आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस




आद्यगुरु शंकराचार्य जयन्ती विशेष अडियो सामाग्री

वैदिक सनातन हिन्दु संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानीकरणका लागि शंकराचार्यको यूगान्तकारी देन छ । भारतवर्षका आधूनिक धर्म संस्थापक शंकराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरु अहिले पनि धर्मशास्त्रहरुमा कालजयी वचन बनेर रहेकाछन् । उनले अद्यात्मदर्शनलाई उजागर गरेका थिए । उनकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शंकाराचार्य अद्वैत वेदान्तका संस्थापक थिए । श्री शंकराचार्यले नेपाल सहित सम्पुर्ण हिमवत्खण्डमा महत्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरु छन् ।

धार्मिक मान्यता अनुसार शंकाराचार्यलाई अादीदेव भगवान शिव शंकरका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार शंकराचार्यका पिता शिवगुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरुका सन्तान भएका थिएनन् । शिवगुरुले सन्तान प्राप्तिको इच्छा पुरा गर्न श्रद्धापुर्वक भगवान शिवको तपस्यामा लीन भए । उक्त तपस्याका प्रभावले भोले शंकरले शिवगुरुलाई सपनामा दर्शन दिए । भगवान् शंकरले वरदान माग्न भने, शिवगुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे; तर भगवान शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।

शिवगुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिंदै उक्त पुत्रका रुपमा स्वयं आफ्नो जन्म हुने बताईदिए । यसरी शिवगुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रुपमा शंकरलाई जन्म दिइन् । त्यहि शिवको अवतारका रुपमा जन्मिएका कारण उनलाई शंकराचार्य भनिएको थियो । शंकराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्वशास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरू शंकराचार्यका नामबाट प्रसिद्ध भए ।

प्रत्येक बर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान हिन्दु दार्शनिक एवं धर्मगुरु शंकाराचार्यको जन्म जयन्ती मनाइन्छ । शंकराचार्यको जन्म ईशापूर्व ७८८ मा भएको थियो भने मृत्यू ९२० मा भएको थियो । शंकराचार्य जयन्तीका अवसरमा मठहरुमा पूजाआजा गरिन्छ । वैदिक विद्वानहरुले वेद पदहरु वाचन गर्दछन् । शोभायात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरु आयोजना गरिन्छन् ।

भारत केरलाको कलाडीमा जन्म भएका शंकराचार्य केवल ३२ वर्ष सम्म मात्र बाँचेको पाइन्छ, यसै बिचमा हजारौं वर्षमा गर्न नभ्याइने कार्य शकंराचार्यबाट भएको पाइन्छ । शंकराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौं किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसंग दिक्षा लिएको पाइन्छ । नर्मदा तटको ४ वर्षको बसाईमा शंकराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम विन्दु हासिल गरेको बताइन्छ । भारतवर्षका ४ कुनामा ४ वटा मठहरु स्थापना गरेर सनातन धर्मको सस्थागत रक्षार्थ शंकराचार्यले गरेको संरचना अझै कायम छ ।

भारतवर्षको लम्वाई र चौडाई हुनेगरि शंकराचार्यले सबैजसो भू-भागमा गएर दिक्षा दिने र त्यहाँ भएका अन्य विद्वानसंग शास्त्रार्थ गर्ने बताइन्छ । यसक्रममा अन्य धर्म या दर्शनमा गएकाहरुलाई पनि सनातन धर्ममा पुनः ल्याउने पावन कार्य शंकराचार्यले नै गरेको इतिहास छ । शंकराचार्य एउटा असल कवी पनि हुन्, सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कवीताहरु शंकराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शंकराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शंकराचार्य अमर रहुन् ।

रामानुजाचार्य जयन्ती
विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ । शंकराचार्य झैं रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन्, यद्धपी रामानुजाचार्यका दर्शनहरु विष्णु केन्द्रित पाइन्छन्, भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णवधारका मार्गदर्शक पनि मानिन्छन् । रामानुजाचार्यका गुरु यादव प्रकाश चाँही अदविता बेदान्तका अनुयायी थिए, स्मरण गरौं यस अदविता बेदान्तचाँही आदिगुरु शंकराचार्यले शुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरु संग मतभेद भएपछि तामील अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनी र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे ।

रामानुजाचार्यको ज्ञानको रिसले अन्य पूजारी र पण्डितहरुले धेरै पटक मार्ने प्रयत्न पनि गरे, कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुाियो तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिएर आए, यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् ।

रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्धान पनि हुन्, यिनले वास्य, ब्रह्म सुत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे र अन्तरमानवाट विष्णु अर्थात श्री हरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्म भएका रामानुजाचार्यका योगदानहरु सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ ।

रामानुजाचार्य जयन्तीको शुभकामना

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस



अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस मनाइन्छ, आउनुहोस् त्यस विषयतर्फ लागौं । मान्छेले आफ्नो अधिकांश समय कार्यवातावरणमा विताउने गर्दछ र बदलिँदो विश्वमा मान्छे आफ्नो काममै झनै व्यस्त अनि सहभागी हुँदै गएको छ । सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घन्टाको एक तिहाई समय हो । अति सामान्य अवस्थामा पनि कामकाजी मान्छेले आफ्नो दिनको एक तिहाई समय काममा व्यतित गर्दछ भने ओभरटाईम या अन्य डेडलाईनमा त झन यसभन्दा धेरै समय कार्यलय या काममा व्यतित हुनेगर्दछ । अझ वैदेशिक रोजगारमा जानेहरु त झनै वर्षौवर्ष विदेशमा बस्दछन्, उनीहरुले सर्वाधिक समयनै कार्यवातावरणमा विताउने गर्दछन् ।

यस्तो मान्छेले सबैभन्दा धेरै समय व्यतितगर्ने कार्य अथवा काममा सुरक्षा र स्वास्थ्यको अवस्था भने राम्रो र गुणस्तरिय हुन जरुरी छ । अहिलेपनि विश्वभरि हजारौं कामदारहरु हानीकारक वातावरणमा अनि जोखिमपूर्ण कार्य गर्न बाध्य छन् । विभिन्न हवाइजहाज कम्पनीले सुरक्षामा लापरवाह गर्दै पुराना र जीर्ण जहाजमा आफ्ना कर्मचारीहरुलाई दैनिक उडाइरहेका छन् भने अर्कोतर्फ जोखिमपूर्ण तवरमा बिभिन्न हानीकारक विकीरणहरुबिचमा कार्य गर्न स्वास्थकर्मीहरु बाध्य छन् । सामान्य कामदार देखि विशिष्ट सीप भएका पेशाकर्मीसम्म काममा असुरक्षा र स्वास्थ्यलाई हानीकारक तवरमा कार्य गर्न वाध्य छन् । नेपालमा पनि दैनिक धेरै वैदेशिक कामदारका शवहरु बाकसमा फर्किन्छ र अधिकांशको मृत्यू काममा असुरक्षा र अस्वास्थ्य वातावरण नै हो ।

धुलोमा मास्क लगाएर सिठी बजाइरहेका ट्राफीक देखि गाडीको ढोकामा झुण्डिएर जाँउ जाँउ भनिरहेका खलासीहरु सम्म जोखिममा कार्य गर्न बाध्य छन् । आजको दिनमा यस्ता धेरै मुद्धाहरुमा छलफल अनि पैरवी गरिन्छ । विभिन्न ट्रेड यूनियन अनि पेशागग अधिकार संघहरु आज सडकमा र्याली अनि सभाका साथ उपस्थित हुन्छन् र यस विषयमा जनजागरण फैलाँउछन् । विश्वभरिमा अन्तराष्ट्रिय श्रम संगठन आइएलओ यस दिन निकै सक्रिय रहन्छ र विभिन्न विश्वस्तरिय कार्यक्रम र सञ्चार साम्रगी सम्प्रेषण गर्दछ । १० मा ८ दशमलव ८ अकं ल्याउने गरि विश्वभरिका कामदारको कार्यवातावरणमा सुधारगर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ ।

नेपालमा पनि स्वदेश अनि विदेशमा कार्यरत नेपालीहरुको कार्य सुरक्षा अनि स्वास्थ्य रक्षार्थ विभिन्न पहल अनि कदमहरु चाल्न शुरु गर्नु पर्ने देखिन्छ भने चालिएका कदमहरुको उचित पैरवी र कार्यान्वयनमा ध्यान दिइन जरुरी छ । मान्छेको ज्यानमा खेलवाड गरेर दिइएका सेवा या बनाइएका उत्पादनभन्दा समतामुलक कार्यवातारवरण र सुरक्षा र स्वास्थ्यको जोखिन न्यूनिकरण नै आजको आवश्यक्ता हो ।

 विश्वभरिका देशहरुले कार्यवातारवरणमा थप मजबुत सुरक्षा र स्वास्थ्यका सयंन्त्रहरु अवलम्बन गर्न जरुरी छ । ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् । जोखिमपूर्ण कार्यमा भएका कामदारहरुको अनि वैदेशिक कामदारहरुको अनिवार्य स्वास्थ्य अनि जीवन बिमा हुनैपर्दछ, कार्यमा पसिना र मेहनत बगोस् जीवन हैन् ।
----
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.