आज महाशिवरात्री । हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।
कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाकालागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि विजहरु छर्ने आदिजस्ता विषयवस्तुसंग सम्बन्धित छन् । वैदिक नेपाली सनातन संस्कारका यि सबै चाडपर्वहरु अनि तिनका सरल ब्याख्याकासथ नेपाली यादहरुको कोसेली लिएर वर्षदिनभरि यहाँहरु समक्ष आउनेक्रममा आज हामी महाशिवरात्रीको शुभकामना लिएर यहाँको मोबाईल स्क्रिनमा आईपुगेका छौं ।
चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा ब्याख्या गरिएको पाईन्छ ।
अझ नेपाल त झन ईतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी । आज पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा ब्याख्या गर्न सकिन्छ । साधूहरुको ब्यापक उपस्थिती रहन्छ आज पशुपतीमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन, भ्रमणकालागि आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि छ ।
आजको दिन शिवको वरिपरि घुमेको छ , शिव ति भगवान जस्को आकार छैन्, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन हो आज ।
शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनीक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतबाट आउँछ त्यसैमा विलिन हुन्छन् भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टीलाई एउटा दृष्टान्त दिईनैरहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वकारुपमा ब्याख्या गरिन्छ । यिनै तत्वहरुबाट हामी सबै निर्मित छौं, ब्रहमाण्डका यि सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिव हामी सामु अनेक स्वरुपमा छन् ।
यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरु, पलाएका पालुवादेखि छरिएको बिजले माटोमा अङ्कुरण गर्ने स्वरुपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिती छ । धर्म अनुसार नाम फरक होला, ब्याख्या फरक होला तर शिवतत्वका सृजनाकारुपमा हामी रहेका छौं । के बालक के वृद्ध अनि के वयस्क ? आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरु भरिएका हुन्छन्, हामीमध्य धेरैले शिवलाई गाँजा भाँङ धतूरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रुपमा अपब्याख्या या अल्पब्याख्या गरिरहेका हुन सक्छौं तर शिवका यि सम्पूर्ण बानीभित्र सृष्टी अनि समाजको गहिराई लुकेको छ ।
शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए, त्यहि यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँजहाँ बिसर्जन भए त्यहाँत्यहाँ शक्तिपीठहरूको उत्पति हुँदैगयो ।
आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुकालागि भने आज शिव भगवान पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रीको रातलाई अचल अनि निर्भय रात्रीकारुपमा पनि लिइन्छ । योगी अनि साधकहरुकालागि शिव भगवान नभईकन एउटा आदिगुरु हुन् जसले योगशिक्षा सप्तऋृषिहरुलाई औपचारीक अनि दस्तावेजकारुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरु आज संसारभरि स्वस्थ्य रहनकालागि धेरैले अनुशरण गर्नेगर्दछन् । यि प्रातकालका नायक अनि आदिकालदेखिका आदिगुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस् !
संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सँच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ अनि धतूरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रिमा रिस, राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदैजाँऔ । शुभकामना !
नेपाली सेना दिवस
एसीयाका दुई बिशाल सभ्यताहरु अनि बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो । बिश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ ।
पूर्विय सिमा बाट बहने मेची खोला र पश्चिमी सिमाबाट बहने महाकाली यस देशका सिमाहरु हुन् । नेपालको इतिहासको लीखित शुरुवात भने ईशापूर्वको ३५० बर्षअघिबाट भएको पाइन्छ । पौराणीक समयमा गोपाल, महिसपाल, किरांत, लिच्छवी लगायतका बशंले शाषन गरेका यस ठाँउमा राज्यहरु माथि आक्रमण गर्ने, कव्जा गर्ने अनि आफ्नो राज्यको सिमा बिस्तार गर्ने जस्ता कुराहरु समय समयमा भइरहन्थे । रेकर्डहरु केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरु भेटिन्छ । उतिवेला तीव्बत र भारत दुबैतर्फमा राज्यहरुमा आआफ्नै सेना खडा भइसकेका थिए। लीच्छवी बशंको शाषन ताका सेनाको सस्थागत प्रयास नेपाली भूमिमा शुरु भएको इतिहास भेटिन्छ । राजाहरु मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुबर्मा का प्राचिन शोध र तथ्यहरु लगायत शिलालेखमा यि कुराहरु उल्लेख छ । यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरु यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास शुरुवात भएको मानिएको छ ।
नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारभ्मिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरु देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरु लाई बिभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाका हिसाबले संबेदनशील ठाँउमा राख्न थालिएको हो । किल्लाका कमाण्डरलाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुनेगर्दथे, उनैको नेतृत्वमा सैनिकहरु खटाइएका हुन्थ्यो । मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल बंशहरुलाई काठमाडौका मल्लहरुले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरु संग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौ मल्लहरुको रणनैतिक अनि आधूनिक रणकौशल अघि उनीहरु सहजै हारेका थिए । यससमयमा नेपाल बिभिन्न राजा रजौटाहरुमा बाँढिएको थियो, सेनाहरु राजा, यूवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन् । काठमाडौ र डोटी लगायतमा त भारतिय सेनाहरुको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो । तर जब १७ औं शताव्दीमा यूरोपबाट एसिया र अफ्रिकामा उपनीवेषबाद को लर्को शुरु भयो तब बिदेशी सेना अनि घुसपैठी लगायत राज्यहरुमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठूलो चुनौती खडा भयो ।
इस्ट इण्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कव्जा गर्दैगर्दा यता नेपालका राजारजौटाहरुलाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको शुरुवात र सस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतिय भूमिसंग नाता गाँसेर यूद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का शुरुवाती दिनहरु त्यहीवाट शुरु भएको हो ।
ब्रिटीशहरुले गोर्खाली सेनाका बिरुद्धमा बिभिन्न यूद्धहरु लडेका ब्रिटीशहरुले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो । तर नाम भने गोर्खा नै रह्यो, यसैकारणले पनि नेपाली सेनालाई बिदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट शुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ ।
सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्रप्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । बिश्वयूद्ध देखि गृहयूद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भुकम्प होस् या कुनै दुर्घटना या अन्य कृतीक प्रकोप, सेना हरेक ठाँउमा पुगीदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि बैदेशिक शान्ति सैनिकका रुपमा नेपाली सेना सर्वत्र चर्चामा छ । सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्तावाट पनि सेनामा समायोजन गरिएको छ ।
हरेक बर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ र यसक्रमको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौं आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलीकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले बिशेष कार्यक्रम र परेड प्रर्दशन गर्दछ । उच्च आहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिती हुने यस कार्यक्रम हेर्न सर्वसाधरणको भींड लाग्ने गर्दछ ।
देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कुटनैतिक कौशलता सप्तरिको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सुकन् । सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शि र अनुशासीत सस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस बर्षको महाशिवरात्रीको सेना दिवसको सकल नेपालीलाई शुभकामना ।
सिलाचःह्रे
नेवा समुदायले शिवरात्रीकै दिन सिलाचःह्रे पूजा गर्ने गर्दछन् । यस दिन क्लब या गुठीका मान्छेहरु बिशेषत केटाकेटीहरु मिलेर बाटाबाटामा पैसो उठाएर त्यस रकमले साझमा आगो बाल्ने अनि मकै लगायतका कुराहरु भुटेर खाने चलन पनि हुन्छ । यसरी बाटो छेकेर पैसा लिने चलन लाई जगा छेक्ने भनिन्छ ।यसरी सबैजना टोल छिमेक अनि गुठीका मान्छेहरु भेला भएर आगो बाल्ने अनि पूजा गर्ने भएकाले सिलाचःह्रे पूजा केटाकेटी माझ एकदमै लोकप्रीय छ । यस पूजा शिवरात्रीकै दिनमा गरिन्छ, यसरी साझमा पूजा पनि शिव कै गरिन्छ । शिवरात्रीको तीथि नेवा महिनामा नेवा पात्रोमा सिल्ला महिनामा पर्दछ, यस महिनालाई नेवा महिनामा पावन महिनाका रुपमा लिइन्छ । यस दिन नेवा समुदायमा पनि ब्रत बस्ने चलन हुन्छ र साँझमा आगो बालेर हलुवा,पुरी अनि स्वारी पकाएर खाने चलन हुन्छ ।
यस सिलाचःह्रेको सबैलाई शुभकामना ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस
"हाम्रो देशको मातृभाषाहरुको सम्मान गर्दै हाम्रो पात्रो अहिले अंग्रेजी सहित ७ ओटा राष्ट्रिय भाषामा प्रस्तुत छ र चाडै नै अरु स्थानीय भाषाहरुमा पनि क्रमश समेट्दै लग्न प्रतिबद्ध छ। प्रयोगकर्ताहरुले हाम्रो मेन्युमा गएर आफ्नो मातृभाषा छनौट गरी हाम्रो पात्रो प्रयोग गर्न सक्नुहुनेछ।"
नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरु छन् । चाहे 'ल्हासो' भनुन 'नमस्ते' भनुन या 'सलाम-वालेकुम' भनुन या 'जदौ' या 'तारेमाम' यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सद्भाव । आउनुहोस् जुनसुकै भाषा बोल्ने सकल नेपालीजनमा आजको यो अन्तर्राष्ट्रिय मातृभाषा दिवसको हार्दिक शुभकामना दिऔं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । सन् २००० देखि संयुक्त राष्ट्र संघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई वहुभाषिक र वहुसांस्कृतीक जनसंख्या अनि त्यो जनसंख्यासंग जुटेका विविध भाषाको कदर स्वरुप हरेक वर्षको फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको विगुल बजाउन आग्रह गरेको थियो ।
मानव सभ्यता अनि अभिब्यक्तिकालागि भाषा एउटा महत्वपूर्ण आधार हो, भाषाका माध्यमबाट हामीले हाम्रा धेरै प्रत्यक्ष अनि परोक्ष सांस्कृतीक सम्पत्तिहरुको रक्षा र संग्रह गर्दै आएका छौं, त्यसैले त आज पनि भाषा अनि लिपिमा लिपिबद्ध दस्तावेजहरु श्रीमद्ध भाग्वत गीता, कुरान, बाईबल, त्रिपिटक आदि थुप्रै ग्रन्थ अनि वेदहरु जोगाएका छौं । नत्र भाषा नहुने हो भने यी हज्जारौं वर्ष अगाडिका ग्रन्थहरु आज पनि हाम्रा सिरानी, सन्दुक तथा मनभित्र कहाँ हुन्थे र ?
आफ्नै मातृ भाषामा विद्यालय अनि विश्वविधालयका पाठ्यक्रमहरु उपलब्ध भएमा अध्यन कति सहज हुन्थ्यो होला ! यस्ता प्रकारको सहज सिकाई अनि पाठ्यक्रममा पनि जोड दिन जरुरी छ । राष्ट्रिय भाषा नेपाली त हाम्रो मुटुमै छँदै छ तर मातृभाषाको स्वादमा विषयबस्तुको सहज बुझाई पनि मानव अधिकार हो । कमसेकम शुरुवाती सिकाईहरु मातृभाषामा भर्इदिए हुर्कंदै गरेका केटाकेटीहरूका बुझाइकालागि विषयबस्तुहरु उसकालागि सहज र सरल हुन जान्छ ।
भारतबाट पाकिस्तान छुट्टिएपछि अहिलेको बङ्गलादेशलाई पूर्वि पाकिस्तान भनिन्थ्यो । आजको दिन सन् १९५२ मा बङ्गाली भाषाको औपचारीक प्रयोगकालागि बङ्गला युवाहरुले गरेको प्रदर्शन अनि त्यसमा मारिएका भाषाप्रेमी शहिदहरुको बलिदानको सम्झना स्वरुपमा मनाईन्छ । स्मरण रहोस् भारत र बङ्गलादेश मात्र यस्ता देश हुन जसको राष्ट्रगान एकै ब्यक्तिले रचना गरेका थिए, उनी हुन पण्डित रविन्द्र नाथ टेगौर । संसारमा यो भाषगत् अनि राष्ट्रिय पहिचानका मूलस्तम्भ राष्ट्रिय गान नै एकै कवीले लखेको उदहारण अहिलेसम्म अन्यत्र छैन् ।
यो विशेष दिन विश्वव्यापी रूपमा मातृभाषाको महत्व र यसको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मा लोप हुन लागेका करीब ३००० भाषाप्रति मानिसहरुको ध्यानाकर्षण गराउने अाैपचारिकता अारम्भ गरिएको थियो । त्यस वर्ष UNESCO ले “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराकासाथ लोप हुनलागेका भाषाहरुमा सम्बन्धि समाजलार्इ प्रकाश पार्न महत्वपूर्ण कदम चालेको थियो ।
पहिचानको दौडमा बेजोडले कुदिरहेको नेपाल अनि नेपालीका परिवर्तित आकांक्षाहरुले सम्पूर्ण नेपालीहरुका भाषा अनि पहिचानलाई आत्मसाथ गर्दै अगाडि बढ्न सकुन्, भाषा अनि बोली दुबैको सम्मान होस् ।
---
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: