Hamro Ghatasthaapana | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

घटस्थापना व्रत | नवरात्र आरम्भ | तुला संक्रान्ति | अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस





दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।


आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिनको हार्दिक मङ्गलमय शुभकामना ।

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन आजदेखि आधिकारीक रूपमा छोई नै सक्यो । ल है! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि आजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।

नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ, संयुक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालाई माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ, प्रत्येक मुहारमा दशैंको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनाैट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।

१६ औ शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगाई एउटा कर्मचारीले एक किलोमिटर पार गरि अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलाई हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चाैबिस घण्टा नबित्दै काठमाण्डौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ ।

लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मर्स्याङ्गदीको दोभानमा गई नुहाई-धुवाई गरि चोखो भ कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ । स्मरणीय रहोस् उक्त मन्दिर कुनैपनि देशभक्त सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ्ग जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ ।

सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पाैष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।

यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी सहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदैजान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ । त्यसैगरि शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य माैलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।

यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना ।|

तुला संक्रान्ति


महीनाको प्रथम दिनलाई संक्रान्ति भनिन्छ भने महीनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला संक्रान्ति अर्थात् सूर्य कन्या राशीबाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा संक्रान्तिहरु हुन्छन् र संक्रान्तिको दिनमा सूर्य एउटा राशीबाट अर्को राशीमा प्रवेश गर्दछ । आजको संक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस संक्रान्तिलाई मत्स्यपूराणमा अत्यन्त महत्वपूर्ण संक्रान्तिकारुपमा ब्याख्या गरिएको पाईन्छ, एक दिन अगाडिबाटै एक छाकमात्र खाएर तुला संक्रान्तिको व्रत बस्ने चलन पनि छ ।

यस दिन बसिने व्रतले चिताएको शुभफल दिने जनविश्वास रहेको छ । वैदिक सनातन् हिन्दु क्यालेन्डर अनुसार आजदेखि सातौं महिना अर्थात कार्तिक शुरु भयो । यस विशेष प्रभावले खेतमा काट्न तयार अवस्थामा रहेका अन्न वालीहरु राम्रो ताैल भएर भित्रिउन र राम्रो हिसाबले कुनैपनि प्राकृतिक विपत्तिविनानै अन्नको भण्डारण गर्न सकियोस भनेर पूजाअर्चना गरिन्छ ।

विस्तारै विस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदैछ होला र दिन छोट्टिदैं गएर साँझहरु सिघ्र आउन थालेका छन् । घरखेतमा धानका वालाहरु लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आउँदैछ जुन महिना धान काटेर दउनी गरेर अन्न भित्राउन भ्याइनभ्याइ हुन्छ ।

यसपटकको वालीनाली सप्रिएका होउन, भकारी भरेर अन्न भित्राउँदै किसानहरुमा हर्ष छाओस् । अषाढ श्रावणमा रोपाँई गरेका धानका बिउँहरुले अब पसिनाको मूल्य दिने समय नजिक आउँदैगर्दा सबैजनामा आशा र मुस्कानको उर्जा सञ्चार होस्, शुभकामना !

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस


आज विश्व समूदायले गरिबी निवारण दिवस भव्यता का साथ मनाउँदैछ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ ।

परमाणु शक्तिमा लाखौं अरबौं डलर खर्च गर्न सक्ने देशहरु ले नागरीकका भोका नागां समस्याहरु लाई समेत सम्बोधन गर्न सकेका छैनन् । २१ सौं शताव्दीको यो पहिलो अर्धदशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस वाँस र कपासको आधारभूत प्रत्याभूति पनि हुन नसक्ने छेकछन्द देखिएको छ ।

हरेक सरकार अनि संसदको प्रथम प्रार्थमिकता भनेकै गरिबी उन्मुलन हुन पर्ने रहेको छ यो गरिबीको उन्मुलन शान्ति, स्थाहित्व र आर्थिक विकासकालागि अत्यन्त महत्वपूर्ण छ ।

विश्व बैंकको तथ्याक साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । बैदेशिक रोजगारीको बिप्रेषणबाट आएको रकम मार्फत बढेको आय लाई दिर्घकालीन अवश्य मान्न सकिन्न, देशमै रोजगार अनि सिपको उजागर गर्दै बजार अनि बित्त व्यबस्थापन जरुरी छ । अर्कोतर्फ कृषीकार्यमा क्रान्ती ल्याएर निर्वाहमुखी भन्दा व्यवसायीक कृषी गरिन जरुरी छ । स्मरण रहोस् दश वर्षे द्धन्द र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मान्छेहरु मा जीवनयापन गर्ने अवसरहरुको कमी देखिएको छ ।

अर्कोतर्फ सरकारी प्रयास स्वरुप गरिबी निवारण कोष मार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामूदायीक संस्थाहरु मार्फत बिभिन्न आय आम्दानीका कार्यक्रमहरु गरिरहिएको छ, गैर सरकारी संस्थाहरु पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनको मार्गमा लागि परेका छन् ।

गरिब र धनीको अव्यक्त खाल्डो विश्वभरि नै मौन लडाईका रुपमा रहेको छ, यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरीब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका बिपन्न समुदाय प्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ ।

आर्थिक विकास बिनाको र गरिवीले पिल्सिएको प्रजातन्त्र लङ्गडो हुन्छ । गरिवी उन्मुलन भएको नेपाल र विश्व हामी सबैले यहि जूनीमा देख्न पाइयोस् ।
सबैको घरमा छाना होस्
मानामा चामलका दाना होस्
कोदो होस् या पीठो होस्
जीवन सबैको मिठो होस्

जय होस्
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.