बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, कालखण्ड र सभ्यताका क्रमहरू सञ्चित थिए । सोंच आउँथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने । यि सम्पदा उस्तै रहन्छन् तर म उस्तै रहन्न भन्ने सोच हुन्थ्यो तर राम्रो सम्बर्द्धन अनि सुरक्षा नपाँउदा क्रमशः हामीले हाम्रो सम्पदा अनि पहिचान गुमाइरहेका छौं ।
नुवाकोटको दरवार बांगिएको छ, बझागें राजाको दरवारदेखि चाँगुनारायण सम्म, गृहेश्वरी देखि धनुषाको क्षिरेश्वरसम्मका हाम्रा सांस्कृतक एवं इतिहासिक धरोहरहरु टुलुटुलु संरक्षणको आशामा बसेका छन् । हरेक दिन इँटाहरु घट्दै छन्, काठहरु हराँउदै छन् अनि मूर्तिसंगै भगवान, आशिष अनि नेपालीपना बेचिँदैछ ।
७२ सालको भुकम्पले ढलाएका हाम्रा पहिचानहरु उठ्न नसकेर चिच्याएर कराएको भान हुन्छ, अव्यबस्थित शहरीकरणले निस्सासिएका हाम्रा इतिहासहरु गुम्सिएर एैठन भएको भान हुन्छ । यि सम्पूर्ण सम्पदा अनि संरचनाको सम्बर्द्धन अनि रक्षा गरेर आँउदा पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्ने गहन जिम्मेवारी यस पुस्ताको हो । आज विश्व सम्पदा दिवस, हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यस दिवस मनाइन्छ र आज नेपालमा पनि विभिन्न कार्यक्रमका बिच यस दिवस मनाउने गरिन्छ ।
अफगानीस्तान बामीयान उपत्यकामा तालिवानले बारुदले उडाएका बुद्धका मूर्तिहरु अब के फेरि ठड्याउन सकिने छ र? हाम्रो देशमा काष्ठमण्डप पूनः बनाउन सकिने छ । समयमै बिचार गर्न नसक्दा आज शहरहरूको जीवन नाम जुन सम्पदाका नामहरूबाट प्राप्त भयो त्यो सम्पदा नै बुच्चो रहेको छ । काष्ठमण्डप बिनाको काठमाडौं, धरहरा बिनाको नेपाली शहर यो पुस्ताले देख्न परेको छ । अझ केही अन्य सम्पदाहरु त ९० सालको भुकम्पले मासेको अनि कहिल्यै उठ्न नसकेको पनि छन्, जुन हामीलाई थाहै छैन् ।
ढलेको धरहरा, दरवार स्क्वाएरहरु अनि रानी पोखरीको सुकेको पानी साक्षी राख्दै आज नेपालीहरुले सम्पदरा र सम्पती संरक्षणको कसम खानुपर्ने दिन आएको छ । दूर्भाग्य कस्तो भने; विकासका नाममा कहाँबाट कस्ले लादीदिएको एजेण्डा हो के नियत हो खै कुन्नी धार्मिक, सांस्कृतिक तथा एैतिहासिक महत्व बोका कतिपय पाटी पाैवा, मठ मन्दिरहरूमा डोजर चलाइदैछ । अाधूनिकताका नाममा अाफ्नो माैलिक रूपै बिग्रिनेगरी गरीने विकास निर्माणका कार्यले हाम्रो भावी पुस्ताले कस्तो इतिहास पढ्नेछन् ?
सडक बिस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्नु हाम्रो कर्तब्य हो । आजको दिनमा यि कुराहरुको चेतना सबैमा होस् ।
नेपाल एउटा इतिहास वोकेको प्राचीन शहरहरुको देश हो, बसन्तपुर दरवार त केवल एउटा प्रतिनीधी स्थल मात्र भयो यस्ता धेरै एतिहासिक नेपाली संस्कार तथा सभ्यता बोकेका सम्पदाहरु नेपालका कुनाकन्दरामा छन् । हजारौं वर्ष अनूभूत गरेका अनि देखेका यस्ता सम्पदाहरुलाई हामीले कत्तिको जोगाउन सकेका छौं त रु आज नेपालीहरु सकलले यो प्रश्नको उत्तरमा गहनतापूर्वक सोंच्ने बेला मात्र हैन अबेला नै भएको छ ।
होर्डिगं वोर्डले छेकेका मन्दिरका गजुरहरु हुन या पार्किङ स्थल बनाइएका एतिहासिक सत्तलहरु हुन्; भुकम्पले छरपष्ट पारेका मन्दिरका टुक्राहरु एकै ठाँउमा राखेर अर्को मन्दिर ठड्याउन नसक्नु अनि दरवारहरु उभ्याउन नसक्नु हाम्रो असक्षमता हो या हैन्, मनन गर्ने दिन पनि आजै हो ।
कति सम्पदा त अहिले भवन अनि चौरमा परिणत भइसकेका छन् । ति कुराहरुलाई व्यूँताउन सफल नेतृत्वको उदय होस्, सम्बन्धीत निकाय र सरकारको ध्यान जाओस् ।
विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन शुरु गरिएको हो र यस दिवसमा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना !
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: