अहिले विश्वभर नै स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको कोरोना भाइरस (कोभिड-१९) महामारीको बेलामा आफ्नो ज्यान नै जोखिममा राखेर लाखौँ संक्रमितको उपचारमा कार्यरत डाक्टर, नर्श लागायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई हाम्रो पात्रो सलाम गर्दछ। स्वास्थ्यकर्मीलाई भगवानको दर्जा हाम्रो समाजले यतिकै दिएको हैन। सम्पूर्ण स्वास्थ्यकर्मीलाई थप साहस, शक्ति र हौशला मिलोस्। हाम्रो कामना।
हरेक वर्षको अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ । वास्तवमा अप्रिल ७ का दिनमा विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को स्थापना पनि भएको हो र यसै दिनको अवसरमा हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ । यस वर्षको स्वास्थ्य दिवस कोरोना महामारीका कारण पक्कै पनि तनावपूर्ण बनेको छ, संसारले यो महामारीबाट चाडै मुक्ति पाउनेछ, प्राथना जारी राखौं ।
विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीका विरुद्ध लड्नका लागि समुदाय र सरकारहरुलाई सघाउँदै आएको छ । सरकार, समुदाय अनि सरोकारवालाहरुको चासो स्वास्थसेवाको पहुँच बढाउने कुरामा होस् । सामाजिक सुरक्षाको प्रावधान अन्तर्गत स्वास्थ्य बिमा लगायतका सुविधाहरु बढोत्तरी हुँदै आउन्, औसत नेपालीलाई स्वास्थ्यको पहुँचबाट पर हुन नपर्ने अवस्थाको श्रृजना होस् ।
ससाना घाउ देखि चोटपटक सम्म, ठूलाठूला रोग देखि ससाना संक्रमण सम्म, के विश्वका हरेक कुनामा स्वास्थोपचारको पहुँच छ त ? अनि विश्वको छाना अर्थात् सगरमाथाको देश नेपालमा स्वास्थ्य सुविधाहरुको पहुँच कस्तो र कत्तिको छ त ?
घन्टौं कुरेर डाक्टर र स्वास्थ कर्मचारीको छिछिदुरदुर सहेर उपचार गराउने देखि घरघर मै अनि विदेश गएर सामान्य रोग र समस्या उपचार सम्म गर्नेहरु हाम्रै देशमा छन् । निजी क्लिनीक र सरकारी अस्पतालको सेवा सुविधामा भएको आकाश जमिनको फरक अनि स्वास्थ्य पेशा कै व्यवसायीकरणले नेपालीहरुको स्वास्थमा पहुँच भयानक रुपमा नराम्रो छ । यहाँ स्वास्थ्य चौकीहरु छन् तर सुविधा छैन, अस्पताल छ तर डाक्टर छैनन् अनि डाक्टर भईहाले मै पनि उपकरण र प्रविधि छैन ।
निराशाको यो बादलको कुरा गरिरहँदा नेपालले स्वास्थ्य क्षेत्रमा गएका दशकहरुमा प्रगति पनि गज्जबले नगरेको हैन । दशक अघि सम्म पनि शौचलय गएपछि साबुनपानीले हात धुनुपर्छ भनेर विज्ञापन नेपाली सञ्चार माध्यममा आउने गर्दथ्यो । यसका अलावा झाडापखाला अनि पोलियो, कुष्ठरोग लगायतका रोगहरुको बारे जनचेतनामुलक साम्रगी आउने नेपाली सञ्चार माध्यमहरुमा अहिले स्वास्थ्यका साम्रगीहरुमा विशेष परिवर्तन भएका छन् । जनमानसमा स्वास्थ्यको ज्ञान बढेको छ अनि जनस्वास्थको अवस्था राम्रो हुँदै गएको छ । गाँउगाँउमा प्रसुती केन्द्रहरु अनि प्राथमिक स्वास्थय चौकीहरु छन् तथापि विशेषज्ञ सेवाको भने पहुँच नेपाली माटोमा दुर्लभ अनि असमान छ ।
आर्थिक अवस्था अनुरुप स्वास्थोपचारको हैसियत निर्धारण हुने पक्कै पनि राम्रो हैन । स्वास्थ आधारभूत सुविधा अन्र्तगत पर्दछ र हरेक नागरिकलाई स्वास्थोपचारको सुविधा न्यूनतम ग्यारेण्टी गरिनै पर्दछ । उपचारको अभावमा कहीं कसैले ज्यान गुमाउन नपरोस्, न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूत सरकारले गर्न सकोस् । सम्पत्ति हुनेले उपचार घर मै पाउने र नहुनेले अस्पताल नै नदेखि बिदा हुने परिपाटी अन्त्य होस् । यस वर्ष पनि नेपाली स्वास्थ्य नक्षत्रमा स्वास्थोपचारको सेवा अनि गुणस्तरका विषयमा विभिन्न अनशन, हड्ताल, नारावाजी नभएका हैनन् तथापि सरकार र सरोकारवालाहरु स्वास्थोपचारको देशै भरि समान पहुँच ल्याउनका लागि उत्ति जिम्मेवार भने नेपालमा नपाईएकै हो ।
नेपाललाई अझ बढी स्वास्थ्यकर्मीहरु चाहिएको छ, डाक्टर नर्स लगायतका अन्य स्वास्थकर्मीहरुको सङ्ख्याँ बढाउन जरुरी छ । संघीय स्वरुपमा गएको नेपालका हरेक प्रदेश अनि प्रान्तमा विशेषज्ञ सेवा सहितको अस्पताल आजको आवश्यक्ता हो । यस वर्षको स्वास्थ्य दिवसको सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: