कामिका एकादशी | विश्व आमाबुवा दिवस | विश्व हेपाटाइटिस दिवस | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

कामिका एकादशी | विश्व आमाबुवा दिवस | विश्व हेपाटाइटिस दिवस




कामिका एकादशी विशेष अडियो सामाग्री

आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ ।

यूधिष्ठिरले कृष्णसंग प्रश्न गर्दै भनेको प्रसंग यहाँ छ । हे गोबिन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रतामृत कथा बताईदिन आग्रह गर्दछु ।

कृष्णको उत्तर यसप्रकार छ ।

ओहो राजा यूधिष्ठिर, सत्यवक्ता अनि महान साधु, अवश्य पनि म तपाँईलाई यस एकादशीको बारेमा सविस्तार सुनाँउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पापमोचन गरि मुक्ति पनि दिन्छ, आउुनहोस् म बताँउदछु ।

थोरै अर्को एउटा प्रसंग जोड् चाहन्छौं, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले श्रृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसंग छ । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।

यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।

सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठूलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौं, आफूभित्रै आफैसंग लडाँई गर्दछौं अनि पाखयडी स्वाभिमानको हाँसो हाँस्दछौं । यस एकादशीले वडो चित्ताकर्षक रुपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्तिमार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरि व्रत लिनेले पाँउदछ । भगवान विष्णु अर्थात् जगतका पालनहार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मन्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मन्जरीको उत्तिकै महत्व रहन्छ ।

तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्यूको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदिनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।

प्रातकालमा उठेर स्नान गरि तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ति, धुप आदि चढाउने अनि सूर्योदय पश्चात व्रतकथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झैं यस एकादशी व्रतकथा चाँही विशेष पाइन्न, अमुक गाँउका एकजना धनी व्यक्तिले भगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्दछ । ब्रह्महत्या अझ भनौं मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरुले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाँउदछन् ।

यस एकादशी एउटा अद्भूत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।

विश्व आमाबुवा दिवस

यो छोरा बढ्ला कमाई गर्ला दुधभात देला मलाई
यो छोरी बढ्ली कमाई गर्ली दुधभात देली मलाई

माथीका हरफ नेपाली जनजीवनका एउटा बहुतै पुरानो भनाई हो, आमाबुवाले आफ्ना छोराछोरीसंग गर्ने अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । दुधभातले माया दर्शाएको छ अनि सन्तान मोह छ साथमा, यस अर्थमा हामी सबैजना आफ्ना आमाबुवाको जीवन बिमा त हौं, एउटा खाली चेक आमाबुवाका लागि हैन र ?

माकुराको उदहारण दिन चाहे आज दिनविशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरुले आमालाई खाईदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्राटुक्रा पारेर खाईदिने त्यो पाशविक नियती आजभोली हामी मान्छेमा उदहारणत पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरु, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरु अनि घरघरमा अपहेलना गरेर राखिएका आमाबुवाहरुका आँशुले कतै माकुराको प्रवृतिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?

समस्त आमाबुवाहरुलाई हामी नमन गर्न चाहन्छौं आज विश्व आमाबुवा दिवसको अवसरमा । विश्वमा एउटा अजिवको सत्यता छ र त्यो हो हाम्रो प्रजजन क्षमता, महिला या पुरुषको शारीरीक वनावट अनि आफुजस्तै अर्को जीवको संभावना जसलाई हामी सरलीकृत रुपमा बुवा या आमा बन्ने क्षमता या संभाव्यता भनेर पनि बुझ्न सक्यौं । बुवाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावत एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो ।

काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृती वर्णन गरिएको छ । सधैं खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेकोर नाटक गरेको भनी सम्वोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाती केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कदा काठको टुक्रासंग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।

नातीले वडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबावु आफ्नो गल्तीको पश्चाताप गर्दै भोलीपल्टैबाट बुवालाई संगै टेबलमा राखेर अनि फुटेपनि काँचकै कचौरामा आफुसरह खाना दिन थाल्दछन् । आँउदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भएपनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सदभाव देखाउन जरुरी छ ।

आमाको मुख हेर्ने दिनमा तरहतरहका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान अन्य दिनमा आमासंग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याँउदैनन् या जाँदैनन् । नानातरहका व्रत बस्ने ब्रतालुहरु घरकै रहेका बुवाआमा या सासुससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँझो मान्दछन् । कति बुहारीहरुले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सासुससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवाआमाको महत्व सबैले बुझ्न जरुरी छ ।  यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलीका आमाबुवा पनि त हुन् ।
मातृ देवो भवः
पितृ देवो भवः



विश्व हेपाटाइटिस दिवस


हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरु एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको छ ।

विश्व स्वास्थ्य संस्थाको तथ्यांकलाई हेर्नेे हो भने, संसारभरका ३२,५०,००,००० मानिसहरु भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाउने रहेछ । यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पु¥याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ भनेर नै आजको दिन मनाउन थालिएको हो है । हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त ?

एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरुलाई मृत्युको शिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्दछ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्ः ए, बी, सी, डि र इ । यी पाँच किसिमका हेपाटाइटिसहरु घातक र मृत्युको काल सरह मानिन्छन् ।

एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का कारणले वार्षिक धेरै मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्दछन् ।

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस बी र सीलाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै पिरोल्ने गर्दो रहेछ ।

आदिबासी, लागूपदार्थ दुव्र्यसनी, एचआइभी संघर्षरत मानिसहरु, प्रवासीहरुमा हेपाटाइटिसले बढी नै सताउने गरेको रहेछ । अझ हेपाटाइटिस बी लागेका ९०% मानिसहरु र हेपाटाइटिस सी भएका ८०% मानिसहरुलाई त आपूmमा यो रोग भएको बारे अनभिज्ञ रहने र नजानेरै अरुमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरुसरह घातक रोग मानिन थालिएको रहेछ ।

हेपाटाइटिसबारे जागरुकता बढाउनका निम्ति हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ । अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अभैm धेरै मानिसहरु गुमाउनेछौँ, उनीहरु विश्व जनसंख्याबाट ओझेल पर्नेछन् । यी ओझेल अनुहारहरु फेरी अर्को वर्षको निम्ति तथ्यांक बनेर थन्किनेछन् । यी ओझेल अनुहारहरु पनि त जीवन हुन् भनेर एक चोटि फेरी बिर्सिनेछौँ हामीले । अनि अर्को वर्षको हेपाटाइटिस दिवसमा पुनः स्मरण गर्नेछौँ यी हराएका, विलिन भएका, हामीले बचाउन सक्ने सम्भावित जीवन कथाहरु ।

स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्दछ । यस्ता भयानक रोगबाट ग्रसित हुनपर्दा त मृत्युकै बाटो रोज्नपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य । आजकै दिन भएपनि आपूmले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बच्ने तरिकाहरु के रहेछन् भन्ने बारेमा छलफल गर्नुहोस् है ।
-------
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.