पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औंसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औंसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ । असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ । हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी ब्रत लिंदा समस्त पित्रीहरुको नर्कबाट उद्दार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।
पौराणिक कथन अनुसार सत्ययुगमा महिष्मति शहरमा इन्द्रसेन नामक एक प्रतापी राजाको राज्य थियो । ति राजा पुत्रपुत्री सहित धनसम्पतिले भरिपूर्ण र शत्रुहरुसंगअपराजित थिए । एकदिन इन्द्रसेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिकोआगमन भयो । नारदको आउनु भएपछि इन्द्रसेनले खुसी हुँदै आसन गराए । नारद पनि इन्द्रसेनको भक्तिले प्रसन्न भए । नारदले आफुले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्चचकित भए । नारदले त्यसको सविस्तार बताईदिए । इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको ब्रतलाई पुरा गर्न नसकि बिचैमा छाडेकाकारण यमलोकको बास भएको नारदले बताईदिए ।
नारदले महिष्पतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको ब्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताईदिए । नारद ऋषिले त्यति बताईदिएपछि सोहि अनुसार इन्द्रसेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको ब्रत बसी ब्रतको समापनमा ब्राम्हण पुरोहितहरुलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयंपनि पितृ धर्म प्राप्त गरि सुखशान्तिले राज्यचलाउन समक्ष भए ।यहि मान्यता अनुसार नै यस एकादशीकोब्रतपछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दिप सहितबिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको ब्रतका दिन नसुति ब्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यहि भएर मानिसहरु एकादशी ब्रतपछि दिनभर भजन किर्तन गरेर दिन विताउँछन् ।
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको
विश्व फार्मासिस्ट दिवस
अन्तराष्ट्रिय फार्मास्यूटिकल संघ (एफआइपी) को सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको सम्मेलनमा हरेक वर्षको सेप्टेम्बर २५ तारीखको दिन विश्व फार्मासिस्ट दिवस मनाउने निर्णय गरिएको हो। एफआइपीले सधैँ फार्मासिस्टहरुलाई संसारको कुना कुनामा विभिन्न कार्यक्रम आयोजना गरेर साधारण मानिसहरुलाई फार्मासिस्टको महत्व बुझाउन प्रोत्साहन गर्दछ।
एफआइपीले विश्वसामु फैलाउन खोजेको सन्देश निक्कै महत्वपूर्ण हो, किनकी हामीले आफुलाई लागेको सानो ठुलो बिरामी निको हुदा सधैँ डाक्टरलाई मात्र धन्यवाद भन्ने गर्दछौ या भनौ डाक्टरलाई मात्र सम्झने गर्दछौ। तर, हामीले यो कुरा कहिले ख्याल पनि गरेको छैनौ, डाक्टरले हाम्रो रोग पत्ता लगाएर हामीलाई औषधीको नाम त लेखिदिन्छन्, तर त्यो औषधी हामीलाई प्रदान गर्ने व्यक्तिको भूमिका हामीले सधैँ बेवास्ता गर्ने गरेका छौ ? यो कुरा हामीले कहिले बिचार पुर्याएको हुदैनौ, तर उनीहरुको भूमिका पनि डाक्टर भन्दा कम महत्वपूर्ण भने हुदैन।
फार्मासिस्ट त्यो व्यक्ति हो जसले तपाई हामीले प्रयोग गर्ने औषधिको बारेमा हामीलाई चाहिने ज्ञान प्रदान गर्छ। विदेशमा केहि ठाउहरुमा त डाक्टरले रोग पत्ता लगाउने काम मात्र गर्छन्, रोग पत्ता लागिसकेपछि बिरामीलाई चाहिने कम्पोजिसन अनुसारको औसधी तैयार पार्ने कामपनि फार्मासिस्ट ले नै गर्ने गर्छन्। नेपालमा भने अझै यो चलन आइसकेको छैन, तर फार्मासिस्टहरुको औषधि निर्माण गर्नमा पनि ठूलो भूमिका हुने गरेको छ। औषधी निर्माण गर्ने व्यक्तिलाई भने फार्मासिस्ट वैज्ञानिक भन्ने गरिन्छ। फार्मासिस्टको सम्मान आज मात्र गर्ने भने बिल्कुलै हैन। डाक्टरलाई भगवानको दर्जा दिएका छौ हामीले, फार्मासिस्टको महत्व पनि बुझौ।
आजको दिनको शुभकामना।
Liked by: