पापमोचिनी एकादशी | विश्व मुर्ख दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

पापमोचिनी एकादशी | विश्व मुर्ख दिवस





पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग-अलग हुने हुँदा पापमोचिनी एकादशीको पनि निकै महत्व रहेको छ । पाप मोचिनी एकादशी प्रत्येक सम्वत् अथवा सालको अन्तिम एकादशी हो । यो एकादशीलाई होलिका दहनका दिन र बाँकी नवरात्रीको मध्यमा पर्ने भएकोले पनि पापमोचिनी एकादशी भनिएको हो ।

पुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार पाप मोचिनीको अर्थ पापबाट मोचन षनष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दू धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिंदैनन् कि उनीहरुले कुनै न कुनै पाप जानजान वा अन्जानमा गरेका नहुन् । तसर्थ सवैका लागि यस पाप मोचिनी एकादशी ब्रतको महत्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ । ईश्वरीय विधान अनुसार पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउनका लागि पाप मोचिनी एकादशीको ठुलो महत्व रहेको हुन्छ । यस बारेमा महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पाप मोचिनी एकादशी ब्रतको प्रसंग उल्लेख गरिएको छ । कथा प्रसंग अनुसार राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरुबाट कसरी मुक्त हुन सकिएला भनि राखेको प्रश्नमा जवाफ दिंदै पाप मोचिनी एकादशी ब्रतको महत्वबारे उल्लेख गर्नुभएको छ । 

कथा अनुसार चैत्ररथ वनमा च्यवन नाम गरेका ऋषिमूनि पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यहि बेला ती अप्सरा र मेधावी ऋषि माथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलनका लागि सहयोग गर्न थाले । कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसंग झनझन नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै बिमुख भए । आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए- 'तिमी पिशाचिनी बन' । अप्सरा मेधावीका शरणमा परिन् र गल्तीको प्राश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय बिनय गरिन् । फलस्वरुप मेधावी ऋषि आफैंले मञ्जुघोषालाई सम्झाई-बुझाई गरी चैत्र कृष्ण एकादशीको ब्रत अर्थात पाप मोचिनी एकादशीको ब्रतको विधि सविस्तार बताईदिए । कामयोग निमग्न भएर तेज लोप भईसकेका ऋषि आफैं पनि पाप मोचिनी एकादशीको ब्रत बसे । ब्रतको प्रभावले अप्सरा पिशाच योनिबाट मुक्त भइन् र उनी अझ सुन्दर भई स्वर्ग तर्फ लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसंग अनुसार पाप मोचिनी एकादशी ब्रतको महत्व अहिले पनि उतिकै रहेको छ ।

पाप मोचिनी एकादशीको ब्रतका क्रममा भगवान् विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ । अघिल्लो दिन सात्विक भोजन एकपटक गर्नुपर्दछ । मनमा रहेको भोगविलासको भावना त्याग गर्दै भगवान बिष्णुको नाउँ लिनु पर्दछ । एकादशीका दिन सूर्योदय कालमै स्नान गरी विधिपुर्वक ब्रत संकल्प गर्नु पर्दछ । यसरी ब्रत संकल्प गरेर षोडशोपचार विधिले श्री विष्णुको पूजा गर्नु पर्दछ । एकादशी ब्रत समाप्ति पश्चात निराहार रहि रात्री जागरण गर्नु पर्दछ । यसो गर्नाले अझ धेरै गुणा पुण्य फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन समेत स्नान गरी विष्णु भगवानको पूजा गर्नु पर्दछ । त्यसपछि ब्राह्मण भोजन गराएर दक्षिणा सहित विदा गर्नु पर्दछ र आफुले पनि भोजन गर्नु पर्दछ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको

विश्व मुर्ख दिवस


 



आज मिती विसं २०९८ साल मंसिर १ गते, पूर्व मेची वाट पश्चिम महाकाली चल्ने द्रुत रेलमार्गवाट भर्खरै ईलामवाट रेल चढेर म काठमाडौ अफिस भ्याउन ९ बजे विहानै आईपुगेको छु । नेपालले विश्वकप फुटबल जितेको समाचार त तपाँईले थाहा पाईहाल्नुभयो होला, अनि आज भर्खर विदेशमा रहेका नेपाली दुतावास अगाडी विदेशी हरुको प्रदर्शन रहेको जानकारी प्राप्त भएको छ । नेपाली भिसा लिन अत्यन्त गाह्रो भएको उनिहरुको गुनासो छ ।

हाहा पत्याउनुभयो । नेपालको सर्वाधीक डाउनलोड भएको मोबाईल एप्स हाम्रो पात्रो आज अप्रिल फूल अर्थात विश्व मुर्ख दिवसको शुभकामना दिन चाहन्छ, हाम्रा सबैजना प्रयोगकर्ताहरुलाई । अप्रिल फूल अर्थात अप्रिल महिनाको प्रथम तारीख, आज विहानै देखि विभिन्न बहानामा झुक्याउने, ठट्टा गर्ने अनि रमाईलो गर्ने चलन छ है । सावधान रहनुहोला, विहानै गोठमा भएको गाई फुकेर पारी गाँउमा अर्काको कान्लामा चर्दै छ भनेर सुनाएको भरमा हाम्रा गाँउका माईला बाजे आफ्नो गोठ नहेरि सखारै दोडिएछन् । बुढो ज्यान, थाकेको शरीर तर पनि दुहुनो गाई हराउला भन्ने तर्कना, त्यस वर्ष बाजेलाई अप्रिल फूलले विहान विहानै छोएको थियो ।

रमाईलो आफ्नो ठाँउमा छ तर यसका नराम्रा पक्षहरु पनि आफ्नै ठाँउमा छ । अप्रिल फूललाई बेमौसम मजाकको गैरजिम्मेवार भाँडो मान्ने केही अबुझहरुका कारणले अप्रिल फूलको नमिठो याद पनि भएको हुनसक्छ । ज्यूँदै मान्छेलाई मर्यो भन्ने अफवाह फैलाईदिने, नभएको विपत्ति आईलाग्यो भनेर हल्ला मचाईदिने अनि अन्य कुराहरुमा हाहाकार मचाईदिने भने यस दिनका नराम्रा पाटाहरु हुन् । हाम्रो पात्रो प्रयोगकर्ता तपाई भने सचेत रहनुहोला ।

यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिईएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात मुर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेण्डरमा होली, ज्वीस अर्थात यहुदीहरुको क्यालेण्डरमा पुरीम र रोमनहरुको क्यालेण्डरमा अतिस पर्व पर्दछन् । मार्चको मध्यवाट र अप्रिलको प्रथम साता विचमा यी पर्वहरु पर्ने गर्दछन् । बसन्त क्रृतुको आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामीमध्य धेरैको संझना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?

ईतिहास र चलनहरु नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडी विश्वब्यापी रुप लियो जब अँग्रेजी हास्य लेखक अनि कलाकारहरुले यसलाई अभिब्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिश, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वुद्धि सँगै मान्यता पाँउदै गयो ।

सन् १९५७ मा त बिबिसी ले नै स्वीस किसानहरुले रुखवाटै चाउचाउ टिपेको भिडियो देखाईदिएर आजको दिन संसारलाईनै नयाँ वाली आयो भनि झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरुले पनि आजो दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।

विधालयमा छँदा साथीहरुको पछाडी कागजको पुच्छर जोडिदिने, ट्वाईलेटमा थुनिदिने, ब्याग र कापीहरु लुकाईदिने, पेन भित्रको रिफिल लुकाईदिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्दा धेरै क्रियाकलापहरु गरेका यादहरु पनि छन नि , कि कसो ?

मुर्ख र सज्जन एक्आपसमा वाँझिएका शब्दहरु हुन् । आज मुर्ख दिवस हो , विश्व मुर्ख दिवस् । आत्मसाथ गरौ, कालिदासको ज्ञान अनि काब्यलाई तर स्मरण गरौ उनि पहिले कति मुर्ख थिए भन्ने कुरा । बाल्मीकीलाई संभmना गरौ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौ न ।

बच्चामा गरेका मुर्ख कामहरु लाई, मुर्खपना नराम्रो हैन तर यसवाट सिक्न अनि अगाडी वढ्न जरुरी छ । आज बोलेका झुठ या मुर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मुर्ख वनाउनुहोस तर हसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउसफूल होस् ।

हाम्रो पात्रोको लागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.