पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग-अलग हुने हुँदा पापमोचिनी एकादशीको पनि निकै महत्व रहेको छ । पाप मोचिनी एकादशी प्रत्येक सम्वत् अथवा सालको अन्तिम एकादशी हो । यो एकादशीलाई होलिका दहनका दिन र बाँकी नवरात्रीको मध्यमा पर्ने भएकोले पनि पापमोचिनी एकादशी भनिएको हो ।
पुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार पाप मोचिनीको अर्थ पापबाट मोचन षनष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दू धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिंदैनन् कि उनीहरुले कुनै न कुनै पाप जानजान वा अन्जानमा गरेका नहुन् । तसर्थ सवैका लागि यस पाप मोचिनी एकादशी ब्रतको महत्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ । ईश्वरीय विधान अनुसार पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउनका लागि पाप मोचिनी एकादशीको ठुलो महत्व रहेको हुन्छ । यस बारेमा महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पाप मोचिनी एकादशी ब्रतको प्रसंग उल्लेख गरिएको छ । कथा प्रसंग अनुसार राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरुबाट कसरी मुक्त हुन सकिएला भनि राखेको प्रश्नमा जवाफ दिंदै पाप मोचिनी एकादशी ब्रतको महत्वबारे उल्लेख गर्नुभएको छ ।
कथा अनुसार चैत्ररथ वनमा च्यवन नाम गरेका ऋषिमूनि पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यहि बेला ती अप्सरा र मेधावी ऋषि माथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलनका लागि सहयोग गर्न थाले । कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसंग झनझन नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै बिमुख भए । आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए- 'तिमी पिशाचिनी बन' । अप्सरा मेधावीका शरणमा परिन् र गल्तीको प्राश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय बिनय गरिन् । फलस्वरुप मेधावी ऋषि आफैंले मञ्जुघोषालाई सम्झाई-बुझाई गरी चैत्र कृष्ण एकादशीको ब्रत अर्थात पाप मोचिनी एकादशीको ब्रतको विधि सविस्तार बताईदिए । कामयोग निमग्न भएर तेज लोप भईसकेका ऋषि आफैं पनि पाप मोचिनी एकादशीको ब्रत बसे । ब्रतको प्रभावले अप्सरा पिशाच योनिबाट मुक्त भइन् र उनी अझ सुन्दर भई स्वर्ग तर्फ लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसंग अनुसार पाप मोचिनी एकादशी ब्रतको महत्व अहिले पनि उतिकै रहेको छ ।
पाप मोचिनी एकादशीको ब्रतका क्रममा भगवान् विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ । अघिल्लो दिन सात्विक भोजन एकपटक गर्नुपर्दछ । मनमा रहेको भोगविलासको भावना त्याग गर्दै भगवान बिष्णुको नाउँ लिनु पर्दछ । एकादशीका दिन सूर्योदय कालमै स्नान गरी विधिपुर्वक ब्रत संकल्प गर्नु पर्दछ । यसरी ब्रत संकल्प गरेर षोडशोपचार विधिले श्री विष्णुको पूजा गर्नु पर्दछ । एकादशी ब्रत समाप्ति पश्चात निराहार रहि रात्री जागरण गर्नु पर्दछ । यसो गर्नाले अझ धेरै गुणा पुण्य फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन समेत स्नान गरी विष्णु भगवानको पूजा गर्नु पर्दछ । त्यसपछि ब्राह्मण भोजन गराएर दक्षिणा सहित विदा गर्नु पर्दछ र आफुले पनि भोजन गर्नु पर्दछ ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
विश्व मुख स्वास्थ्य दिवस
विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज । नारा छ यस वर्षका लागि से आः! अर्थात (मुख) आः गर भन्ने । यसो भन्दा मुख खोल्न पर्ने हुन्छ र मुख भित्रका स्वास्थ्य राम्रा भएमा मान्छेले खुलस्त अनि स्वतन्त्ररुपमा मुख खोल्दछ भनेर यस्तो नारा राखिएको हो ।
स्पेनको मेड्रिडमा भएको डेन्टल कांग्रेसले हरेक वर्ष यस दिवसका लागि नयाँ नयाँ नारा बनाउने कार्य गर्दछ । यस वर्षको नारा नै आः गर र मुखको स्वास्थ्य अनि पूर्ण स्वस्थ्यको बारेमा सोच भन्ने रहेको छ । सामान्यतया दन्त चिकित्सक कहाँ हामी जाँदा मुख खोल्नुहोस् त भन्दा आः गर्नुहोस् भन्ने गर्दछन्, याद गर्नुभएको छ ?
मुखलाई त स्वास्थ्यको दर्पण नै मानिन्छ, मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसंग जोडेर हेरिन्छ । मुखको स्वास्थ्य अनि सम्पूर्ण शरीरको स्वास्थ्य अत्यन्त निकट कुराहरु हुन् । मुख नै हरेक खाना अनि सरसफाईको मुख्य बाटो हो, हैन र ?
मुख नै फोहोर भएमा शरीर स्वस्थ कसरी रहन सक्छ र ?
आजको दिनले मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने अन्य संक्रमण र रोगहरुको जनचेतना फैलाउने काम गर्दछ । जस्तै कि मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरु हुन् ।
यी कुराहरु हामीले आउने पुस्ताहरुमा पनि सिकाउन जरुरी मानिन्छ । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन्, विश्वव्यापी तथ्याकंका अनुसार केवल १३ प्रतिशत आमाबुवाले मात्र आफ्ना सन्तानलाई पहिलो जन्मदिन अघि दन्त चिकित्सककोमा लग्ने गर्दछन् ।
बच्चालाई पीडा भएपछि मात्र दन्त चिकित्सककामा लिएर जाने आमाबुवाको प्रतिशत २३ प्रतिशत छ । वास्तवमा पीडा हुनु अगावै नै चिकित्सकका मा रोकथाम अनि जाँचका लागि लान जरुरी छ । र अझ जरुरी छ उनीहरुको मुखको स्वास्थ्यका लागि जरुरी बानी व्यहोराहरुको शुरुवात । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी कुराहरु हुन् । खैनी, चुरोट लगायतका विभिन्न अम्मलको सेवनले पनि मुखको स्वस्थ्यमा असर गरिरहेको हुन्छ, अझ हाम्रो देशमा यस्ता अम्मलको प्रयोग समाजका सस्कार मै जोडिएको सम्म पनि छ ।
यो राम्रो कुरा हैन, स्वस्थ हुनु नै धन हो हैन र ? अहिले त झन विभिन्न टुथपेस्ट अनि केही सुन्दरताका उत्पादनका विज्ञापनले मुखको स्वास्थ्यलाई धेरै उजागर गरेको छ तर मुखलाई स्वस्थ राख्न त्यति पनि जटिल छैन जति ति उत्पादनहरुले व्याख्या गर्दछन् । सानै उमेर देखि दिनहुँ सफा गर्ने, पखाल्ने, प्रभावकारी तरिकाले ब्रश र पेस्ट लगाउने गर्नाले दाँतको समस्या धेरै हदसम्म समाधान हुन्छ । ब्रश गर्दा धेरै घोटेर गर्नु राम्रो हुन्छ भन्ने सोच गलत हो, उपयुक्त तवरले तलमाथि गर्दै ब्रश गर्नु जरुरी हुन्छ । अन्य कुरामा हजारौं खर्च हुँदा पनि वास्ता नगर्ने औसत नेपाली हामी दाँत मोल्ने ब्रश चाहिँ खासै खर्च गरेर राम्रो किन्दैनौं, किन होला ?
मुखको स्वास्थ्यमा लगानी गर्न यस वर्षको ओरल हेल्थ दिवसले सबैलाई सिकाओस् ।
मुख खोलेर हाँसौं, हृदय खोलेर हाँसौं ।
अन्तराष्ट्रिय खुशी दिवस
कुनै कुनै समयमा या धेरैजसो विश्व अनि समुदायको खबर चाल पाउन हामी पत्रिका, टिभी या मोबाइल अनि इन्टरनेट खातल्ने गर्दछौं, हैन र ? कहिलेकाँही पूरा विश्व नै अलिक अपारदर्शी अनि निम्छरो कालो रंगमा उदासी पलमामा घेरिएको जस्तो पनि लाग्दछ भनें अर्कोतर्फ हाम्रो आआफ्नो दिक्कलाग्दो दैनिकी पनि एकातर्फ छ । हरेक पल हामी मुस्कुराएरै बस्न सक्दछौं भन्ने तर्क पनि उति बास्तविक नहुन सक्दछ, खुशीको २४ घण्टे डोज विश्ववजारमा उपलब्ध त पक्का छैन तर बेखुशी भित्रको खुशी अनि अँध्यारो भित्रको उज्यालोको खोजि नै खुशीको खोजि हो ।
संगीतकार अनि गीतकार लोचन घिमिरेको एउटा गीतको शब्द सापट लिँदै आज अन्तराष्ट्रिय खुशी दिवसको उद्धघोष गर्ने चाह राख्दैछु ।
खोजि हिँडे म खुशी
आँगनमा गट्टा खेल्दै छे सानु, उस्लाई पनि त म सोधी हेरु
के खुशी छेस तँ भनी
हातको गट्टा देखाँउदै उ भन्छे, देख्दैनस हाँसेर खेलेको पनि
खुशी नै छु म भनी
मागेर हिँड्ने बुढो साथीलाई सोधेँ , के खुशी छौ त भनी
हातको भाँडो देखाँउदै भन्यो
दिन त कट्यो नि जसोतसो
खुशी नै छु म पनि
खुशीको खोज कस्तुरी मृगको तृष्णा झैं छ, हामीभित्र भएको खुशीलाई बाहिर खोज्ने क्रममा हामी कहिले ठूला घरमा, फराकीला गाडीमा, जहाजमा, घडीमा, पैसोमा अनि अन्य बिभिन्न ठाँउमा खुशी खोज्दछौं तर खुशी त्यहाँ कहाँ पाउनु र ? त्यसैले त होला आजभोली घरका परिधी ठूला छन् तर मनमा खुशी छैन, बाटामा बेफिक्रि हिँडिरहेका पैदलयात्रुहरु बेफ्वाँकमा हाँसेका देखिन्छन् तर चिल्ला गाडिमा एसी खोलेका अनुहारहरु नै बेखुशीमा पसिनाले भिजिरहेका हुन्छन् । खुशी आँफैभित्र छ, कुनै बस्तु या परिस्थितीले बाध्यकारी नबनाउने मानव जिवनको यो अपरिहार्य कुरालाई महत्वका साथ राख्दै हरेक वर्ष मार्च २० तारिखमा बिश्वले खुशी दिवसका रुपमा मनाँउदछ ।
शारीरीक र मानसिक खुशी हुनु, आफु वरपरका चिज र बस्तुहरुलाई सकारात्मक रुपमा हेर्न सक्नु, अध्यात्मिक चिन्तनको खोजि र आत्मसाथ गर्नु अनि जिवनका हरेक अवयवलाई सहर्ष स्वीकार गर्नु नै खुशीको खोजि हुनसक्दछ ।
खुशी हुनु आवश्यक्तामात्र नभई जिवनको सार हो, हाम्रो अधिकार हो अनि अनि हाम्रो कर्तव्य पनि । भोलीको चिन्ताले आजको वर्तमानलाई असर पार्न निदनु र भोलीको चुनौतिलाई आजको दिनमा उर्जा अनि आत्मविश्वासले सामना गर्न सक्नु नै खुशीको असिमित संभावनाको जाहोरी हो ।
एउटा बच्चाको खिलिखिलाएको हाँसोमा डुबेको भावना, एउटा वयस्कको निरपेक्ष हाँसोको चाहना अनि जिवनको हरेक मोडसंग सामना गर्दै आएका बृद्धबृद्धाका जिवनसंगको सन्तुष्ट खुशीका रेखाहरु, संसार यसैमा त टिकेको छ । मुसस्काउँ, मज्जाले मुस्काँउ, यो विश्वको सर्वाधिक ठूलो सम्पति हो जस्लाई अकाण्टको कुनै ब्यालेन्स सिटमा लेखा राखिन्न तर जिवनको प्रोफिट एण्ड लस अकाउण्टमा हरेक हाँसो र खुशीका कारणहरुको लेखाजोखा रहन्छ । हाँस्न जरुरी छ ।
खुशी खोजिमा नशामा चुर्लुम्म डुबेका अँधरहरुलाई खुशी नशामा हैन होश अनि चेतनामा छ भनेर बताउने कसरत पनि आजकै दिनमा गरिन जरुरी छ । खुशी एउटा बिज्ञान र कला दुबै हो, खुशी हुनसक्नु एउटा सीप हो । मानसिक सेडेटिभ ओखती खाएर अफिसमा कृत्रिम हाँसो बोकेर जाने साथीहरुलाई हाँसोको अर्गानिक स्वरुपको मन्त्र पनि सिकाउन जरुरी छ, हाँसोलाई प्रार्थमिक्ता दिन अनि खुशीलाई जोडदार महत्व दिन सिक्ने सिकाउने दिन पनि यही हो ।
बिहान उठ्ने बित्तिकै उदाएको सूर्य देखेर हाँस्नु र खुशी हुनु सिक्न र सिकाउन जरुरी छ, उदि प्राप्ती र जीतले मात्र खुशी हुने हो भनें जिवनका गोरेटोमा हार र बिछोडले पनि उत्तिकै पोल्टाहरु कसेका छन् हैन र ? यस वर्षको खुशी दिवसको नारा नै साथमा सबै खुशी हुने भन्ने रहेको छ, विश्व समुदायले यसवर्ष सबैजनामा भएको समानतालाई केन्द्रमा राख्दै त्यस समान धागोका लागि खुशी हुन आव्हान गरेको छ । सन् २००६ बाट यस दिवसको शुरुवात भएको हो ।
आउनुहोस् साथमा एक धर्को मुस्कान राखौं, खुशी हुन सिकौं र सिकाऔं ।
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार गर्नुभएको ।
Liked by: