एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ ।
सुस्तरि हुर्कदै जाँदा उसको जीवन वाट बालापन अनि त्यो बालकको छवी हराँउदछ, उ अब हास्नका लागि कारण खोज्दछ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण बिधार्थी हुँदै जान्छ, बिधालय अनि कलेजका कार्य, कामको तनाव, समबन्धको गहिराई अनि जीवनका साध्यहरु ले उसको हाँसो शोषेर लाने गर्दछन् । हाम्रो वयस्क जीवनको कार्यगत अनि बिधार्थी पलको अधिकाशं हिस्सा काम अनि भागादौड मै बित्दछ । चाहे बालक होस् या बृद्ध अनि वयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्दछ । तनाव, सीमा, तुलना, संयम अनि हिनतावोधी धेरै कुराहरु बीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ, हामीले सबै कुरालाई सन्तुलनमा राखेर अगाडी बढ्न जरुरी छ । जीवन केवल उपभोक्ताशीप र उपलव्धीको धरा्ेहर मात्र हैन्, शुन्यता बीच रहेको निरपेक्ष हरेक श्वाँसहरुको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्न जरुरी छ ।
सूर्य उदाँउदा हाँस्न भुलेको मानस लाई आजभोली हाँस्नका लागि बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरु चाहिन्छ, जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफु अगाडि बढ्नु लाई जीत को परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धा बीच अन्योल को परिधी बनाएका छन् अनि तनाव पूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।
यस्ता प्रतिनिधी पात्र बालक जस्ता अरबौं मानिसहरु एक खित्का पनि नहाँसी अनि तनाव वीच नै आफ्ना दिन अनि बर्षहरु गुजारी रहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरु त हाम्रा टोलछिमेक मै दैनिक सुनिन्छ ।
मानसिक स्वास्थको यिनै मुद्धा अनि परिवेशले ल्याएको चुनौत्ी लाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरु भनेको मानविय संवेदनात्मक सहयोग र भावनात्मक प्रार्थमीक उपचार हरु हुन् ।
जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरुलाई भौतिक प्राथमीक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दूर्घटनामा परेका ब्यक्तिहरुलाई तत्कालै सही मानसिक प्राथमीक उपचार गर्न जरुरी हुन्छ ।
बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेका छन् । जीवन अनमोल छ र यहाँ महत्वपूर्ण कुराहरु जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो, कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त विर्सिरहेका छैनौ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।
स्मरण रहोस्, हरेक बर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेका छन् , खुशी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थको पहिलो खुडकिलो हो ।
हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन्, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलव्धी हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाँया को पछाडी कुद्न बन्द गर्दै जीवनको वास्तवीक मुल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सिमीत जीवनका दिनलाई रमाईलो गरि बिताउने साहस सबैमा होस् ।
मानसीक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायीत्व हो, उनीहरूलार्इ दया होइन माया र स्नेहले भरीएको सामाजिक संरचनाको विकास गराैं ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: