विवाह पञ्चमी | षडानन्द जयन्ती | विश्व एड्स दिवस | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विवाह पञ्चमी | षडानन्द जयन्ती | विश्व एड्स दिवस




विवाह पञ्चमी विशेष अडियो सामाग्री

त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।

सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।

यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

यहि प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् ।

आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साईत देखाउन पर्दैन किनभने आज पौराणीक रुपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसंगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ ।

२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्डभएको ठूलो खण्डकाब्य रामायण यीनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछी गएर वाल्मिकी ऋृषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलीत छ । रामायणका यीनै पंक्तिहरुलाई वाल्मिकी ऋृषिले रामका पुत्रहरु लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणका पंक्तिहरु सुनेपछी रामले आफ्ना छोराहरुलाई ठम्याएका पनि हुन् ।

सीताको अग्निपरीक्षापछी रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारीक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समूदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ ।
सीता अनि रामका कहानी र कथनहरु शदियौं सम्म चलिरहोस् ।
यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।

षडानन्द जयन्ती
नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी अर्थात् बालागुरु षडानन्दको जन्म मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी)का दिन विक्रम सम्वत १८९२ सालमा नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। पिता लक्ष्मी नारायण अधिकारी तथा माता रुक्मिणी अधिकारीको सन्तान षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध भए।

राणा शासनको बेलामा पनि गुरु षडानन्दले पहिलोपटक संस्कृति पाठशाला निर्माण गरेर सर्वसाधारणका छोराछोरीलाई अध्यनअध्यपनको वातावरण शुरु गराए। दुःखले शिक्षा आर्जन गरेका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योगसाधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रुपमा समेत आफुलाई स्थापित गराए। दैवीशक्ति भएको भनि जनताले विश्वास गरेको षडानन्दलाई पछि श्री १०८ को उपाधिले समेत सम्मान गरियो। उनको सम्मानमा कोशी अञ्चलमा पर्ने भोजपुर जिल्लामा अवस्थित एक नगरपालिकालाई बालागुरु षडानन्दको नामबाट नामाकरण गरिएको छ।

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले बालागुरुको सम्मान स्वरुप हरेक वर्ष नेपाली भाषा, संस्कृति, इतिहास र अध्यात्म दर्शनका अध्येता एवं साहित्यमा उत्कृष्ट योगदान भएका व्यक्तिलाई "षडानन्द राष्ट्रिय पुरस्कार"ले सम्मानित गर्ने गरेको छ। आठ वर्षको उमेरमा नै यज्ञोपवीत संस्कारको ज्ञान हाशिल गरेका षडानन्दले भारतको बनारसमा योग साधनाको अध्ययन गरेका हुन्। सन्तशिरोमणि श्री १०८ आबाल ब्रह्मचारी षडानन्दलाई राष्ट्रिय सम्मान स्वरुप २०५१ सालको तत्कालीन मन्त्रिपरिषद्को निर्णयले सात रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो। शिक्षाको लागि उनको अतुलनिय योगदानको सदैव कदर हुनेछ।

विश्व एड्स दिवस


टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ ।

विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुबिधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ ।

आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन गरिन्छ ।

नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामकालागी भारत तथा वैदेशिक रोजगारीकालागि जाने नेपाली यूवाहरुको लश्कर लामै हुने भएकाले अनि ति यूवाहहरुलाई यौनजन्य संक्रमण लगायत एचआईभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनिहरु यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरुमा यो संक्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात जन्मेका धेरै एचआईभी संक्रमित बालबालिकाहरु आज पनि हामीमाझ समाजभित्रै छन् । उनिहरुमध्ये अधिकांश अनाथ छन् र उनिहरुको उचित शिक्षा अनि सहज जीवनयापन अझैपनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको एक्यवद्धता जरुरी छ ।

एचआईभीका कुरा गर्दा संसारभरिनै तिनवटा शुन्य अर्थात थ्रि जिरोको अवधारणा अत्यन्त चर्चित छः
प्रथम शुन्यले एचआईभी संक्रमितको मृत्यूदर शुन्यमा पूर्याउने
दोश्रो शुन्यले नयाँ एचआईभी संक्रमण दर शुन्यमा पूर्याउने
तेश्रोले एचआईभी संक्रमितप्रतिको भेदभाव दर शुन्यमा पूर्याउने कटिवद्धता जनाँउदछ ।

नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका मितीमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कूल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआईभीको जोखिममा धेरै भएका समुहहरुमा मूख्यतः
१. वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरु
२. पुरुषसंग शारीरीक सम्पर्क गर्ने पुरुषहरु
३. सुइद्वारा नशा सेवनगर्ने ब्यक्तिहरु
४. असुरक्षित याैनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरु रहेका छन् ।

एचआईभीसंग नजिकका मुद्दाहरू अनि यसका बहुआयामिक प्रभावलाई कमगर्न नेपाल सरकारले टेकुमा विशेष रुपमा एचआईभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआईभी संक्रमितहरुलाई निःशुल्क रुपमा एआरभी भाईरस ओखती खानपाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।

सुरक्षित यौन जीवनकालागि हरेक स्वास्थ्यचौकी र ओखती पसलमा कण्डम पाईन्छ भने विस्तारै यौन, प्रजजन स्वास्थ्य, अधिकार तथा यौनजन्य संक्रमणहरुमा खुल्लारुपमा कुरा हुन थालेको छ । स्कूलका पाठ्यक्रममा पनि यौनजन्य संक्रमण र एचआईभीका कुराहरु पढाइनाले आँउदा पुस्ताहरु यस्ता जोखिमपूर्ण क्रियाकलापविरूद्ध समयमै सचेत गराउँदछ । आजको दिन विशेषतः एचआईभीकाबारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हाम्रो पात्रोमार्फत हामीले यी महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं, यौनजन्य संक्रमणबाट सबै सुरक्षित रहौं ।
----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.