दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।
आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिनको हार्दिक मङ्गलमय शुभकामना ।
घटस्थापनाको शुभ साइतः
विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापना पुजा तथा यस वर्षको विजयादशमीको टिकाको शुभ साइत एकै समय अर्थात् बिहान १० बजेर ३५ मिनेट रहेको छ । घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट रहेको छ भने २१ गते मङ्गलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि बिहान १०:३५ बजे रहेको छ ।
चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन आजदेखि आधिकारीक रूपमा छोई नै सक्यो । ल है! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि आजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।
नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ, संयुक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालाई माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ, प्रत्येक मुहारमा दशैंको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।
दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनाैट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ औ शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगाई एउटा कर्मचारीले एक किलोमिटर पार गरि अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलाई हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चाैबिस घण्टा नबित्दै काठमाण्डौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ ।
लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मर्स्याङ्गदीको दोभानमा गई नुहाई-धुवाई गरि चोखो भ कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ । स्मरणीय रहोस् उक्त मन्दिर कुनैपनि देशभक्त सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ्ग जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ ।
सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पाैष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।
यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी सहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदैजान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ । त्यसैगरि शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य माैलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।
यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना ।
विश्व मुटु दिवस
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाइरहन्छ । मुटु हाम्रो सु-स्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमती गरेका छन् । नसर्ने रोगहरुको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरु हृदयघात अनि हृदय सम्बन्धि रोग अनि समस्याहरुले मरिरहेका तथ्याङ्क छ ।
हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसंग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु, जनचेतकहरु, सञ्चार माध्यमहरु असन जनमानसहरु एकै थलोमा भेला भएर मुटुलाई रक्षागर्ने कुराहरु अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् । तपाई हामीलाई थाहा हुनुपर्छ कि हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो हृदयमा नकारात्मक असर पारीरहेको छ भन्ने ?
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।
दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणिय रहोस्, माथि उल्लेखित कुराहरुमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरुको असामहीक मृत्यूलाई रोक्न सकिन्छ ।
मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पूर्याउन शक्तिलाई बिकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।
ल है! आफ्नो मुटुलाई छामौं र बिचार गरौं कत्तिको मुटुमैत्रि जीवनशैली हामीले अपनाएका छौं ? हाम्रो परिवार अनि समुदायका सदस्यहरुको मुटु पनि स्वस्थ बनाँउन हाम्रो जिम्मेवारी पनि बिचार गरौं, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।
सबैको हृदयको गती जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना !
----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: