आजबाट दशैंको औपचारीक अन्त्य भयो है, दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
आजको दिनको अर्को महत्व छ, आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर वसेका छन् उनिहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ ।
कोजाग्रत पूर्णिमा पछि सुरिलो वाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे वत्ति वाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि वाँसको टुप्पामा वलेको आकाशे वत्ति एकदमै आकर्षक दृश्य हुनेगर्दछ ।
तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एकप्रकारको जूवा जस्तै हो, साना साना कौडाहरुलाई हातले खालमा फालेर त्यस कौडाहरुको उल्टाई र फर्काईको संभाब्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश् गाँउहरुमा ठूलो स्वरले माररा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसैवर्ष विवाह भएका नवदम्पतीहरुलाई भनेँ वेहुलाको घरमा बेहुलीका तर्फबाट ब्यञ्जनहरु पठाउने चलन छ, यस्ता ब्यञ्जनहरुमा मिठाई, भोजन, दही लगायतका परिकारहरु अनि वेहुली गाउमा बनाएको पान पनि पठाइन्छ ।
यी ब्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्षरुपमा बेहुलीपक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरु लग्दा गम्छामा राखेको दहि लैजाने चलन भएको बुढापाकाहरु बताउँछन् । दूधलाई धेरैसमय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति वाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदि वहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाई अर्थात साला, जेठान र भिनाजु, ज्वाँई विचमा कौडा खेल्ने् चलन पनि छ ।
अनि कस्तो भयो त यस्पालाको दशै ? पक्कै पनि रमाइलो भयो होला ? हामीमध्य धेरै फेरि जिवनयापनका कार्यमा फर्किइसक्यौ होला ? घरको सुखद यात्रा पश्चात दशैको रमाइलोलाई मनभरि सगाँल्दै पढाई, काम या ब्यवसायका कदमहरुमा आएर जुटिसक्यौ पनि होला । दशै सकियो भनेर केटाकेटीहरुमा एकप्रकारको खिन्नता आएको हुन सक्छ, या यस्पाला दशैमा यत्ति दक्षिणा कमाए भन्ने लेखाजोखा पनि दशैपछिनै राख्ने त हो जे होस चाडवाडका यी दिनहरु मादक छन्, चिसो सँगै राती शित पनि पर्न थालेको छ । अब बढ्दै जाने चिसोलाई विशेषत सुत्केरी, केट्केटी तथा बुढापाकाको हकमा भने कम नआकियोस, न्यानोपना सँगै न्यानो शुभकामना
विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस
आज फलाना ठाँउमा बाढी आयो रे !
आज यो ठाँउमा पहिरो गयो !
भुईचालोले यति मान्छे लग्यो !
ज्वालामुखी ले यसो गर्यो !
पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै बिभिन्न प्राकृतिक प्रकोपहरुको संभाव्य जोखिममा रहेको छ । अझ मानविय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।
हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारीखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ । बिभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठि इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्व धेरै छ ।
प्राकृतिक प्रकोपसंग हामी जुध्न सक्दैनौं, हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलाई न्यूनिकरण मात्र गर्न सक्दछौं, हैन र ? सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्ति बिरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको शुरुवात गरिएको हो र आज पनि यस दिनमा बिभिन्न सञ्चार माध्यमहरुले विश्वभर यस बिषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् ।
यसकासाथै समूदाय, राष्ट्र अनि क्षेत्रकै जागरणस्तर बढाउन्, पूर्वतयारी संरचनामाथिको पहूँच बढाउन अनि पीडितहरुको संरक्षणकालागि विशेष आह्वान गर्ने संयूक्त राष्ट्रसंघको योजना रहेको छ । छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानीकालागि विश्व समूदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक बिपत्तिहरुको सामना गर्नु परेकोछ, समय-समयको भूँईचालो होस् या यस वर्षको भिषण बाढि पहिरो, भौगोलिक रुपमा विविधतासंगै जटिल नेपाल सदैव प्राकृतीक बिपत्तिको उच्च जोखिम मैं छ ।
दुखद् कुरा चाँही नेपालीहरुको अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी रहेकाले हुने थप हानी र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाण्डौ कै मूलधारको खानेपानी, स्वास्थ सुबिधा र आधारभूत कुराहरुको सुलभतामाथि भुँईचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौं । राजधानीको त्यो हविगतले सापेक्षिक रुपमा दूरदराजका गाँउहरुको अवस्था सहजै बयान गर्दछ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रणका प्रयोगात्मक अभ्यास र व्यवहारीक शिर्षकहरु नहुनु झनै दुखदायी कुरा हो ।
अझ अव्यबहारीक विकासे ज्ञान जस्तै भुँईचालो आँउदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरुले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नपर्ने ज्यान पनि मृत्यू र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधी र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुनसक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्वतयारी पनि छैन् ।
फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुष्ठ जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दूर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात धर्म परिवर्तन र मानव तस्करका कुराहरु आएका हुनसक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुबै तहको समान सहभागिता जरुरी छ । आजको दिन यि सबै कुराहरु विश्व समूदायसंगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।
प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरु बनाऔं, आँउदा पुस्तालाई यसको पूर्वतयारीप्रति सजग गराऔं ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: