतः हाम्रो संस्कृति सापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो ।
सन्दर्भः राष्ट्रिय विज्ञान दिवस
विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थाल्यो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने । यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने । यही सन्दर्भमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम परिकल्पना गरिएको हो ।
कार्यक्रम किन ?
‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल सरकारले तय गरेको नारा हो । यही सुन्दर लक्ष्य पूरा गर्न सरकार लागिपरेको देखिन्छ । त्यो समृद्दि हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्नपर्ने देखिन्छ । भलै यो लक्ष्यमा सरकारको यात्रा सहज देखिदैन तर केही ठोस पहलकदमी उपेक्षा गरिहाल्न मिल्ने छैनन् ।
विश्व बैंकका अनुसार चीनले सन् १९९६ मा कूल लगानीको शून्य दशमलव ५६ प्रतिशत लगानी गरेको थियो । सन् २०१५ आइपुग्दा यो लगानी बढेर २ दशमलव ०७ प्रतिशत भयो । तथ्यांक भन्छ, चीनका दश लाख मानिसमा १ हजार १ सय १३ जनशक्ति अनुसन्धानकर्ता छन् ।
भारतले १९९६ देखि २०१५ मा लगानी अनुपातलाई कम्तीमा शून्य दशमलव ६३ प्रतिशत कायम राख्न सफल भयो । युनेस्कोका अनुसार पछिल्लो समय भारतले कुल ग्राहस्थ्य उत्पादनको ० दशमलव ८ प्रतिशत सम्म कायम गरेको छ । भारतमा १० लाखमा १ सय ५६ जना अनुसन्धानकर्मी छन् ।
विकसित देश अमेरिकाले २ दशमलव ७९ प्रतिशत, जर्मनीले २ दशमलव १३ प्रतिशत लगानी गर्दै आएको छ । पश्चिमलाई उछिन्दै उत्तर कोरियाले कुल ग्राहस्थको ४ दशमलव २३ प्रतिशत लगानी कायम गरेको पाइन्छ ।
नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले वि.सं.०६६-०६७ मा गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपाल सरकारले कूल ग्रार्हस्थ उत्पादनको ० दशमलव ३८ प्रतिशत लगानी गरेको छ । विज्ञहरू यसलाई १ प्रतिशत कायम गर्न सुझाव दिदै आएका छन् ।
कति उपलब्धी?
सन् १९१८ मा त्रिचन्द्र कलेजबाट नेपालमा विज्ञान प्रविधिको आधुनिक शिक्षा संस्थागत रुपमा सुरु भयो । त्यसको ३१ वर्षपछि विश्वविद्यालय स्थापना भयो । यसपछि शिक्षा र अनुसन्धान दुबैमा विविधता संस्थागत भयो । विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानून तथा मानविकी लगायतका संकाय र विषयगत विधामा त्रिविले निभाएको भूमिका उल्लेखनीय छ ।
उपलब्धीका फेहरिस्त माग्ने हो भने सरकारी अधिकारीहरुले हालसम्म अन्तर्राष्ट्रिय सम्वन्ध, जनशक्ति उत्पादन (पीएचडी) लगायतले अनुसन्धान र प्रविधि विकासमा टेवा पुगेको बताउँदै आएका छन् । सन् २०१३-१४ सम्म त्रिविले ६ लाख ४ हजार ४ सय ३७ जना विद्यार्थी विभिन्न शैक्षिक तहमा सामेल भएको नास्टको सर्वेक्षणले देखाएको छ ।
सन् १९७७ मा व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र रिकास्ट स्थापना भयो । त्यसको ५ वर्षमा वैज्ञानिक अनुसन्धानलाई सन् १९८२ मा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, रोनास्ट (हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान) स्थापना भयो । सन् १९९५ मा छुट्टै विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय समेत बन्यो । हाल शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको रुपमा गाभिएको उच्च सरकारी संयन्त्रको गति र उपलब्धी केलाउने काम पछि होला । कम्तीमा ’छ’ त भन्न पाएका छौं ।
वैज्ञानिक संस्था
नास्टले वि सं ०६६-०६७ मा गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपालमा ३ सय ३० वटा वैज्ञानिक संस्था छन् । यसमध्ये १ सय ४४ सरकारी, ४४ वटा उच्च शैक्षिक, २३ नीजि तथा गैरनाफामूलक सस्था रहेछन् । बाँकी ३ वटा नीजि र ३ वटा अन्य भएको उल्लेख छ । तर विज्ञान र प्रविधिको अनुसन्धान र विकासमा हाम्रो हैसियत र स्थान कहाँ छ ? सम्भवतः यो प्रश्नले सबैलाई पोल्छ । पोल्नैपर्छ ।
सबै अनुसन्धानमा तल्लिन
उक्त सर्भे रिपोर्टकै आधारमा १८ प्रतिशत संस्था अनुसन्धान र विकासमा लागेको देखिन्छ । ५ प्रतिशतले नीति निर्माणमा सहयोग गरेको उल्लेख गर्दछन् । टाढा नगइकन भन्दा ती सस्था विभाग, मन्त्रालय र कर्मचारी नै हुन् भन्दा हुन्छ । साँच्चै नीजि क्षेत्रको अध्ययन अनुसन्धानलाई सरकारी संयन्त्रले सहायक सहयोगीको रुपमा लिएको छ वा नीति तथा कार्यक्रममा बाह्य क्षेत्रको प्रभावकारी उपस्थिति हामीले स्वीकार गरेका छौं ? यो प्रश्न पनि कमजोर छैन ।
अनुसन्धानको नतिजा
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार ५५ प्रतिशत अनुसन्धानको नतिजा प्रकाशन हुने गरेको उल्लेख छ । ४५ प्रतिशतले वैज्ञानिक अनुसन्धानका प्रतिवेदन प्रकाशन नै गरेको पाइदैन । अन्य संस्थाको तुलनामा अधिकांश सरकारी संस्था वैज्ञानिक अनुसन्धानमा लागेको पाइन्छ । १५ वटा सरकारी वैज्ञानिक संस्थाको बजेटका आधारमा ० दशमलव ३१ प्रतिशत कूल ग्राहस्थ उत्पादन अनुरुप छु्ट्याएको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षणको रिपोटमा उल्लेख छ । अनुसन्धानमा सरकारले गरेको लगानीको उपलब्धीको मापन पनि अर्को रहस्य होला । विज्ञहरु भने अनुसन्धान भनेको विश्वविद्यालयमा गर्दा खर्च कम र उपलब्धी ज्यादा हुने बताउँछन् । तर विज्ञहरुको मत हामीकहाँ लागू हुन्छ वा हुँदैन वा किन हुँदैन त्यसको लेखाजोखा विज्ञहरुले नै गरेका होलान् ।
विद्यावारिधि
विज्ञान प्रविधिको विभिन्न विधामा १ हजार ६८ जनाले विद्यावारिधि गरेको तथ्यांक छ । सबैभन्दा बढी संख्यामा पीएचडी कृषि विज्ञानमा गरेका छन् । त्यसलाई पछ्याउँदै इन्जिनियरिङमा २ सय १३ जनाले पीएडी गरेका छन् । ५ सय ५९ बाम्हण, ३ सय ५८ आदिवासी जनजाती, १ सय २९ मधेसी र ८ दलित छन् । पीएचडी गर्नेमा १० प्रतिशत महिला छन् भने ९० प्रतिशत पुरुष रहेका छन् ।
