ल्होछार अर्थात 'ल्हो' भन्नाले साल अथवा सम्वत् अनि 'छार' भन्नाले नयाँ भन्ने बुझाउँछ । आउनुहोस् सोनाम ल्होछार मुसाको नया वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।
तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा 'ता' भन्नाले घोंडा अनि 'माङ' भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । 'ल्होछार' शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा 'ल्हो' अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षपनि मुसाको वर्ष हो। बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।
नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई 'चन्द्र पात्रो' भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।
गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।
आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत अनुरुप भने सोनाम ल्होछार हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होछारको महिनाभरि नै सबैलाई स्वागत छ ।
सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलाई 'तामाङ सेलो' भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।
नकारात्मक तत्वहरुलाई हटाउनकालागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि आज विभिन्न तान्त्रिक विधी अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।
लामाहरुसंग आशिष लिएर आजको दिन वर्षभरिकालागि शुभ साईतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्याली निकालिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामूदायिक रुपमा पनि समूदायका सबैजना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रुपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समूदायहरु वास्तवमै एउटा अनुकरणीय समूदाय हो ।
सोनाम ल्होछारको शुभकामना ! असल कामनाहरु अनि आशाहरुले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।
श्रीबल्लभ जयन्ती
आचार्य श्री वल्लभ एक महान दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए। श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरुको रचना गर्नुभयो। जसमध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदीलाई उहाको चर्चित रचनाहरुको रुपमा स्मरण गरिन्छ। त्यसबाहेक श्री बल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरुलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गर्नुभयो। आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो।
सानो उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर श्री बल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टाको मा पठाए। तेह्र वर्षको उमेरमा श्री बल्लभले वेद-वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नुभैसकेको थियो।
श्री बल्लभको उमेर बढ्दै गएसँगै उहाको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री बल्लभले शंकराचार्यको उपदेशहरुको खण्डन गर्दै ब्रम्हाले पनि यो जगतको सत्यता नबुझेको भनि बताउनुभयो । यसैकारण श्री वल्लभका दार्शनिक सोचलाई "शुद्धाद्वैत" पनि भनियो। उहाको दार्शनिक सोचहरुबाट अति प्रेरित भएर नै त्यसबेलाको विजयनगरका राजाले श्री बल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गर्नुभयो। त्यसबेला देखि नै श्री बल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ।
Liked by: