मिथिला परिक्रमा , जिवीत त्रेतायूग | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मिथिला परिक्रमा , जिवीत त्रेतायूग




आज मिथिला परिक्रमाको चर्चा उक्काउन चाह्यौं, त्रेतायूगबाट आजसम्म पनि उत्तिकै महत्व र लगनका साथ पुस्तौंपुस्ता चलिआएको छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसंग सम्बन्ध राख्ने स्थान र अवयवहरु छुने गर्दछ ।



मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नपर्दछ कि सनातन संस्कारको महान अनि पावन उदाहरणीय घटनाहरु मध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाँउ, चोक अनि चौतारीहरुमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसाथ गरिन्छ । जनक राजाको सिंगो राज्य अनि राजधानी मिथिलाको जनकपुर नेपालमै शोभायमान छ, जानकी मन्दिर नेपाली माटोबाट हरेक दिन मुस्कूराउँछ । भजन, कीर्तन अनि पावन कार्यहरुले आज पनि नेपाली भूमि हरेक पल पुलकित छ ।

आज मिथिला परिक्रमाको चर्चा उक्काउन चाह्यौं, त्रेतायूगबाट आजसम्म पनि उत्तिकै महत्व र लगनका साथ पुस्तौंपुस्ता चलिआएको छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसंग सम्बन्ध राख्ने स्थान र अवयवहरु छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा ३ वटा परिक्रमाहरु हुने गर्दछन् र यी परिक्रमाहरु कार्तिक, फाल्गुन र बैशाखका महिनामा हुने गर्दछन् । यी ३ परिक्रमा मध्ये फाल्गुनमा हुने परिक्रमाको महत्व असाध्यै छ ।
यी परिक्रमा मध्ये बृहत परिक्रमा चाँही वास्तवमै बृहत छ, यस परिक्रमाले समग्र मिथिला प्रदेशको परिक्रमा गर्दछ र लगभग २६८ किमी लामो हुन्छ । कौशी नदिको किनारबाट यस परिक्रमा सुरु हुन्छ, त्यसपछि सिंहेश्वरस्थानमा पुग्दछ जुन भारतको सहर्सा जिल्लामा पर्दछ । त्यसपश्चात सिमरिया घाट हुँदै पर्वतश्रेणी अनि पुन आएर सिंहेश्वरस्थानमा यस परिक्रमा विसर्जन गरिन्छ । बृहत परिक्रमामा भाग लिन नसकेकाहरुका लागि मिथिला महात्मा परिक्रमा हुने गर्दछ । यसलाई मध्यम परिक्रमा पनि भनिन्छ । यस परिक्रमा लगभग ४० कोश अर्थात् १२८ किमी जति हुन्छ । सक्नेहरुले ५ दिनसम्म पनि यस परिक्रमा सकाएका कथाहरु छन् तथापि सबैको ल्याकत र शक्तिलाई ध्यानमा राखेर अहिले १५ दिनको परिक्रमा बनाइएको पाइन्छ । फाल्गुन औंशीमा सुरु हुने यस परिक्रमा पूर्णिमाको दिन समापन हुन्छ । जनकपुर नगरी आसपासका ठाउँहरुमा यस परिक्रमा गरिन्छ र यस परिक्रमालाई अन्तगृह परिक्रमा पनि भनिन्छ । १५ दिनको परिक्रमामा भक्तजनको वासका लागि १५ वटा पावन ठाँउहरु निर्धारण गरिएको हुन्छ र यिनै ठाँउमा तोकिएका दिन भक्तालुहरु वास बस्न पुग्दछन् । 


यी १५ ठाँउहरुको सूची यसअनुरुप रहेको छ ।
हनुमाननगर, कल्याणेश्वर (भारत), गिरीजास्थान (भारत), माइथानी, जलेश्वर, मनाई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुखा, सतोखरी, हरुसाह, करुना, बिसाउल र जनकपुर ।
 

यी सबै ठाउँहरुमा विशेष देवताका थानहरु छन् । परिक्रमाका भक्तजनहरुलाई गाउँवासीहरु अत्यन्त उत्साह, श्रद्धा अनि आतिथ्यका साथ राख्दछन् । धनी गाँउलेहरुले भक्तजनका लागि भण्डाराको व्यवस्था पनि गर्दछन भने गाँउलेहरु विभिन्न मिठाई, खाना अनि आतिथ्यले भक्तजनको सहृदय स्वागत गर्ने चलन वर्षौदेखि छ । परिक्रमाको अन्तको दिन जनकपुरमा लगभग ८ किमी शहर वरिपरि परिक्रमा गरिन्छ, एउटा रौनकमय मेला नै लाग्दछ ।
अर्को लघु परिक्रमा बिहार भगवन नामक आयोजक समितिले गर्दछ, जसको नेतृत्व जानकी मन्दिरका महन्थ लगायतका समुहले गर्दछन् । यस परिक्रमा छोटो भएपनि कीर्तन, भजन लगायतका विभिन्न रामनामी क्रियाकलापहरुका साथ बाजागाजा सहित गरिन्छ । भगवानको रथ पनि पहिले पहिले महन्थहरुले बोक्ने र परिक्रमालाई अघि लाउने चलन थियो । राम मन्दिर र जानकी मन्दिरका महन्थहरुको यस परिक्रमामा विशेष सहभागिता रहन्छ ।
माथिका कुनै पनि परिक्रमामा धार्मिक, जातिगत या अन्य कुनै पनि भेदभाव रहँदैन, परिक्रमा गर्ने भक्तालुहरु समान अनि विशिष्ट मानिन्छ । महिलाहरुलाई यी परिक्रममा भाग लिन विशेष उत्साह दिने र प्रेरणा दिने चलन छ । यी मध्ये कुनै पनि परिक्रमा जीवनमा एकफेर निष्ठापूर्वक गरिएमा परमात्मा प्राप्त हुने र मोक्ष मिल्ने विश्वास छ । परिक्रमाबाट प्राप्त हुने पुण्य अरुलाई दिन मिल्ने मानिन्छ, यदि कसैलाई परिक्रमाको उत्कट चाहना भएपनि स्वास्थ्य या अन्य कुनै दुर्बलताले गर्न नसकेमा उक्त व्यक्तिको साटो कसैले निष्ठापूर्वक परिक्रमा गरेमा फल उक्त व्यक्तिलाई जान मिल्ने बताइन्छ । मिथिला प्रदेश सभ्यता, संस्कार अनि पवित्रताको उदगमस्थल हो, के वृद्ध अनि के बालक सबैजना परिक्रममा समावेश हुने गर्दछन् । जलाशयहरुको भूमिमा पवित्र जल अनि पावन माटोको स्पर्शले भक्तालुहरुको रोम रोम पुलकित हुन्छ । यसपालाको अन्तगृह परिक्रमा फागु पूर्णिमाका दिन विधिवत अन्त्य भएको छ ।
मिथिलाले शदियौंबाट यो संस्कार बोकेको छ । रामजानकी विवाहोत्सवमा त विधिवत रुपमा अयोध्याबाट जन्त नै आउने चलन छ, त्रेतायुगको रामायण विश्वमा यदि कहिँ अझै जिउँदै छ भने त्यो जनकपुरमा छ, मिथिला प्रदेशमा छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.