मानवस्रोत साधन उत्पादन
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार सन् १९९५ देखि २००८ सम्मको शैक्षिक जनशक्ति केलाएका छन् । जसबाट सन् २०१० सम्ममा विभिन्न विधाका ४४ हजार ४४ जना जनशक्ति उत्पादन भएका थिए । विसं २०५१ देखि २०६६ सम्ममा सीटीभीटीबाट उत्पादित कूल जनशक्ति प्रविधिक एसएलसी र डिप्लोमामा क्रमशः ४१ हजार ४१ र ४ हजार २ सय ३४ गरि ४५ हजार २ सय ७९ छन् ।
रोजगारी
रोजगारी सबैभन्दा बढी २४ हजार ५ सय ८० सरकारी संस्थामा कार्यरत छन् । उच्च शैक्षिक संस्थामा ६ हजार ८ सय ५२ र त्यसलाई पछ्याउँदै नीजि गैरसरकारी संस्था ६ हजार ६ सय ३९ जना छन् । कूल ४१ हजार ९ सय ११ ले काम गरिरहेका छन् ।
अनुसन्धानका इकाइ
देशभरका ४९ ठूला कारखानामध्ये ६१ प्रतिशतले आफ्नो छुट्टै अनुसन्धान इकाइ व्यवस्था गरेको देखिन्छ । बाँकी ३९ प्रतिशतमा अनुसन्धान इकाइ छैन वा भेटिन्न। यो हिसाबमा नेपालको औद्योगिक अनुसन्धानको बजार अपेक्षाकृत शक्तिशाली र व्यापक हुनपर्ने पनि लाग्दो हो, लाग्छ। अनुभुत गर्ने कुरा अलग छँदैछ ।
प्रविधिको सुविधा
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार ७४ प्रतिशत सरकारी संस्थामा प्रयाप्त प्रविधि नै छैन । प्रविधि नभएपछि ततअनुकूल जनशक्तिको अपेक्षा पनि स्वभाविक हुँदैन । सरकारी सेवाको गति र रफ्तार मापन गर्न अब टाढा नजाऔं । नीजि तथा गैर नाफामुलक संस्थाको हकमा पनि ७१ प्रतिशतसँग प्रयाप्त उपकरणको अभाव छ । अब तिनै गैरसरकारी अड्डा अपारदर्शी प्रतिवेदन बनाएर आफूलाई गतिवान र प्रविधिमैत्री दावी गर्छन । हामी हल्लाबोलहरुबाट कतिको सावधान छौं सवाल गहन छ ।
चुनौतीहरु
– स्वयम्सेवकीय रुपमा वैज्ञानिक गतिविधिमा युवालाई जागृत गराउनु
– मुलुकमा विज्ञान शिक्षा सुरुवाताको एक सय वर्षको अवधिमा ३ सय ३० वटा वैज्ञानिक संस्था कार्यान्वयन छन् । ति वैज्ञानिक संस्थाबाट अनुसन्धान तथा विकासको संस्थागत विकास हुनसकेको देखिदैन ।
– संस्थागत विकास र पारदर्शिता अर्को अहम चुनौती हो ।
– परिणाममुखी वैज्ञानिक संस्कृति निर्माण गर्नु पर्नेछ । आर्थिक पक्ष सवल बनाउन तथा वैज्ञानिक अनुसन्धानलाई बढवा दिन राज्यको मुख ताक्ने परम्परा तोड्न नीजि क्षेत्रसँग सहकार्य गरी ‘राष्ट्रिय विज्ञान अनुसन्धान कोष’ निर्माण गर्न पर्नेछ ।
– उच्च शिक्षाको नाममा विज्ञान–प्रविधि अध्ययन गर्ने जमात पलायनवादी सोचबाट आक्रान्त छ। पलायनवादी सोचलाई रोक्न र विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउने वातावरण तयार गर्नपर्नेछ ।
हामी चुक्यौ कहाँ
– लक्ष्य सहितको स्पष्ट खाका नहुनु ।
– प्राचीन प्रविधिलाई संस्थागत विकास गरि पाठयक्रम तथा उत्पादनमा ध्यान दिन नसक्नु ।
– राष्ट्रको आवश्यकताभन्दा फरक धारमा अनुसन्धान गरिनु ।
– विषयबस्तुमा प्राचीन विज्ञान तथा व्यवहारिक प्रविधिमा अनुसन्धान गर्ने पाठ्यक्रम समाविष्ट नगर्नु ।
– विज्ञानको उच्चतम प्रयोग नीतिका लागि राष्ट्रिय विज्ञान नीतिको पालना नगर्नु ।
– वैज्ञानिक संस्थाहरुबीच समन्वयको अभाव हुनु ।
– स्वदेशी तथा विदेशी दक्ष जनशक्तिको मुल्यांकन कमजोर हुनु ।
– नीजि क्षेत्रलाई अनुसन्धान र विकासमा लगानी गर्न उत्प्रेरित गर्न नसक्नु ।
– अनुसन्धानका लगानीलाई प्राथकिमता नदिइनु ।
अबको बाटो
अनुसन्धान तथा विकासमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्ने वातावरण तयार गरौं ।
खानीको उत्खनन गरौं । अनुसन्धान निर्देशित बजार, उद्योगधन्दालाई प्रोत्साहित गरौं । विज्ञान प्रविधिमा थप रोजगारीको सृजना गरौं ।
विश्वविद्यालयबाट सेवानिवृत प्राध्यापक भनेका थिंक ट्यांक हुन् । उनीहरुको अनुभव युवामा हस्तान्तरण गर्ने संस्कृति निमार्ण गरौं ।
वैज्ञानिक समुदाय समाजको द्रष्टा हुन् । युवा वैज्ञानिकलाई अनुसन्धानको वातावरण तयार गरौं । स्वयम्सेवकिय रुपमा युवा वैज्ञानिकलाई काम गर्ने वातावरण निमार्ण गरौं । विज्ञान तथा प्रविधि विकासमा युवालाई अगाडि बढाऔं ।
नेपालका उच्च हिमाली भेगमा खगोलीय केन्द्रको विकास गरी पर्यटकीय गन्तव्य तथा अनुसन्धान गरौं । हाम्रा जंगल र वनस्पतिमा हाम्रै एकाधिकार राखौं ।
सम्पदा संरक्षण गरौं । सभ्य संस्कृति निमाण गरौं । हाम्रो कला विज्ञानका आकर्षण हुन् । संस्कृति हाम्रो पहिचान हो । आधुनिक विज्ञानको नाममा यिनलाई नमासौं । चिन्तन बदलौ, विज्ञानको विकास गरौं ।
संस्कृतिभित्रको विज्ञान बुझौं, बुझाऔं । वैदिक गणित तथा आधुनिक गणित सिकौं । परम्परागत प्रविधि अध्यापन गर्ने वातावरण तयार गरौं । परम्परागत प्रविधिको जगेर्ना तथा स्तरोन्ती गरौं ।
सात्विक भोजन खाऔं । शरीर शुद्ध राख्ने विधि अपनाऔं, निरोगी बनौं । नियमित व्यायम गरौं । औषधि खानबाट बचौं ।
आग्रहकर्ता
नेपाल विज्ञान पत्रकार मञ्च, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल भौतिक विज्ञान समाज, नेपाल भौगर्भिक समाज, नेपाल गणित समाज, नेपाल केमिकल सोसाइटी, साइन्स टिचर एशोसियसन अफ् नेपाल, नेपाल जैविकविविधता अनुसन्धान समाज, रोबटिक्स क्लब, बृहस्पति विद्या सदन, बायोटेक्नोलोजी सोसाइटी अफ् नेपाल, भाषा तथा सम्पदा संरक्षण परिषद् नेपाल, इन्टरडिसीप्लिनरी रिसर्च इन्स्टिच्यूट फर सस्टेनेबिलिटी, आरपी फाउण्डेसन, नेपाल इन्फरमेसन सेक्यूरिटी सेन्टर, न्यूज एजेन्सी नेपालसँगको सहकार्यमा रिभोसाइन्स मिडिया ।
-----
हाम्रोपात्रोका लागिः लक्ष्मण डंगोल, रिभाेसाइन्स
Liked by: