नेवा पात्रोको आठौंमहिना तछला हो जुन बिक्रम संवतको जेष्ठ महिनासंग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासंगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरि दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।
अब यसमासले अर्थात तछलाले ल्याउने दुईवटा महान नेवा चाडहरुलाई यहाँ प्रस्तुत गर्न चाह्यौं जसमा शुक्ल पक्षको षष्ठिमा सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथी नखः चाडकै दिन पनि दिएका छौं । सक्षेपमा यस सिथी नखः पानीका मुहान सरसफाई, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन बिशेष परिकार वो खाने चलन छ र यस दिन पानीका मुहानहरु सरसफाई गर्ने चन रहने गरेको छ ।
अब पूर्णचन्द्रको दिनको कुरा गरौं जसलाई गैंडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्धमार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्धमार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात पूर्णीमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजिमा घर छाडेर निस्केको बताइन्छ ।
बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरु उठ्ने गर्दछन तथापी केही बौद्धमार्गी ग्रन्थहरुमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तीक लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।
कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनकालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्व ज्ञान अनि त्यागसंग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रुपमा उल्लासका साथ मनाँउदछन् ।
यस पूर्णेलाई काभ्रेको पनौतिमा अझ उल्लासका साथ पनौति पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रुपमा पनौति नगर नेपालको एउटा पवित्र शहर हो जसले हजारौं वर्षदेखि कला, सास्कृतिक धरोहर अनि सस्कारको जगेर्ना गर्दै आएको छ ।
काठमाडौं पूर्वको पनौतिमा पनौति जात्रा कै रुपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीकोे प्रेमरस अनि यौनउन्मात पनि अप्रत्यक्ष रुपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरु राती महिला अन केटाकेटीसंग लुकाएर गर्ने चलन छ ।
रथयात्राका क्रममा रथहरुलाई नगरका बिभिन्न ठाँउमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र सस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिगर्मनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौति बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरुपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।
तर शुक्लपक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरुलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रुपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्व छ । यस रितलाई पनौति स्नान पनि भनिन्छ ।
थोरै किंबदन्ती उक्काउन चाह्यौं जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पुजा गर्न पारी जानुपर्ने थियो । त्यसै वखत पुजारीले वासुकी नागसंग सहयोग मागेर खोला तरेको प्रसंग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।
यसवर्षको ज्या पुन्हि या पनौति पुन्हि या गैहुं पूर्णे जे भनेपनि यस पूर्णेको शुभकामना । शुक्लपक्षको पूर्ण चन्द्र झैं हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी उर्जावान सदैव चलायमान होस् ।
शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: