Hp Indra Jaatra | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

इन्द्रजात्रा





काठमाडौं एउटा इतिहासै इतिहासको शहर हो, देवादिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरवासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरु आज विश्वकालागि नै एउटा अनमोल प्राचिन सम्पती भएको छ ।

संसारका अहिले धेरै विकसित मानिने राष्ट्रहरुको विश्व मानचित्रमा अस्तित्वनै नभएको शताब्दीयौं अगाडि काठ्माण्डौले आफ्नो हरेक चोक चौराहमा बेग्लै महत्व बोकेको मठ-मन्दिर, सभ्यताका फरक देवलहरु, बाहाल तथा विहारहरू र समानताकालागि न्योयोचित न्याय प्रणालीसंग समाज विकासका आधारहरु तैयार गरिसकेको थियो ।

काठमाडौंको माटो र आवुहवामा सभ्यता र शान्तिको एउटा स्वाद छ अनि काठमाडौं देवता र मन्दिरको मात्र शहर नभर्इ विविधता सहितका अनेक चाडवाड र प्राचिन सभ्यताको शहर पनि हो । ईन्द्रजात्रा अर्थात नेपाल भाषामा 'येँया पून्हि', काठमाडौ शहरको प्राचिन बस्ति बसन्तपुरमा मनाइने सबैभन्दा ठूलो चाडहरुमध्य एक हो ।

शुरु गरौं किमंदन्ति बाट जसका अनुसार स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालार्इ वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारीजातको फूल र कर्कलो चोर्न मानव रूप धारणगरी काठमाडौं शहरमा आएर बगैंचाको मालीलार्इ सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढालेपछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोककथन छ।

काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

यसरी आफ्नो खातिर काठमाडौंवासीले बन्धनमा पारेका छोरा इन्द्रलार्इ त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किंवदन्ति अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

नेवा: परम्परा अनुसार भाद्र शुक्लपक्ष 'यँलाथ्व द्वादशी'को दिन मनाइने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर 'यँलागाः चौथी' अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालार्इ मुख्यतः दुर्इ प्रकारले मनाउने चलन रहि अाएको छ । अनुहारमा विभिन्न देवी देउताका 'ख्वापाः' (अर्थात् मुखौटा) लगार्इ नेवा: समूदायका विभिन्न गुठी र समूहरू मिली नाचगान गर्ने गरीन्छ ।

तान्त्रिक विधिद्वारा पूजाअाजा गरी एउटा विशेष प्रकृयाको लागि तयार पारीएको कालो बोकोलार्इ काभ्रे जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलार्इ काटेर एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलार्इ स्थानीय नेपाल भाषामा 'योंसी' समेत भनिन्छ । उक्त लिङ्गोलार्इ बसन्तपुर दरवार स्क्वायरस्थित हनुमानढोकामा अवस्थित विशाल काल भैरवको मुर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाअाजाको प्रकृया पश्चात् लिङ्गो ठड्याइएपछि 'इन्द्रध्वजोत्थान' सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।

यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरीन्छ ।

लिंगो ठड्याउँने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाएर यस महत्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन्। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालिन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा वर्षमा एकपटक हनुमानढोका दरवार क्षेत्रस्थित श्वेतभैरवको मन्दिर सर्वसाधारणकालागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, धूलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाअाजा गर्ने गरिएको छ । काठमाडौंमा दशौं शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौं शताब्दीको मध्यमा शुरूवात भएको मान्यता रहिअाएको छ । यस दिन काठमाडौका बुद्धमार्गी नेवार समूदाय र हिन्दू मान्यताका नेवार समूदायहरुको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौको बसन्तपुर दरवार स्क्वायरमा देख्न सकिन्छ ।

सनातन् र पुरातात्विक महत्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मिकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत्संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।

पुराणमा उल्लेख भएनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रीदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाअाजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई 'इन्द्रध्वजा' भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो ।

स्वर्गलोग र पृथ्वीमा समेत यस विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । साथै पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो र आफ्नो राज्यमा सुख, समृद्धिकोलागि इन्द्रध्वजा स्थापना गर्ने परम्परा चल्न थालेको हो ।

साथै लिङ्गो ठड्याइएको तीनदिनपछि बसन्तपुर दरवार स्क्वायर क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र अाकाश भैरव (सवभकु)को समेत रथयात्रा गर्ने परम्परा रहिअाएको छ । आठ दिनसम्म राजधानीको हलचोक (भक्कुनाचहलचोक)को अाकाश भैरव, भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा (किलागलको पुलुकिसी) पुलुकिसी नाच नचाउने परम्परा रहिअाएको छ । साथै यस विशेष अाठ दिने अवधिमा कुमारीघर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दसावतार समेत देखाइने गरीएको छ ।

काठमाडौंबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिअाएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ। साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

लिङ्गो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन 'क्वहने याः' भनेर नेवार समुदायले मान्दै आएको जिवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट बर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन।

इन्द्रजात्राको विभिन्न प्रक्रियागत् सांस्कृतिक विधिहरू अन्तर्गत् बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा दियो बत्ति बालेर नगर परिक्रमा गरिने गरिएको छ । यसरी अायोजन गरीने दियो बत्ति सहितको विशेष जात्रा काठमाण्डौका मानन्धर समुदायले गर्ने गर्दछन् । यंलाथ्व पूर्णि अर्थात इन्द्रजात्राको चाैथो दिन 'थहने याः' भनेर शाक्य जातकी एक बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा निकाल्दै बुधबार तल्लो टोल (दक्षिण) र बिहीबार माथिल्लो टोल (उत्तर)मा परिक्रमा गराइने गराइन्छ ।

साेहि दिन साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा वासको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन्। उनीहरूले बाटोभरि दीयो दान गर्दै काठमाडौं नगर बस्ती बाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजाअर्चना गर्दै दीयोदान गर्ने परम्परा छ। उक्त मूर्ति नेपाल सम्वत् ३८९ मा राजा मानदेवले आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए। यसै दिनदेखि घरघरमा काठले बनेको दलूचा (झ्यालमा झुण्ड्याउने एक प्रकारको दीयो) झुण्ड्याई इन्द्रको नाममा बत्ति बाल्ने चलन रहिअाएको छ ।

यस विशेष दिन नेवार समुदायका मानिसहरूले 'सम्येबजि' (चिउरा, रांगाको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, वारा, अालू, साग मिश्रित विशेष खाजा) खाइन्छ । यंलागा चौथी अर्थात् इन्द्र जात्राको अन्तिम दिन 'नानिचा याः' भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिने गरिएको छ ।

यसरी विभिन्न चरण र सांस्कृतिक झाँकिसहितको आठ दिनसम्म नेवा: समुदायले इन्द्रजात्रा हर्ष र उत्साहकासाथ मनाउने गरेकाछन् ।

नेपाली माैलिक सांस्कृतिक विविधता सहितका विभिन्न महत्वपूर्ण पलहरू झै यस विशेष महत्व बोकेको इन्द्रजात्राका प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पाला देखि चलिआएको छ र कान्तिपुर (काठमाडौं)का अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जिवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ। हनुमानढोकाको गद्दीबैठकमा राष्ट्रप्रमुख उपस्थित भर्इ गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन अहिलेपनि यथावतै रहेको छ |

नेपालका राष्ट्रप्रमुख, महामहीम राष्ट्रपतिले पनि कुमारी जात्रा अवलोकन गर्ने चलन छ । नेवारीमा काठमाडौ अर्थात 'येँ', ललितपुर अर्थात् 'यल' अनि भक्तपुर अर्थात् 'ख्वप' लगायत किर्तिपुर, दोलखा, वनेपामा इन्द्रजात्राको राैनकको विशेषता भिन्नाभिन्नै रहेको छ । पुस्ताैंदेखि चलिअाएको यस्तो जात्रा र पर्वहरूले हाम्रो प्राचिन सभ्यता अनि संस्कारको अद्भूत संगमको इतिहास बोकेको छ।

कृषी सुहाउँदो यो मौसममा उपलब्ध विशेष कुहिरोलाई इन्द्रको उपहारका रुपमा काठमाडौंवासीले लिएको कुरा पनि इन्द्रजात्राले ब्याख्या गर्दछ । शताब्दीयौं पुरानो यी जात्राहरु निरन्तररुपमा चलिआएका छन् । बसन्तपुर दरवार स्क्वायर अनि मठ मन्दिर अगाडि प्रदर्शन हुँदै आएका यी जात्राहरु मनाउनकालागि भुइँचालोपश्चात् मठ, मन्दिरहरु पहिलेको अवस्थामा छैनन तर यस जात्रामा परापूर्वकालदेखि देखिदैं अाएको काठ्माण्डाैको जोशमा उर्जा उत्तिकै छ । यी सांस्कृतिक धरोहरहरुको पारम्परीक निरन्तरता र यसको रक्षार्थ सबैजना एकजुट हुन जरुरी छ । इन्द्रको आशीष कायम रहोस्, देशमा वालीनाली सप्रिएर रहोस् अनि शान्तिले सबैको हृदयमा वास गरोस्, इन्द्रजात्राको नेपालीजनमा शुभकामना ।

----

हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.