"असारे मासमा धान रोपेझैँ खेतमा आउ हामी पिरती रोपौँ न"
"असारे मैनामा पानी पर्यो रुझाउने"
यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ । अनि के छ त ? गाँउघरमा मकै गोड्ने काम सकिने बेला भएन र ?
कतै कतै त कलिला दूधे मकै पोलेर खाने बेला नि भइसके होला ? 'वनकर' अर्थात् बाँदरहरुले मकै बारी गिजोलेर किसानहरूलार्इ अत्यन्तै दुःख दिन्छन्, यता मकैको रेखदेख उता धान रोप्ने र बिऊँ जोगाउन भ्यार्इ न भ्यार्इ, वास्तवमा अषाढ त किसानहरूकालागि फुर्सतले नभ्याउने हम्मे-हम्मे नै पर्ने महिना हो ।बादलहरुले आकाशमा एकछत्र राजगर्ने बेला भइसक्यो अनि यी बादलको वर्षाबाट जोगिन घरको छानो र बलेसी नचुहीने पारेर तयार बस्न जरुरी छ ।
तराइमा भने अबको केहि महिना स्थानीय जातीका सिमसारे माछाको महिना हो, खेत खलिहानमा जमेका पानीहरुमा हुर्कने पोठिया, चेंग्रा र गरर्इ, केवर्इ, कोतरा जस्ता माछाहरु तराइमा विशेषतः पाइने स्थानीय जातका माछाहरू लोकप्रिय छन् । नदी, नहर, पोखरी तथा बाँधहरूमा प्रसस्त मात्रामा यो बेला घोँघी, हरीयो घोँघा, गँगटा अनि ईल अर्थात साँप जस्तो देखिने बाममाछाहरू भेटिन्छन्, स्थानीयहरू त्यसलार्इ संकलन गरी घरघरको चुल्होमा फरक स्वाद भर्दछन् । यस महिना घुमराडी ओढेर, धानको बिऊँ रोप्दै अनि खेतको आलीमा परालको आगो सल्काएर माछा र गँगटाहरु पोलेर खाने चलन तराइमा अझै छ ।
त्यसो त पहाड तिर पनि रोपाईमा खेतधनीको घरबाट खेतालालाई पठाईएको बाक्लो पिठोको रोटी, भुटेको मकै, भटमास, तिलको छोप या गुन्द्रुकको अचार र अरिमठ्ठेको खोर्सानी छुस्स टोकेर खानुको आनन्द अभुतपूर्व रहन्छ । असारे पानीको हिलोमा धान रोप्दा या बाटामा हिँड्दा पनि हिलोले औँला खाने हुन्छ, यस महिनामा सरसफाई र आहार विहारको पनि विशेष महत्व हुन्छ । उता बारीमा फर्सी, भिण्डी, साग लगायत अन्य तरकारीहरु लहलहाउन थालेका होलान्, ए साँच्चै ! अषाढमा जुकाहरुको विशेष भय रहन्छ, विचार गरौँ है हरियो परियोबाट पाइला चाल्दा कतै जुकाहरु हाम्रो शरीरमा टाँसिने त हैनन ?
मिथुन संक्रान्तिबाट शुरु हुने अषाढ महिनामा केहि विशेष पर्वहरु पर्दछन् । अषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशुल जात्रा गरिन्छ । त्यसैगरी अषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । अषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामीसबैलाई । बर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेसीका माटाहरु बगेर नजाउन, मानो रोपेर मुरी उब्जनी होस् ! जय होस् !!
विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मान्छेको औसत आयू बढ्दै छ, यसका कारण अग्रज उमेर समुहका मान्छेहरुको सख्याँ वढ्दै छ अनि त्यससंगै बढिरहेको छ उनीहरुमाथि हुने दुव्र्यवहारका घटनाहरु । विश्व जनसख्याँको यो ठूलो हिस्सा बोकेका हिस्सालाई आदर अनि सम्मानका साथ व्यवहार गर्न नसकिने हो भने विश्वमा सकल मानव अधिकार र स्वतन्त्रताको सिद्धान्त नै गलत साबित हुने देखिन्छ ।
अग्रज दुव्र्यवहारका सिमाहरु शारीरीक कुटपीट देखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ । अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन तर बृद्धबृद्धा भएपछि हामीले वहाँहरुलाई गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा पनि हामीले वहाँहरुलाई ठोस पूर्याइरहेका हुन्छौं ।
अझ सम्पती, अशंवण्डा, पेवा फाँट अनि जीवनीको सम्पतीका बिषयमा हुने झगडामा सबैभन्दा दुख्ख र कष्ट पनि अग्रज पुस्ताले नै बेहोर्दछन्, बृद्धबृद्धा प्रतिको बेथीति नेपाली समाजमा पनि कहाली लाग्दै छ ।
नेपाल जस्तो देश अनि निकटतम सामाजिक संरचनामा हामीहरु सबैले अग्रजप्रति देखाएको व्यवहारतर्फ संवेदनशील हुन जरुरी देखिन्छ । आफ्ना कुराकानीमा वहाँहरुलाई समावेश नगर्ने, वहाँहरुका कुराहरु नसुनिदिने, अनावश्यक होच्याएर टीकाटीप्पणी गर्ने, नचाँहीदा नाम राखिदिने र गिज्याउने अनि वहाँहरुलाई अनावश्यक रुपमा कतै जान या केही गर्न रोक लगाउनेकुराहरु पनि दुव्र्यवहार अन्तर्गत पर्दछ । प्रायश बिकसीत देशहरुमा हुने बृद्धबृद्धा स्याहार केन्द्र या सरकारकै तर्फवाट बृद्धबृद्धा सुरक्षा योजना या संरक्षण नीती नभएकले नेपालमा यस मुद्धा अझ गहन छ । देशलाई उमेरभरि उत्पादक्तवमा सहयोग गरेका अनि कर तिरेका बृद्धबृद्धाहरु उमेर पुगेपछि केही थान हजारका नोट समातेर भत्ताको सुक्ष्म गाँसमा बस्नपर्ने बाध्यता छ ।
यता आँउदा पुस्ताले पनि हजुरबुवा या हजुरआमा या बुढाबुढी भइसकेका आमा, काका, काकी लगायत समाजमा अन्यहरुलाई हामीले गर्ने व्यवहारलाई एकफेर पूनरावलोकन भने गर्ने बेला भएकै छ ।
बृद्ध हुनु भनेको घरै बसेर कुर्ने समय हो त ? कि अन्य उमेर समुह जस्तै वहाँहरुलाई पनि घुमफिर गर्ने र मन लागेको ठाँउ जाने अधिकार छ ? यूवा क्लब या बाल क्लब भनें झै बृद्धबृद्धाको पनि क्लब या समुह भएर आँउदा पुस्तालाई सरसल्लाह दिन पाउने वातावरण भए कस्तो हुन्थ्यो होला ? फेरि बृद्ध हुनु भनेको एउटा प्रक्रिया नै हो किनभने सबै मानव आफ्नो जीवनचक्रमा एकदिन बृद्ध हुन त छँदैछ । हरेक वर्ष जुन १५ तारिखमा अग्रजहरुका लागि मैत्रि समाज, राष्ट्र अनि नीतीको वकालत गर्दै विश्व अग्रज दुव्र्यवहार विरुद्धको जागरुक्ता दिवस मनाइने चलन छ , आज त्यसै दिन हो ।
दशैंमा थपक्क गोडामा टाउको दलेर आशिष लिने छोराबुहारीले वर्षभरि ति गोडाका पीडाहरु बुझ्न सक्नु पर्दछ किनभने भोली आफुपनि त्यसै गरि बृद्ध भइन्छ र आफ्ना ठाँउमा अर्को पुस्ता आँउदछ हैन र ? अहिले नेपालमा त झन बैदेशिक रोजगारी अनि आप्रवाशनका कारणले पुराना पुस्ताहरु गाँउघरमा एक्लै बस्न पर्ने बाध्यता छ । यो कुरा गाँउका कमेराले लिपेका घर देखि शहरका ठाँटबाँटहका घरहरुमा पनि लागु हुन्छ । यहाँ छोराछोरी रुँघेर बसेका बृद्धबृद्धाहरु एक कल फोन र च्याटका लागि रुएर बस्ने गर्दछन् । उता बिदेशमा नातीनातीना जन्मेपछि तेल लगाउन र हुर्काउन जाने बृद्धबृद्धाको सख्याँ पनि उत्तिकै बढ्दो छ, नेपाली बृद्धबृद्धा अनि अग्रजहरुलाई यो भन्दा ठूलो परिवेशको आश छ । गाडीको आरक्षण सिट र अपुग भत्ता बाहेक माया, विश्वाश, सहकार्य अनि साथको पनि आवश्यक्ता छ है । बृद्धबृद्धाको पहुँच बढाउने अनि आँशु नझर्ने वातावरण बनाउने कार्य हुरु गरौं आजैवाट। सम्पूर्ण आमा,बुवा, दिदीबहिनी, काकाकाकी लगायत सबै अग्रजहरुमा नमन ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: