नेपाल तीजमय छ, विश्वभर नेपालीहरु जहाँ जहाँ छन् तीजमय माहाेल बनाएर बसेका छन्, कि कसो दिदी बहिनीहरू? टिभी रेडियोमा आएका तीजाम्य गीतहरु, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु अनि बाटाघाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?
तीजलाई कठोर ब्रत भन्दा पनि समर्पणका रुपमा हेर्न जरुरी छ ? आउनुहोस् आज बात मारौं दर खाने दिनका बारे, हुन त आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ ।
शताब्दीऔं देखि महिलाहरुको शौभाग्यकालागि बसिने यो तीजका आयामहरु आजभोली समयसङ्गै आधूनिक हुँदै गएको छ, महिनौ अगाडिदेखि दरखाने चलन, तडकभडक र सामाजिकिकरणको नाममा अतिरञ्जीत गर्दै भड्किलो संस्कार र चलनहरु हामीले देख्दै आएका छौं । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रुपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरि मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनको अधिक्तम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरुप्रति धेरै ख्याल गर्न जरुरी छ ।
निराहार तथा निर्जला रही तीज मनाउनाले फल प्राप्त गरिन्छ भन्ने धारणा सत्य हैन, अविवाहीताकालागि असल पति र विवाहिताको पति अनि परिवारको स्वास्थ्य एकदिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एकअर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरुको पनि उत्तिकै दायित्व छ, हाम्रा आमा, दिदी-बहिनी अनि पत्निहरुको हामीप्रतिको यो सहृदयताकालागि हामीले पनि जिम्मेवारी उठाउन जरुरी छ, आजको दिन वहाँहरुलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ, तपाई अविवाहित पुरुष हुनुहुन्छ भने के थाहा तपाइकालागि पनि कोही कतै भोली व्रत बस्नेवाला हुनुहुन्छ कि ?
भोलीको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ किनभनें भोलीको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी सबैजना नारीहरु एकैठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकारहरु खाने चलन नै दर हो ।
दरको कुरा गर्दा पकवानहरुमा सामान्यतया ढकने, आलुदम, आलु-कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरु सेवन गर्ने चलन छ । अझ बिवाहित चेलीकालागि त दरको महत्व बास्तवमैं अगाढ स्नेहमयी हुन्छ । माईतीको निम्तोमा दर खान पुगेका चेलीहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा लुटपुटिदैं उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखि खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुकालागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरु हुन् । दर खाने दिनका याद गर्दै माईत जान नपाएका चेलीहरुको वेदना पनि गहभरि आँशुसंगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।
यसपाला तीजमा यस्तै भयो आमा
अर्कोपाला तीजमा खोलाले नछेके
यस्ता कैयन भाकाहरु छन् जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिएको छ, शदियौं देखि नेपाली समाजमा ।
यसपालाको बाढिपहिरोले धेरै चेलीका घरहरु अनि धेरैका माईतहरु बगाएको छ अनि संगसंगै तिनीहरुको सपना र आकांक्षाहरु पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरु पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यसबर्ष सबैतिर समान छैन्, यता नाचगान हुँदैगर्दा उता रुवावासी हुँदैछन्, यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दैगर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मिठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरु उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसंग मेल नखान सक्छन् । यस तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौं ।
तीज एउटा संस्कारमात्र नभई सभ्यता हो, हेर्नेले यसलाई नारीवादी चाडका रुपमा हेर्दछन तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भनें तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरुको साझा चौतारीका रुपमा तीजलाई लिन सकिन्छ ।
वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादि पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेलाभई नाचगान गर्दै रमाइलो गर्ने चलन रहि आएको छ ।
जे होस् आज दरखाने दिनको हामी सबैलाई मुरी मुरी शुभकामना, हामी सबैजनाको परिवारको सु-स्वास्थ्य र दीर्घायू कायम होस्, भनेजस्तो जीवनसाथी पाइयोस् अनि सम्पूर्ण दिदि-बहिनीहरुको शौभाग्य अटल रहोस् ।
गुंला पर्व समाप्ति
वर्षाको मादकता यस बर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरु कहिले पागल भएर बर्षिय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ।
नेपाल: सबंतको यो एक्घारौ महिना हो अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा समुदायको बाहुल्यता भएका ठाँउमा भव्यताका साथ मनाइयो। नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ। विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ, र यो वर्ष पनि यो कार्य भक्तालुहरुले नियमित रुपमा गरिरहे।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गरेर सुरु भएको यस पर्वले बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो। । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन् । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ,कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन यस महिना कायमै रह्यो। काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरुको यस दिनमा विशेष पुजा गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।
----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: