यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ ।
सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेवाः भाषामा बुङ्ग द्धया का रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ, आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु अनि मत्स्यनाथलाई एउटा योगीका रुपमा यहाँहरु समक्ष परिचित गराउन चाहन्छु ।
प्राचिन बुङ्गमती गाँउ मत्स्यनाथको जन्मथलो मानिन्छ, मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
आजका दिन म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाण्डौका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुङ्गमती गाँउमा राखिने चलन छ ।
योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेंर पनि चिनिन्छ, गो अर्थात पृथ्वी र रख अर्थात रक्षा तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन् जस्लाई दिक्षा योगी मत्स्यनारायणले दिनुभएको हो । गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ, कुनै दिन अर्को आलेखमा यि पितापूत्रको मानस समबन्धको ब्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम समबन्ध परापूर्वकालदेखि नै योगी गोरखनाथसंग रहेको पाइन्छ, गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरुले समयसमयमा गरिआएको पाइन्छ ।
हजारौंवर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ, यसवर्ष कोरोना कहरमा विश्व नै आक्रान्त छ, मत्स्यनारायण र गोरखनाथ योगीहरुका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ, हाम्रो विश्वास छ । वर्षाको कमी नहोस्, अन्नका दाना दानामा पुष्ट सामथ्र्य रहोस्, विश्वको कल्याण होस्, प्राणिमा प्राण होस् ।
विसं २०७२ सालको महाभुकम्पको सम्झना
बिसं २०७२ को बैशाख १२ को भुकम्पको त्रास हाम्रो मनमष्तिष्कमा अझै कसैकसै रुपमा बसेकै छ । घरबाहिर गाडी दौडदा घर केही हल्लिएको अनुभव भएमा मात्रै पनि त्रासले हामीलाई अताल्लीन बाध्य पार्न छाडेको छैन ? आज ५ बर्ष पुरा भैसक्दा बल्ल धरहराको निर्माण शुरु भएको छ।
हजारौंको ज्यान लिने गरि आएको त्यस महाभुकम्प अनि पराकम्पमा प्रकृतीसंग मानव संरचनाहरुले घुँडा टेकेका थिए अनि मानवको समबन्ध र आँक घरका तल्ला हैन मनको सन्तोकले गरेको थियो । अहिले केवल ५ वर्ष पनि नभइकन पून उस्तै संरचना अनि निर्माणको बेथिती देख्दा भने हामीले कति सजिलै अनि छिटै महाभुकम्पलाई भुल्यौं भन्ने पनि भान हुन्छ ।
भुकम्पको नाश, बियोग अनि ज्ञान सबैकुरालाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी देखिन्छ ।
बिसं २०७२ को भुकम्पले केवल संरचना मात्र बिगारेन तर हाम्रो पहिचान अनि एतिहासिक धरोहरलाई पनि उत्तिकै नाश गरेको छ । काष्टमण्डप जसको नामवाट काठमाडौं शहर रहन गयो त्यही संरचनानै एकपलमा धुलोपीठो बनाएको भुकम्पले धरहरालाई पनि ढालेको थियो । भूकम्पले बनाएको बुचो राजधानी आजसम्म पनि शहरवासीसंग आफ्ना पहिचान र मौलिकताको धरोहरको पूर्ननिर्माणको आशामा छन् ।
नेपाल भुकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो, भुकम्पीय जोखिमको उच्चता भएपनि जोखिम न्यूनीकरणका लागी भने खासै पहल भएको पाँईदैन् । भुकम्प कुनै जनाऊ दिएर आँउदैन् तसर्थ अबका दिनमा भुकम्पीय बिनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाई अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।
अब यस वर्ष भने धरहरा लगायत एतिहासिक संरचनाले स्वरुप पाउन । प्रकृतीसंग सामना गर्न नसकेतापनि आउने जोखिम न्यूनिकरणका लागि सबैजना सचेत हुन सकौं । यसअघि ९० सालको भुकम्पका कथाहरु अब ७२ सालका कथाहरुले प्रतिस्थापीत गरेको छ, स्मरण रहोस् जमिनमुनीका प्लेटहरुको चलायमानताका कारणले आँउदा पुस्ताले पनि भुकम्पको जोखिम सहन गर्नै पर्ने छ । भुकम्पलाई टार्न नसकेपनि यसको जोखिम न्यूनिकरणका लागि सबैजना लागि परौं, आजको दिनमा ति ज्ञात अज्ञात मृतआत्माहरुलाई पनि श्रद्धासुमन अर्पण गर्न चाह्यौं जसले भुकम्पमा ज्यान गुमाउनु भयो । बैशाख १२ बिसं २०७२ को संझना ।
----
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: