अन्तर्राष्ट्रिय आप्रवासन दिवस् | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अन्तर्राष्ट्रिय आप्रवासन दिवस्




विदेशी भूमीमा पसिना चुहाईरहेका नेपालीजनहरु लगायत पासपोर्ट अनि भिसाको लाईनमा उभिएका आँखाहरु सबैतर्फ आजको यो दिन विशेषले असर गर्न सकोस । सुरक्षित आप्रवासन आजको आवश्यक्ता हो, हैन र ? स्वदेशी माटो अनि आवुहवाबाटै सपना पुरा गर्नसक्ने सार्मथ्य अनि पौरखको विकास गर्न पनि जरुरी छ, छोराछोरीलाई पराईकोमा पठाएर ल्यार्इ कमाएको धनले घर त चल्छ तर मन जल्छ, जलिरहेको छ । विदेश भन्दा स्वदेश श्रृङ्गार्ने वातावरण बनाउन सकियोस् ।


अन्तर्राष्ट्रिय आप्रवासन दिवस विशेष अडियो सामाग्री

प्रत्येक वर्षको डिसेम्बर १८ तारीखका दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईन्छ । आप्रवासीहरुको अधिकार अनि आप्रवासनको सुरक्षित र कानुनी प्रावधानहरुको बारेमा छलफल र विमर्श गर्दै सुरक्षित आप्रवासनकाबारे जनचेतना फैलाईन्छ । 

मुनामदनको कथा देखि वर्तमान समयसम्म नेपाली शहर तथा गाँउहरुसम्म आप्रवासनका कथाहरु अनि वास्तविक्ताहरु झल्किन्छन्, हैन र ? भोटमा काम खोज्दै जाने मदन होस् या तिब्बततर्फ नुन लिन जाने नेपाली कथाहरु अनि हिजोअाज घरैपिच्छे विभिन्न देशमा काम अनि बसाईका क्रममा पुगेका नेपालीजनहरु, आप्रवासन नेपाली समाजको एउटा अभिन्न अङ्गझै भएको छ । अहिले यो आलेख कुनै विदेशी भूमीमा बसेर समेत तपार्इ पढिरहेको हुनुहुन्छ होला । आज विश्वभरका आप्रवासीहरुको दिवस हो, विश्व मानचित्रमा आप्रवासन सहज र सुरक्षित हुन जरुरी छ । 

मानव सभ्यताको क्रमसँगै विभिन्न कारण अनि मान्यता अनुरुप आप्रवासन विभिन्न स्वरुप अनि प्रकृतिमा हुँदै आएको छ । सुलभ वासस्थान, सुरक्षा अनि कृषिजन्य भूमीको खोजिमा शुरुुशुरुमा व्यक्ति अथवा समूदायले एक ठाउँबाट अर्को ठाउँमा बसाईसराई गर्ने गर्दथे भने सभ्यताक्रमसंगै कोरिएका कृतिम देश अनि भू-भागका काल्पनिक रेखानुसार विकसित ठाँउमा ललाइत भएर बसाई सर्ने क्रम विद्यमान छ । प्राकृतिक विपत्तिका कारणले अनि युद्धका कारणले पनि बसाईसराई गर्ने मान्छेहरुको फेहरिस्त इतिहासले बयान गरेकै छ ।

आजको वर्तमान यूगमा विकास, अवसर अनि आप्रवाशनको गहिरो समबन्ध छ नत्र कलकलाउँदो खोला, जाज्वल्यमान हिमाल अनि हरियालीका फाँटहरु छाडेर नेपालीहरु अरबका मरुभुमी अनि अन्य विश्व कन्दरामा किन पुग्थे र ? 

सिरियामा भएको द्वन्द्वपछी अाफ्नो भूमी छाडी जीवन जोखिममा राखेर अन्य देशको शरण पर्नगएका शरणार्थीहरु अनि उनिहरुको समुन्द्रको अन्त्यहिन कष्टपद यात्राले धेरैको ज्यान गएको छ । एकजना साना बालकको समुन्द्र किनारमा बगेर ल्याएको मृत शरीर अनि खुल्ला अवोध आँखाको दृश्य भएको तस्वीरले संसारलाई रुवाएको पनि धेरै भएको छैन । आप्रवासनको कुरा गर्दा विभिन्न कारणले शरणार्थी बनेका मानव अनि तिनका पीडाहरु पनि सम्झिन जरुरी छ । इराक, अफगानिस्तान, सिरिया, लिविया लगायत देशका शरणार्थीहरु अनि उनिहरुले भोगेका शारीरिक, मानसिक तथा देश छाड्नु पर्दाको भावनात्मक पीडाले दिएको दुखाइमा सारा संसारको एक्यवद्धता सहितको स्वर जरुरी छ । 

नेपाल पनि एउटा खुल्ला अनि मानवता प्रदायक देश हो जसले इतिहासका विभिन्न कालखण्डमा छिमेकी शरणर्थीहरुलाई सहृदय स्वागत गरेको छ । तिब्बती शरणार्थीहरुलाई सहृदय वास दिएको नेपालले क्रमश: नेपाल-भारतको पूर्वी नाकाबाट अमानवीय तरीकाले नेपालतर्फ धपाइएका भूटानी शरणार्थीहरुलाई पनि आफ्नो खुल्ला छातिमा स्नेहमयी स्थान दिएको हो । आजका दिन ति सम्पूर्ण नजिकका तर आगन्तुक पाहुनारुपी शरणार्थीहरुलाई पनि हाम्रो न्यानो सम्झना ।

आजभोली नेपाली अर्थतन्त्र अनि अर्थशास्त्रीहरुले सँधै भट्याउने एउटो थेगो रहेको छ, नेपालको अर्थतन्त्र रेमिट्यान्स अर्थात विप्रेषणले धानेको छ । तर यसरी रेमिट्यान्स पठाएर घर-ब्यवहार चलाउने नेपाली वैदेशिक कामदारहरुको अधिकार अनि आप्रवासन सुरक्षा विषयमा गम्भिर हामी अझै छैनाैं । गाउँगाउँमा रेमिट्यान्स कम्पनीहरु छन्, विदेश जानेको ताँती पनि लामै छ तर आप्रवासन अधिकारको सुनिश्चितता नभएर नेपालीहरु विदेशमा जोखिमपूर्ण कार्य गर्न, कम पारिश्रमीकमा कार्य गर्न अनि आधूनीक दास बन्न बाध्य छन् ।

यी सबै कुराहरुको साक्षी बनेर बयान दिइरहेको छ हरेक दिन काठको बाकसमा फर्किने नेपालीजनको मृत शरीरले । विदेशी भूमीमा अफ्ठेरोमा परेका नेपालीहरुको कथा र विदेश जाने क्रममा ठगिएका लाखौं नेपाली युवाहरुको कथाले पनि अर्को गवाहि दिइरहेकै छ । नेपालमा पनि संयूक्त राष्ट्रसंघ लगायत अन्य विभिन्न आप्रवासनकालागि काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरु सक्रिय रहेका छन् जस्तैः आई एल ओ, श्रम मन्त्रालय तथा अनगीनत स्वदेशी तथा विदेशी गैर सरकारी संस्थाहरुले आजको दिनमा विभिन्न प्ले कार्डहरु, ब्यानरहरु लगायत नारा, जुलुस, धर्ना र कोणसभाहरुको अायोजना गर्ने गर्दछन् । आजभन्दा एक हप्ता अगाडिदेखिनै श्रम मन्त्रालयको सक्रियतामा सम्पूर्ण संघ-संस्थाहरुले आप्रवासन सप्ताह गर्दै यसबारे सचेतना, जागरणसहितका विभिन्न कार्यक्रमहरु गर्ने गर्दछन् । 

नेपाली आप्रवासीहरुको कुरा गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक खुल्ला नेपाल भारत सीमा मार्फत् अवसरको खोजीमा बाहिरिने आप्रवासीहरु तथा उनीहरूका मुद्दाहरु पनि सम्बोधन हुन जरुरी छ है ! के नेपाली कामदारहरुले विदेशमा समान अवसर र पाउनुपर्ने अधिकारहरु पाएका छन् त ? सरकार तथा सरोकारवालाको भूमिका कस्तो छ त ? यो विषयमा पनि पैरवी गर्न जरुरी छ ।

विदेशी भूमीमा पसिना चुहाईरहेका नेपालीजनहरु लगायत पासपोर्ट अनि भिसाको लाईनमा उभिएका आँखाहरु सबैतर्फ आजको यो दिन विशेषले असर गर्न सकोस । सुरक्षित आप्रवासन आजको आवश्यक्ता हो, हैन र ?

स्वदेशी माटो अनि आवुहवाबाटै सपना पुरा गर्नसक्ने सार्मथ्य अनि पौरखको विकास गर्न पनि जरुरी छ, छोराछोरीलाई पराईकोमा पठाएर ल्यार्इ कमाएको धनले घर त चल्छ तर मन जल्छ, जलिरहेको छ । विदेश भन्दा स्वदेश श्रृङ्गार्ने वातावरण बनाउन सकियोस् । 

विदेशमा गएको बुवाको आशमा बसेका छोराछोरीको आलिङ्गन, आमाका अवरुद्ध गलाहरु, छाडेर गएका घरका दलिनहरु, आँगनका तगाराहरु अनि गाँउका चियापसलहरु हाम्रा वैदेशिक दाजूभाई तथा दिदीवहिनीहरुको सफल पूर्नआगमनमा छन्, सबैको सपना पुरा होस् । शुभकामना !

----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.