आज अक्टोबर १४, नेपाल सहित विश्वभर ४६औं गुणस्तर दिवस मनाईंदैछ । बेलायतको लण्डनमा सन् १९४६ मा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनले गुणस्तर सम्वन्धि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइएसओको निर्माण गर्ने निर्णय गरेको थियो । त्यहि दिनको सम्झनामा सन् १९७० देखि अक्टोबर १४ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने विशेषगरी उद्योग मन्त्रालय अन्तरगत गुणस्तर तथा नापतौल विभागको अगुवाईमा यो दिवस मनाईन्छ । वस्तुको गुणस्तर कायम, गुणस्तरीय सामानको उत्पादन र वितरणका लागि नियमन अनुगमन र मुल्यांकन तथा उपभोक्ता सचेतना लगायतका कार्यक्रम यस अवसरमा गरिन्छ । गुणस्तर दिवसका अवसरमा एनएस चिन्ह पाएर वस्तु तथा सेवाहरुको गुणस्तर कायम गर्न सक्षम उद्योग प्रतिष्ठानहरुलाई क्वालिटी अवार्ड वितरण गरिंदै आएको छ ।
नेपालमा वस्तु तथा सेवाको गुणस्तरलाई नियमन गर्न औद्योगिक उत्पादनको गुणस्तर सुधार र परिमाणात्मक बृद्धिको उदेश्यले वि.सं. २०३३ सालमा गुणस्तर निर्धारण समितिको गठन भएको थियो । त्यसलाई कार्यान्वयन गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ को लागू गर्दै उक्त समितिलाई उद्योग मन्त्रालय अन्तरगत विभागीय स्तरमा परिवर्तन गरेर नेपाल गुणस्तर कार्यालयमा परिणत गरियो । उक्त विभागले २०३७ सालदेखि गुणस्तर चिन्ह प्रदान गर्न थालेको हो । पछि नेपाल गुणस्तर कार्यालय तथा नापतौल विभागलाई समायोजन गरी वि.सं. २०४४ साल श्रावण १ गतेदेखि 'गुणस्तर तथा नापतौल विभाग' स्थापना भयो । यस विभागले औद्योगिक उत्पादनमा निर्दिष्ट गुणस्तर कायम गराउने, आन्तरिक तथा बाह्य बजारमा गुणस्तरीय वस्तुको कारोवारको लागि उपयुक्त वातावरण श्रृजना गर्ने, औद्योगिक उत्पादनद्वारा वातावरणमा पर्ने प्रतिकुल असर घटाउने, उपभोक्ता हित संरक्षणका क्षेत्रमा मद्दत पुर्याउने साथै स्तरीय नापतौलको अग्रणी भूमिका निर्वाह गर्ने मुख्य कार्यभार पुरा गर्दै आएको छ । यस विभाग अन्तरगत हाल देशका बिभिन्न स्थानमा ६ वटा क्षेत्रीय कार्यालय, २ वटा कार्यालय, १ वटा प्रयोगशाला र काठमाडौं उपत्यकामा टेम्पो ट्याक्सी इकाई रहेको छ । अहिलेसम्म पाँच दर्जन वस्तु तथा सेवाहरुको उत्पादनमा संलग्न करीव छ सयवटा उद्योग तथा उत्पादनकर्ताहरुले नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान प्राप्त गरिसकेकाछन् । तर ति मध्ये करीव डेढ सयवटा वस्तु र सेवाहरु मात्रै उत्पादन कार्यमा सक्रिय छन् । बाँकी निस्कृय भई खारेजी समेत भएकाछन् ।
नेपालमा हाल गुणस्तर कायम गर्ने उदेश्यले नेपाल गुणस्तर (प्रमाणचिन्ह) ऐन २०३७, नेपाल गुणस्तर नियमावली (प्रमाणचिन्ह) २०४०, स्टान्डर्ड नाप तौल ऐन २०२५ र स्टान्डर्ड नाप र तौल नियमहरू २०२७ कार्यन्वयनमा रहेकाछन् । तर पनि गुणस्तरहीन र मिसावट युक्त उपभोग्य वस्तुहरुको उत्पादन र वितरण गर्ने उत्पादनकर्तामाथि उपयुक्त कारवाही गर्न समस्या देखिने गरेको छ । उत्पादनमा गुणस्तर प्रमाणचिन्ह आइएसओ अंकित गराउने काम ऐच्छिक हुनु र कुनै पनि उद्योगले गुणस्तरहीन सामान उत्पादन वा आयात गरेमा हुने कारवाही प्रक्रिया कमजोर भएको उपभोक्ता अधिकारकर्मीहरु लगायतका सरोकारवालाको गुनासो छ । कालाबजारी र गुणस्तरहीन सामग्रीको बिगबिगी, खाद्यवस्तुमा मिसावट र कम नापतौल राखेर बेचविखन भइरहेको गुनासो बढ्न थालेको छ । त्यहि भएर उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्न बिभिन्न संघ संस्थाहरुले सक्रियता बढाएका छन् ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: