संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू 'जितिया'लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु 'निर्जला' अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान 'जीतमहान गोँसाई'को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
सर्वप्रथम आज हामी जितिया पर्वको महिमामा संग्रहित र आधारीत व्रतकथाबाट शुरुवात गर्दछौंः
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि-बहिनीका रुपमा जन्मिन्छिन् ।
चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ति केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।
यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।
दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तिनदिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई-खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदिमा गएर स्नान गरी तोरीको तेल र 'खर' चढाउने परम्परा रहिआएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।
दोश्रो दिन जिवितपुत्रीकाको दिन 'अष्टमी' र यसदिनलाई 'खर दिन' पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराई का शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ, तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
त्यसै गरि थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तिनदिनसम्म महत्वका साथ जितीया मनाउँदछन् । भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्दछन् । पारम्परीक गीत, सङ्गीतका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ । प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई 'झ्याम्टा' भनिन्छ । यस समूदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलाई 'जतसरी' भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परीक विशेष गीत छ जसलाई 'दारकाटोनी' भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।
थारु समूदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरु उखेलेर गाउँको बिचमा गाईको गोबरले लिपेर राखिन्छ, यसरी लिपेर तयार पारीएको ठाँउलाई 'थाट' भनिन्छ । बहुभाषीक अनि बहुसंस्कृतीयूक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समूदाय, भाषा अनि संस्कृती मान्नेहरुलाई एकैथलोमा भेला पार्दछ ।
अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको 'झोर भात' अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि 'नोनीको साग' र 'मडूवा' अर्थात कोदोको रोटी हो ।
खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस्, सबै छोराछोरीले आमालाई माया गरुन्, जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एकापसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस्, जितियाको अपार शुभकामना !
विश्व आत्महत्या रोकथाम दिवस
शारीरिक,मानसिक,व्यबहारिकका र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ। हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेको, देशको विभिन्न ठाउहरुबाट निरन्तर आइरहने यो दुखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ।
यसवर्षको अवस्था अत्यन्त पृथक र विषम छ, हामी अधिकतम यस ग्रहवासीहरु घरका चार भित्ताहरु भित्रबाटै संसार नियाल्दै छौं, मास्कभित्र लुकेका अनुहारमा अनेक तृष्णा, वितृष्णा, भय अनि त्रासहरु होलान्, अन्यवर्षहरुका तुलनामा यस वर्ष विश्वभरिनै मानिसहरुमा मनोसामाजिक समस्या अनि आत्महत्याको दर बढेर गएको छ । चैत्रवाट शुरु भएको लकडाउन, शिल्ड अनि आवागमनका रोकटोकले घरभिज्ञ सिमीत भएका नेपालीजनहरुको आजसम्मको डाटा हेर्दा मात्र पनि २२०० बढिले आत्महत्या गरिसकेका छन् । यस वर्षको आत्मत्या रोकथाम दिवसमा संवाद, भावना बाँढ्ने थलो अनि मनका बहहरुलाई फुकाउने नयाँ थलोका बारेमा पैरवी गरिन जरुरी छ । इन्टरनेटले मान्छेले मान्छेलाई विश्वसंग जोडको त छ तर फेरि मान्छेलाई आँफैंसग एक्लो पनि बनाइरहेको छ है, सन्तुलन जरुरी छ ।
हरेक वर्ष विश्वभरि ८ लाख मान्छेले आत्महत्या गर्ने सरदर तथ्याकं भएपनि यसवर्ष त्यो बढेर चुुलिने सबैको आँकडा छ, हरे.क ४० सकेण्डमा एकजना मान्छेले विश्वको कुनै कुनामा आत्महत्या गर्दछ, के यो भयानक तथ्य हैन र ?
कुराहरु बाँढ्ने, सकारात्मक कुराहरु हेर्न अनि सोच्ने र नियमित व्यायामलाई विशेष प्रार्थमिक्ता दिँदै धुम्रपान, मधपान र अन्य लागुऔषधहरुको प्रयोगमा आजै देखि सकेसम्म बन्द गरौं नत्र पनि सकेसम्म कम गरौं । अरुको कुरा सुन्न र आफ्नो कुरा सुनाउन जरुरी छ । ठूला ठूला ब्यापारी देखि सेलीब्रटीहरुसम्म पनि यस आत्महत्याको सोचको चपेटामा परेका हुन्, अन्य रोग र समस्याजस्तै यस मनोवृतिसंग पनि हामी सबै मिलेर लड्नु शिवाय कुनै बिकल्प छैन । श्वाँसमा अनि जीवनमा विश्वास जरुरी छ ।
त्यसैले,आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल मनोचिकित्सक संघले माइतीघर मण्डलामा मैनबत्ती बालेर बढ्दै गएको आत्महत्या विरुद्ध जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्दछ। विश्व स्वास्थ्य संगठन (WHO) को अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।
थुप्रै मानिस हरुको आत्महत्याको कारण दुख खप्न नसकेर भनेर भनिने गरिन्छ। खासमा दुख बिनाको जीवन छिट्टै नै खल्लो हुदै जान्छ। सुख दुख जीवनका दुइ पाटा हुन्, मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुगदछ। मानसिक स्वास्थ्यले ति व्यक्तिहरुलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुदैन उनीहरु आफ्नै जीवन नास गर्न जादैछन। यस किसिमका व्यक्तिहरुलाई भने इनका आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्दछ।
नेपाल जस्तो देशमा भने आर्थिक समस्यापनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ। ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरुले देहत्याग गरेका छन्। कहिले विदेशमा गएका नेपालीहरुले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्न पाइन्छ , कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो वेइज्जत भएपछी समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन्। कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त। यस्ता खबर हरुले सुन्नेको मन खिन्न बनाउछ, चिन्नेलाइ रुवाउछ र अझ आफन्तलाइ त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन।
आत्महत्या को सोच आफु भित्र रहेको एउटा दानवीय सोच हो। जीवनका हरेक खुशी र आँशुलाइ सकारात्मक ढङ्गले लिए यो सोच कहिले हावी नहोला। सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ , असफल व्यक्तिहरुले पनि जुन सुकै मोडमा दोश्रो मौका पाउन सक्छन।
सास प्रति विश्वास राखौ।
अष्ठमी श्राद्ध
सोह्र श्राद्धमा पितृहरुको देहान्त भएको महिना र पक्षलाई विचार गरिन्न, वहाँहरुको देहान्त भएको तिथीका आधारमा सोह्र श्राद्ध अर्थात पितृ पक्षका यि १६ दिनमा सोही तिथीमा वहाँहरुको संझना, दानपुण्य र श्राद्धकर्म गरिन्छ ।
हाम्रो पात्रोमार्फत हरेक सनातन चाडवाड, अवसर अनि तिनको सांस्कृतिक, वैज्ञानीक र सामाजिक प्रार्दुभावहरु हामी लिएर आइरहेका हुन्छौं, सोह्र श्राद्धको यो अष्ठमी तिथीमा पनि यस छोटो सामाग्री प्रस्तुत छ ।
सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।
सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?
अन्य तिथी मा झैं यस तिथीमा देहान्त हुनुभएका पितृहरुहरुको श्राद्धकर्म, संझना, दानपुण्यका साथै सोह्र श्राद्धको अष्ठमी तिथीमा पितृहरुको वैदिक तवरले संझना र अर्चना गरिन्छ ।
आजको विशेष तिथीमा मोक्षको द्धार सबैका लागि खुलोस् । बैतर्नी नदिको भेल सहज बनोस, धर्मको रक्षा होस ।
-----
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: