चैते दशैं | विश्व मुर्ख दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

चैते दशैं | विश्व मुर्ख दिवस




चैते दशैं विशेष अडियो सामाग्री

यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको रौनक चढेको छ ।

दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । 

वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ ।

चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन्, पर्यटकिय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचिन समय देखिनै काठमाण्डौ उपत्यकाका यी देवालयहरुमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ ।

आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् ।

मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।


छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।

असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भईरहोस् । जय होस् !!!!

विश्व मुर्ख दिवस


पूर्व मेची वाट पश्चिम महाकाली चल्ने द्रुत रेलमार्गवाट भर्खरै ईलामवाट रेल चढेर म काठमाडौ अफिस भ्याउन ९ बजे विहानै आईपुगेको छु । नेपालले विश्वकप फुटबल जितेको समाचार त तपाँईले थाहा पाईहाल्नुभयो होला, अनि आज भर्खर विदेशमा रहेका नेपाली दुतावास अगाडी विदेशी हरुको प्रदर्शन रहेको जानकारी प्राप्त भएको छ । नेपाली भिसा लिन अत्यन्त गाह्रो भएको उनिहरुको गुनासो छ ।

हाहा पत्याउनुभयो । नेपालको सर्वाधीक डाउनलोड भएको मोबाईल एप्स हाम्रो पात्रो आज अप्रिल फूल अर्थात विश्व मुर्ख दिवसको शुभकामना दिन चाहन्छ, हाम्रा सबैजना प्रयोगकर्ताहरुलाई । अप्रिल फूल अर्थात अप्रिल महिनाको प्रथम तारीख, आज विहानै देखि विभिन्न बहानामा झुक्याउने, ठट्टा गर्ने अनि रमाईलो गर्ने चलन छ है । सावधान रहनुहोला, विहानै गोठमा भएको गाई फुकेर पारी गाँउमा अर्काको कान्लामा चर्दै छ भनेर सुनाएको भरमा हाम्रा गाँउका माईला बाजे आफ्नो गोठ नहेरि सखारै दोडिएछन् । बुढो ज्यान, थाकेको शरीर तर पनि दुहुनो गाई हराउला भन्ने तर्कना, त्यस वर्ष बाजेलाई अप्रिल फूलले विहान विहानै छोएको थियो ।

रमाईलो आफ्नो ठाँउमा छ तर यसका नराम्रा पक्षहरु पनि आफ्नै ठाँउमा छ । अप्रिल फूललाई बेमौसम मजाकको गैरजिम्मेवार भाँडो मान्ने केही अबुझहरुका कारणले अप्रिल फूलको नमिठो याद पनि भएको हुनसक्छ । ज्यूँदै मान्छेलाई मर्यो भन्ने अफवाह फैलाईदिने, नभएको विपत्ति आईलाग्यो भनेर हल्ला मचाईदिने अनि अन्य कुराहरुमा हाहाकार मचाईदिने भने यस दिनका नराम्रा पाटाहरु हुन् । हाम्रो पात्रो प्रयोगकर्ता तपाई भने सचेत रहनुहोला ।

यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिईएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात मुर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेण्डरमा होली, ज्वीस अर्थात यहुदीहरुको क्यालेण्डरमा पुरीम र रोमनहरुको क्यालेण्डरमा अतिस पर्व पर्दछन् । मार्चको मध्यवाट र अप्रिलको प्रथम साता विचमा यी पर्वहरु पर्ने गर्दछन् । बसन्त क्रृतुको आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामीमध्य धेरैको संझना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?

ईतिहास र चलनहरु नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडी विश्वब्यापी रुप लियो जब अँग्रेजी हास्य लेखक अनि कलाकारहरुले यसलाई अभिब्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिश, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वुद्धि सँगै मान्यता पाँउदै गयो ।

सन् १९५७ मा त बिबिसी ले नै स्वीस किसानहरुले रुखवाटै चाउचाउ टिपेको भिडियो देखाईदिएर आजको दिन संसारलाईनै नयाँ वाली आयो भनि झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरुले पनि आजो दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।

विधालयमा छँदा साथीहरुको पछाडी कागजको पुच्छर जोडिदिने, ट्वाईलेटमा थुनिदिने, ब्याग र कापीहरु लुकाईदिने, पेन भित्रको रिफिल लुकाईदिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्दा धेरै क्रियाकलापहरु गरेका यादहरु पनि छन नि , कि कसो ?

मुर्ख र सज्जन एक्आपसमा वाँझिएका शब्दहरु हुन् । आज मुर्ख दिवस हो , विश्व मुर्ख दिवस् । आत्मसाथ गरौ, कालिदासको ज्ञान अनि काब्यलाई तर स्मरण गरौ उनि पहिले कति मुर्ख थिए भन्ने कुरा । बाल्मीकीलाई संभmना गरौ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौ न ।

बच्चामा गरेका मुर्ख कामहरु लाई, मुर्खपना नराम्रो हैन तर यसवाट सिक्न अनि अगाडी वढ्न जरुरी छ । आज बोलेका झुठ या मुर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मुर्ख वनाउनुहोस तर हसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउसफूल होस् ।
-----
हाम्रो पात्रोका लागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.